arrow

बनेपा बसपार्क पैँतीस वर्षपछि सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
Banapa.jpg

काभ्रे । निर्माणको ३५ वर्षपछि काभ्रेपलाञ्चोकको बनेपा बसपार्क आजदेखि सञ्चालनमा ल्याइएको छ । चालिसको दशक सुरुआतमै अरनिको राजमार्गमा सवारीको सङ्ख्या बढ्न थालेपछि बनेपा नगरपालिका-८ स्थित नगर कार्यालयसँगै बसपार्क निर्माण गरिएको थियो । 

विसं २०१७ मा अरनिको राजमार्ग निर्माण भएपछि मध्यपहाडी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको बनेपा नगरका अधिकांश स्थानीयले यातायातलाई मूल व्यवसाय बनाएपछि विसं २०४५ मा बसपार्क निर्माण गरिएको थियो । 

बनेपा नगर क्षेत्रभित्रका यातायात व्यवस्थापन तथा बसपार्क सञ्चालन बारे यातायात व्यवसायी तथा यातायात मजदुर सङ्गठनका प्रतिनिधिसहितको गत हप्ताको बैठकले छलफलसहितको आवश्यक प्रक्रिया अघि बढाएको नगरप्रमुख शान्तिरत्न शाक्यले बताए । उनका अनुसार हाल राजमार्गमा सवारी चाप बढ्न थालेपछि आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो । 

यसअघि बनेपा चारदोबाटोस्थित सडक छेउमा यात्रुवाहक सवारी रोक्ने तथा पार्किङ गर्ने गरिएको थियो । शाक्यले भने, “लामो समय सञ्चालनमा नआएको बसपार्क ट्राफिक प्रहरीसँगको समन्वयमा आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याएका छौँ ।” उक्त बसपार्क २०४९ सालमा पक्की बनाएसँगै नगरले बसपार्कको दायाबाँया सटर-कवल बनाई होटललगायत व्यवसायका लागि भाडामा दिँदै आएको छ । 

यातायात व्यवसायी तथा यातायात मजदुर सङ्गठनका प्रतिनिधि तथा बनेपा नगरका जनप्रतिनिधिको उपस्थितिमा आजदेखि बसपार्क सञ्चालनमा ल्याइएको हो । मध्यपहाडी जिल्लाको मुख्य व्यापारिक केन्द्रका रूपमा अवस्थित बनेपालाई यातायात नगरीको नामले समेत चिनिने गरिन्छ ।     

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अरनिको राजमार्ग भएर सञ्चालन हुने सबै यात्रुवाहक बस बनेपा बसपार्क प्रवेश गरेर यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाएको छ । 

यस्तै नगरको बसपार्क सञ्चालनार्थ कार्ययोजनाअनुसार सवारी चाप व्यवस्थापन गर्न अरनिको राजमार्ग बनेपा सडकखण्डअन्तर्गत हाललाई बसपार्क प्रवेश गर्ने पश्चिमतर्फको प्रवेश मार्गदेखि तीनदोबाटोसम्म र चाँदनी चोकदेखि चारदोबाटोसम्मको दक्षिणतर्फको सर्भिस ट्र्याक खाली गराई सोही ट्र्याकबाट बस सञ्चालनमा ल्याइएको छ । 

यसैगरी बनेपाबाट विभिन्न स्थानका लागि छुट्ने यात्रुवाहक सवारी बसपार्कबाट मात्रै छुट्ने तथा नीजि सवारीका साधन र डिटेनमा रहने बस बसपार्कमा राख्न नपाउने नियम बनाइएको छ । 

यसअघि बसपार्कको दक्षिणी क्षेत्रमा बनेपाबाट जिल्लाभित्रका छोटो दूरी, पूर्व-पश्चिम लामो दूरीका लागि छुट्ने यात्रुवाहक बस तथा टिपर पार्किङ गर्दै आइएको थियो । बसपार्कमा पार्किङ क्षेत्र तथा यात्रु ओराल्ने र चढाउने दुईतर्फी लेन रहेको छ ।-रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ