arrow

भारतमा मेन्यु लिएर नजान प्रधानमन्त्रीलाई विज्ञको सुझाव 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । विज्ञहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणमा जाँदा कुनै मेन्यु लिएर नजान सुझाव दिएका छन् । आगामी १७ गतेदेखि चार दिने भारत भ्रमणमा जाँदै गरेका प्रचण्डलाई यसअघिका प्रधानमन्त्रीहरुले भारतमा जाँदा जस्तो व्यवहार नदेखाइ आउन आग्रह गर्दै मेन्यु लिएर नजान भनेका हुन् । 

एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले भारत भ्रमणमा नेपाल र भारतबीच उर्जासम्बन्धी भएका सम्झौताअनुसार कार्यान्वयन गराउन दबाब दिनुपर्ने सुझाव दिए । 

उनले भारतले नेपालसँग उर्जासँग सम्बन्धित सम्झौताहरु गरिसकेपछि कार्यान्वयन गर्ने चरणमा थप व्यवधान झिक्ने गरेको भन्दै यसबारेमा राजनीतिक तवरबाटै समाधान गर्नुपर्ने जोड दिएका हुन् । 

उनले नेपालले अहिले भोग्नुपरेका समस्याका बारेमा पनि छलफल गरी समाधान निकाल्न जरुरी रहेको बताए । उनले दुई पक्षीय व्यापार असन्तुलनका बारेमा पनि सम्बोधन गर्न जरुरी रहेको बताए । 

उनले भारत सरकारको असहमतिका कारण भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बन्न नसकेको भन्दै यस विषयमा पनि समस्या समाधान गर्नुपर्नेमा जोड दिए । 

राजधानीमा भएको एक कार्यक्रममा बोल्दै भारतका लागि पूर्व नेपाली राजदुत दुर्गेशमान सिंहले भारत र नेपालको परराष्ट्र मामिला राजनीतिक फुटबलको रुपमा प्रयोग भइरहेको बताए ।

उनले भारत भ्रमणमा परराष्ट्र मामिलामा नेपाली नेताहरु पनि एक छौँ भन्ने धारणा दर्शाउन आवश्यक रहेको बताए । उनले बलियो आधारसहित प्रधानमन्त्री जानसके मात्रै भारत भ्रमण बढी फलदायी हुने बताए । उनले नेपाल माग्ने देश जसरी लिस्ट लिएर जान नहुने बताए । 

उनले भने, ‘भारत र नेपालको परराष्ट्र मामिला राजनीतिक फुटबलको रुपमा प्रयोग भएको देखिन्छ । त्यसबाट हट्न आवश्यक छ । प्रधानमन्त्री नेपालको प्रतिनिधित्व गरेर जाँदै हुनुहुन्छ, समस्त नेपालको हीतको निमित्त जाँदै हुनुहुन्छ । परराष्ट्र मामिलामा नेपाली नेताहरु पनि एक छौँ भन्ने धारणा दर्शाउन आवश्यक छ । बलियो आधारसहित प्रधानमन्त्री जानसके मात्रै बढी फलदायी हुन्छ, नेपाल एउटा माग्ने देश जसरी लिस्ट लिएर जाने होइन, साना ठूला लिस्टहरु बोकेर जाने काम प्रधानमन्त्रीको होइन ।’

त्यस्तै राजनीतिक समाजशास्त्रका अध्यापक उद्धव प्याकुरेलले प्रधानमन्त्रीको भारत भ्रमण सद्भावना भ्रमण मात्रै भएको बताए । उनले भारत भ्रमणमा प्रधानमन्त्रीले नेपाल र भारतको सम्बन्धको सन्दर्भमा छलफल गर्न आवश्यक रहेको बताए । उनले अहिलेसम्म दुई देशबीचको सहकार्यमा भइसकेका काम बाहेकका अन्य नयाँ योजनाहरुको बारेमा थप छलफल गर्न आवश्यक रहेको उल्लेख गरे । 
 
उनले भने, ‘प्रधानमन्त्रीले के गर्नुपर्छ ? भारत भ्रमणमा, भन्ने भन्दा पनि प्रधानमन्त्रीले अहिले गएर मोदीजीसँग भेटेर अब नेपाल र भारतको सम्बन्धको सन्दर्भमा भइसकेका काम बाहेकका अरु काम गर्ने वातावरण बनाउनुपर्छ । त्यहाँ कुनै एजेण्डा प्रश्तुत गर्ने होइन । कतिपय विषयहरु दुई देशबीचमा वर्षौं लगाएर गर्नुपर्ने विषय छन्, प्रधानमन्त्री जाँदैमा एकाएक छलफल हुन्छ भन्ने होइन । त्यो सहमति नेपालको लागि फलदायी हुनसक्छ ? यी कुरामा हामी कहिल्यै चर्चा गरेका छैनौँ । यो सद्भावना भ्रमण हो । यसले सम्बन्धमा शुरुवात हुनेछन्, मेन्युले काम गर्नेछैन ।’

अध्यापक प्याकुरेलले प्रधानमन्त्रीले लिएर जाने मेन्युले भारत भ्रमणमा कुनै काम नगर्ने पनि बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ