arrow

भुम्लुवासीका समस्या बारे प्रचण्डलाई ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
prachanda-puspa-kamal-dahal-maoist.jpg

काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई  वडाका करिब एक हजार दुई सय स्थानीय ४८ वर्षदेखि लालपुर्जाविहीन समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ । 

उनलाई बागमती प्रदेशसभा सदस्य रुकु चौलागाई, भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक भोला अर्याललगायतको एक टोलीले भेट गरी उक्त समस्याको समाधानार्थ ध्यानाकर्षण गराएको हो ।

जिल्ला मालपोत कार्यालयले गत चैत १ गतेदेखि सुरु गरेको भुम्लु गाउँपालिकाको वडा नं ७ र ८ को जग्गाको ‘लिखत उतार्ने’ काम दुई हप्तापछि रोकिए र निरन्तरता नभएको विषयसमेत प्रम दाहाललाई उक्त टोलीले ध्यानाकर्षण गराएको हो । 

प्रम दाहालले गाउँपालिकाको लालपुर्जाविहीन समस्याबारे विशेष चासो राखेको अध्यक्ष भुजेलले बताए । “जेठ सुरु भएलगत्तै रोकिएको काम सुरु गर्न निर्देशन दिनुभएको छ, आज वा भोलिदेखि काम सुरु हुन्छ”, उनले भने । 

यस्तै प्रम दाहालले सम्बन्धित मन्त्रालयलाई थप अध्ययन तथा स्थलगत अनुगमन, निरीक्षण गरी समाधानका उपायको खोजी गराउन प्रक्रिया बढाउनुभएको छ । “हामीले लालपुर्जाको समस्याबारे विस्तृतरुपमा जानकारी गराएका छौँ, उनले हाम्रो ध्यानाकर्षणलाई गम्भीरतापूर्वक लिई सम्बन्धित मन्त्रालयलाई स्थलगत नै अनुगमन, निरीक्षण गरी समस्याको समाधानतर्फ लाग्न निर्देशन दिन भन्नुभएको छ”, अध्यक्ष भुजेलले भने । 

जिल्ला नापी कार्यालयले भुम्लु गाउँपालिकाको दुवै वडाको जग्गाको लिखत माग गरेपछि मालपोतले थालेको उक्त काम प्रमुख मालपोत अधिकृतको सरुवा हुने हल्लाले रोकिएको बताइन्छ । 

गत फागुन अन्तिमसाता चैत १ गतेदेखि दुई वडामा जग्गाधनीबारे लिखत छानबिन अघि बढाउन गाउँपालिका, जिल्लास्थित नापी कार्यालय र मालपोत कार्यालयबीच सहमति भएको थियो । यसका लागि तीनै पक्षबीचको सहमतिअनुसार कार्यालयबाहेक र बिदाको दिनमासमेत कर्मचारी खटाई लिखत उतार्ने काम भइरहेको थियो । 

मालपोत कार्यालयका दुई हप्ताको समयमा विसं २०३६ देखि ०६९ सम्मको लिखत खोज्दा करिब आठ सय लिखत फेला परेको छ । विसं २०३२ मा जग्गा नापी गर्दाका बखत साविकको पिपलटार गाविस र भुम्लुटार गाविसबीच टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद हँुदा तत्कालीन नापी टोली फर्किएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ