arrow

जनतालाई मूर्ख भन्दै स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च खुल्दै गएको छ – पूर्वराजा शाह

logo
सुनील आउजी,
प्रकाशित २०८० जेठ ८ सोमबार
x-king-gyanendra-shah-2080.jpg

धनगढी । पूर्वराजा ज्ञानेन्द्र शाहले धनगढीमा नागरिक अभिनन्दनका क्रममा सोझासाझा जनतालाई मूर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च खुल्दै गएको बताएका छन् । उनले नेपाल बनाउन नेपाली जनतालाई नै जिम्मा दिन पनि अपील गरेका गरे ।

उनले सोमबार धनगढीमा नागरिक अभिनन्दनका क्रममा भने ‘नेपाली जनतालाई आफ्नो भूभाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन्  त्यसबाट हाम्रो इज्जत, गौरब सबै लोप भएर गएको छ । देशभित्रै बसौं, देशमै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ ।’

उनले ‘नयाँ नेपाल’प्रति व्यंग्य गर्दै प्रश्न गरेका छन्, ‘ के नयाँ नेपाल भनेको यही हो के ? अग्रगामी भनेको पराबलम्बी नेपाल हो  के ? नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?’

उनले नेपालको दारुण दृश्य देख्दा सबैको आँखा रसाउँदै गएको उल्लेख गर्दै आजको युग विकास र प्रविधिको भएको तथा आफ्नै श्रोत साधन र आफ्नै सामर्थ्य र आफ्नै स्वतन्त्र सत्ताद्वारा नेपालीले आफ्नो युगानुकूल उन्नति चाहेको बताएका छन् ।

उनले भनेका छन् ‘सोच्ने बेला आयो अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने ? कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अँगाल्ने ? सोचौं गहिरिएर सोचौं ,अझ दिलैदेखि सोचौं, नेपाली भएर सोचौं, नेपाल आमाको हावापानी माटो र मुटुलाई छोएर सोचौं , देशभन्दा ठूलो अरु केही हुँदैन ।’

उनले नेताहरुप्रति इंगित गर्दै भने ‘आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर, अरुलाई अल्मल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य बन्दैन’, उनले सम्बोधनका क्रममा भने  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ