arrow

दमौली अस्पतालको क्षमता स्तरोन्नति गर्छौं : मुख्यमन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
Surendra Panday.jpg

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दमौली अस्पतालको क्षमता स्तरोन्नति गरिने बताएका छन् । दमौली अस्पताल व्यवस्थापन समितिका पदाधिकारीसँगको आज भएको छलफलमा मुख्यमन्त्री पाण्डेले अस्पतालको क्षमता स्तरोन्नतिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । 

मुख्यमन्त्री पाण्डेले सदरमुकाममा अवस्थित अस्पतालको सेवा विस्तार अतिआवश्यक रहेकाले यसलाई एक सय शय्यामा विस्तार गरिने बताए । दमौली अस्पतालले जिल्लाका मात्र नभई छिमेकी जिल्लाका सर्वसाधारणलाई पनि सेवा दिइरहेकाले यसको स्तरोन्नति अति आवश्यक भइसकेको बताए । 

अस्पतालमा बढ्दो चापसँगै उक्त अस्पताललाई विस्तार गर्नुपर्ने अवस्था रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताए । अध्यक्ष थापाले गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री पाण्डेले अस्पतालको वर्तमान अवस्थाबारे गराएका थिए । विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई सेवा दिइरहेको उनको भनाइ छ । 

तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्यासँगै अस्पतालले उक्त शय्यामा सेवा दिने अवस्था छैन । अस्पतालको स्तरोन्नतिका लागि पटक-पटक प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकिरहेको छैन । हरेक पटक सरकार परिवर्तन हुँदा अस्पताल व्यवस्थापन समितिले अस्पतालको क्षमता स्तरोन्नतिका लागि पहल गर्दै आइरहेको छ । 

“अस्पतालको विस्तार गर्नुपर्ने अति आवश्यक भइसकेको छ, बिरामीको चाप बढ्दो छ, अहिल्यैकै अवस्थामा सेवा प्रवाह गर्न कठिनाइ भइरहेको छ”, थापाले भने, “मुख्यमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराएका छाँै ।”

अस्पताल विस्तारका लागि सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गर्ने निर्णय गरिसकेको छ । कृषि ज्ञान केन्द्रको दुई रोपनी र पशु सेवा विज्ञ केन्द्रको डेढ रोपनी जग्गा अस्पतालका लागि भोगचलन गर्न प्राप्त भएको छ । तर त्यसका लागि सम्झौता गर्न बाँकी छ । 

उक्त जग्गाको सम्झौताका लागि पहल गरिदिन प्रदेश सरकारकै कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई भेटेर अनुरोध गरिएको छ । अस्पताल व्यवस्थापन समितिको टोलीले अस्पतालको नयाँ भवनको डिपीआरका लागि भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जालीसमक्ष माग गरेको छ । 

यस्तै, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडालाई भेटेर अस्पतालमा हेमोडायलासिस सेवा र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न माग गरिएको छ । 

विसं २०३४ मा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो । 

अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायत सेवा विस्तार भइसकेको छ । 

साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ