arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुर–बादल कनेक्सन खोज्दै प्रहरी

अहिलेसम्म मौन रहेका बादलको भविश्य टोपबहादुरको हातमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
badal-topbahadur.jpg

काठमाडौं । प्रहरीले पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ गरेपछि पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलसँगको कनेक्सन खोज्न थालेको छ । 

यसअघि आर्थिक र नीतिगत रुपमा कुनै पनि कनेक्सन नभेटिएकाले उनको विषयमा मौन बसेको प्रहरीले आइतबार साँझबाटै बादलसँगको कनेक्सन खोज्न थालेको हो । 

बादलका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी यतिबेला फरार रहेका छन् । रायमाझीको पक्राउले प्रहरीलाई उनीहरुबीचको सम्बन्ध सम्पर्क खोज्न सहज भएको हो । पुरानो पार्टी माओवादी केन्द्रमा पनि सँगै रहेका र बादल गृहमन्त्री भएपछि पनि टोपबहादुर रायमाझीको हिमचिम बढी नै रहेका कारण उनीहरुबीच कुनै आर्थिक लेनदेन भएको छ वा नीतिगत तहमा पनि बादलको संलग्नता रहेको छ कि भनेर प्रहरीले अनुसन्धान शुरु गरेको छ । 

‘अहिलेसम्म बादललाई भेटेर यस्तो गरेका थियौँ भन्ने बयान छैन, छोरालाई, सल्लाहकारलाई भेट्यौँ उनीहरुले सबै मिलाउँछौँ भनेका थिए, मिलाउन सकेनन् भन्ने मात्रै छ, रायमाझीको बयानबाट केही आधार पाइन सक्छ’, अनुसन्धानमा संलग्न रहेका एक प्रहरीले भने । 

अनुसन्धानमा रहेका प्रहरी अधिकारीहरुले नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमै रायमाझीको संलग्नता रहेको र नीतिगत तहमै रायमाझी संलग्न रहेको बताउँदै आएका छन् । 

गिरोहको राय सल्लाहमा छुटेका भुटानी शरणार्थीहरुको विवरण संकलन गर्न र त्यसका लागि कार्यदल गठन गर्न सहयोग गरेको रायमाझीलाई आरोप छ । पूर्व गृहमन्त्री बादलले छोरालाई पक्राउ पुर्जी जारी गर्दा पनि केही बताएका छैनन् । उनी यो विषयमा शुरुआतदेखि नै मौन रहेका छन् । 

बादलको सचिवालयमा रहेका इन्द्रजित राई पक्राउ परिसकेका छन् भने छोरा प्रतिकविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको छ । उनी फरार रहेका छन् । ‘छोरा फरार हुँदा पनि बादलले कुनै धारणा सार्वजनिक गरेका छैनन्’, उनी निकट रहेका एक नेताले भने ‘बादललाई यस्तो रुची छैन बरु छोरा श्रीमतीबारे भन्न सकिन्न ।’

रायमाझीले कार्यदल गठन गराएवापत करोडौँ रुपैयाँ लिएको र त्यसको भिडियोसमेत रहेको प्रहरीले दाबी गरेको छ । प्रहरी स्रोतका अनुसार गिरोहका सदस्य सानु भण्डारीले सो भिडियो प्रहरीलाई उपलब्ध गराएको बताइए पनि बाहिर सार्वजनिक गरिएको छैन । 

प्रतिनिधि सभा सदस्यसमेत रहेका उनलाई प्रहरीले आइतबार साँझ काठमाडौँको बूढानीलकण्ठबाट विशेष व्यूरोले पक्राउ गरेको हो । बूढानीलकण्ठको पासीकोटस्थित अर्घाखाँचीका कार्यकर्ता नारायण पौडेलको घरमा बसेको बेला उनलाई प्रहरीले पक्राउ गरेको हो । 

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले उनीविरुद्ध बैशाख २० मा पक्राउ पुर्जी (वारेन्ट) जारी गरेको थियो । 

त्यससता फरार रहँदै आएका उनलाई आइतबार भने प्रहरीले पक्राउ गर्न सफल भएको थियो । शनिबार राति काठमाडौँ आएका उनलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको थियो । 

प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरिसकेको छ । आजैबाट बालकृष्ण खाँडको बयान शुरु हुने प्रहरीले जनाएको छ । यसअघि पूर्व सचिव टेकनारायण पाण्डे, बालकृष्ण खाँडका स्वकीय सचिव नरेन्द्र केसी, इन्द्रजित राई लगायतको बयान सकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ