arrow

प्रचण्डको भारत भ्रमणका एजेण्डा बनाउने क्रम अन्तिम चरणमा

जयशंकर र डोबलले स्वागत गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
prachanda-pm-final-always.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मूलक भारतको भ्रमण गर्ने मिति तय भएको छ । प्रधानमन्त्री प्रचण्डले जेठ १७ देखि २० सम्म भारतको भ्रमण गर्ने भएका छन्। भारतले सो मितिमा भ्रमणका लागि 'ग्रीन सिग्नल' दिएपछि प्रचण्डको भ्रमण हुने निश्चित भएको हो । 

परराष्ट्रका अधिकारीहरूका अनुसार प्रधानमन्त्री जेठ १७ मा नयाँदिल्ली जाँदैछन् । उनलाई भारतका विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले स्वागत गर्नेछन् । 

त्यसको भोलिपल्ट जेठ १८ मा भारतीय समकक्षी मोदीसँग प्रचण्डको भेट वार्ता हुनेछ । दुवैबीच हैदराबाद हाउसमा भेटवार्ता गर्नेछन् । भेटमा नेपाल भारत सम्बन्ध सहकार्य, सहमति र सम्झौता हुनेछ। भ्रमणका क्रममा प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट्ने कार्यक्रम पनि रहेको छ । प्रचण्ड जेठ २० मा स्वदेश फर्कनेछन्।

अहिले प्रचण्डको चार दिने भ्रमणलाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयले गृहकार्यलाई तीव्रता दिएका छन्। प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालय अन्तिम तयारीमा छ । मन्त्रालयले भारतसँग हुने वार्ताका लागि दुई पक्षीय एजेण्डाको तयारी गरिरहेको छ । भ्रमणका क्रममा लगानी, व्यापार, प्रविधि विस्तार, विकास आयोजना निर्माण, अपराध नियन्त्रण तथा अनुसन्धानमा सहकार्यलगायतका विषयमा छलफल हुने बताइएको छ । 

नेपाललाई दुईतर्फी हवाई रुट थप, नेपाली कम्पनीसँगै अन्तरदेशीय डिजिटल भुक्तानी, बंगलादेशसँग विद्युत् व्यापार गर्न बाटो खुला, २५ वर्षसम्म विद्युत् व्यापार, तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् विकास, अमलेखगन्ज लोथर तथा सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइन निर्माण आदिमाथि एजेण्डामा समेट्ने नेपालको तयारी छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता, थप विद्युत् व्यापार अनुमति, बंगलादेशसँग विद्युत् व्यापारको सहजीकरण, अरुण तेस्रोको पीडीएमा हस्ताक्षर, फुकोट कर्णाली आयोजनालगायतका एजेण्डा परराष्ट्र मन्त्रालयमा पठाएको छ । 

वैशाखमा भ्रमणको तयारी गरिए पनि अन्तिम समयमा आएर प्रचण्डको भ्रमण रोकिएको थियो। प्रचण्डले भारत भ्रमणका लागि आतुरता देखाए पनि भारतीय पक्षले समय नदिएपछि अहिले आएर भ्रमण तय भएको हो ।

यसअघि पहिलोपल्ट प्रधानमन्त्री हुँदा चीनबाट विदेश भ्रमण थालेका प्रचण्डले काममा असहज महसुस गरेपछि यस पटक भारतबाट भ्रमण गर्न लागेका हुन् । नेपालका प्राय: प्रधानमन्त्रीहरू भारतबाट आफ्नो पहिलो भ्रमण गर्ने गरेका छन् । सोही क्रमलाई प्रधानमन्त्री प्रचण्डले निरन्तरता दिन चाहेका छन् । 

प्रचण्डलाई बोआओ फोरममा सहभागी हुन चिनियाँ राजदूत छन् सोङले निम्तो दिएका थिए । प्रधानमन्त्रीले पहिला कताको भ्रमण गर्ने भन्ने कुरा त्यस्तो केही बाध्यता नरहेको प्रचण्डले बताउँदै आएका छन् । उनले भूगोल, अर्थतन्त्र, खुला सिमाना, सबै खालका जनसम्बन्धका दृष्टिले भारतको महत्त्व र विशिष्टता रहेको उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ