arrow

ट्रमा अस्पताल बनाउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
Anbukhaireni.jpg

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन गण्डकी प्रदेश सरकारसमक्ष माग गरेको छ ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडासँगको भेटमा आँबुखैरेनी-१ सत्रसयमा ट्रमा अस्पताल बनाउन माग गरिएको हो ।

पृथ्वीराजमार्ग अन्तर्गत यस खण्डमा दुर्घटना भइरहने भएकाले ट्रमा अस्पतालको आवश्यकता खड्किएको चुमानले बताए ।

अस्पताल निर्माणका लागि पालिकाले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।

गाउँपालिकाले मार्कीचोकमा स्वास्थ्यपरीक्षण र होल्डिङ सेन्टर र आँबुखैरेनी अस्पतालका लागि डायलासिस सेवा सञ्चालनका लागि उपकरण माग गरेको छ ।

गाउँपालिकाले वडा नं ३ मा पालिकास्तरीय अस्पताल सञ्चालन गरेको छ । उक्त अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन भइसकेको छ भने मिर्गौला पीडितका लागि डायलासिस सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको चुमानले बताए ।

मन्त्री सिङ्खडासमक्ष चिकित्सकको व्यवस्थाका लागि ध्यानाकर्षण गराइएको छ ।

यस्तै गाउँपालिकाभित्रका विद्यालयमा विज्ञान प्रयोगशाला, विद्यालय बस, स्वास्थ्य संस्थादेखि सङ्घसंस्था र अस्पतालका लागि औषधि र ल्याब सामग्री व्यवस्थापन गरिदिन माग गरिएको छ । एक विद्यालय एक नर्स कार्यक्रम थप विद्यालयमा लागू गर्न पनि मन्त्रीको ध्यानाकर्षण गराइएको चुमानले बताए ।

मन्त्रालयकै कार्यक्रम अनुसार गाउँपालिका-३ रामशाह माविमा यो कार्यक्रम सुरु भइसकेको छ । यो कार्यक्रम अन्य विद्यालयमा पनि आवश्यक रहेकाले कार्यक्रम विस्तारका लागि मन्त्रीको ध्यानाकर्षण गराइएको चुमानले बताए ।

यसैगरी आँबुखैरेनी अस्पतालको स्तरोन्नतिका लागि पनि ध्यानाकर्षण गराइएको छ । गाउँपालिकाले हाल पन्ध्र शय्यामा अस्पताल सञ्चालन गरिरहेको छ ।

मन्त्री सिङ्खडाले उक्त मागहरुमा आफू सकारात्मक रहेकाले आगामी वर्षको बजेटमार्फत् सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ