arrow

नोबेलमा नर्सिङ संघको भवन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३० शनिबार
Photo-4.jpg

विराटनगर । नेपाल नर्सिङ संघ मोरङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका–४ कञ्चनवारीस्थित नोबेल मेडिकल कलेज परिसरमा निर्माण गरिएको भवन अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारेर उद्घाटन गरिएको हो ।
    
जग्गादाता होमादेवी न्यौपानेले शिलालेखको पर्दा उघारेर भवन उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै जग्गादाता न्यौपानेले नर्शहरुलाई बिरामीको राम्रो सेवा गर्न सुझाव दिदै नर्सिङ संघलाई आफ्नो भूमिका अब्बल बनाउन शुभकामना दिइन् । 

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनील शर्माकी आमासमेत रहेकी न्यौपानेले नर्सिङ संघको कार्यालयलाई व्यवस्थित गर्न थप ५० हजार प्रदान गर्ने घोषणा पनि गरिन् । कार्यक्रममा विराटनगर महानगरपालिका–४ का वडाध्यक्ष जितन थापाले नर्सिङ संघलाई आगामी दिनमा वडाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक तथा जग्गादाता ईन्दिरा शर्माले भवन निर्माणपछि नर्सिङ संघको संस्थागत गतिविधि सञ्चालन गर्न सहजता मिल्ने विश्वास व्यक्त गरिन् । 

उनले भवन निर्माणका लागि यसअघि १ लाख ५० हजार सहयोग पनि गरेकी थिइन् । जग्गादाता होमादेवी र इन्दिरा सासु–बुहारी हुन् । 

उनीहरुको परिवारले चार बर्षअघि नर्सिङ संघलाई नोबेल अस्पताल परिसरमा १० धुर जग्गा प्रदान गरेको थियो । सोही जग्गामा करिब ४० लाखको लागतमा नर्सिङ संघको भवन निर्माण गरिएको संघका सचिव मेनुका भण्डारीले जानकारी दिइन् । 

उनका अनुसार भवन निर्माणका लागि नर्सिङ संघ केन्द्रिय कमिटीले २५ लाख उपलब्ध गराएको थियो, बाँकी रकम जुटाएर भवन बनाइएको हो ।
    
यसैबीच, कार्यक्रममा जग्गादाता होमादेवी र नर्सिङ संघका केन्द्रिय सदस्य अञ्जुला कार्कीलाई सम्मान गरिएको छ । 

जग्गा प्रदान गरेर सहयोग गरेको भन्दै न्यौपाने र भवन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्कीलाई सम्मान गरिएको हो । 

उनीहरुलाई नर्सिङ संघका अध्यक्ष कविता अधिकारी र सचिव भण्डारीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मानित गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ