- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ । बर्दिबास-१० खयरमारामा स्थानीयले पालेका गाईगोरुमा लम्पी स्किन रोग देखिएको स्थानीय पशुपालक कृष्णबहादुर थापाले बताए ।
उनका अनुसार विगत १०-१५ दिनदेखि गाउँमा रोगले समस्या हुँदै गएको र अहिलेसम्म १० पशु मरिसकेको छन् । केही दिनदेखि पशुको छालामा अचानक नयाँ खालको सङ्क्रमण देखिन थालेको, जीउभरि गिर्खा आउन थालेको, घाउजस्तो भएर पिप बग्न थालेको, उच्च ज्वरोलगायतका लक्षण देखिएको र अहिलेसम्म १० पशु मरिसकेको स्थानीय पशुपालक वीरेन्द्र थापाले बताए ।
बर्दिबास नगर प्रमुख प्रल्हदकुमार क्षेत्रीले खयरमाराका पशुमा लम्पी स्किन देखिएको र यसको रोकथाम र उपचारका लागि पशु चिकित्सकसँग परामर्श सहित आवश्यक औषधिको व्यवस्थापन गर्न लागेको बताए ।
महोत्तरीमा रहेको १५ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको जनाइएको छ । जिल्लाभर यस रोगबाट अहिलेसम्म करिब २० गाईगोरु मरेका छन् ।
लम्पी स्किन रोग अहिले जिल्लाभरि फैलिँदासमेत भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र महोत्तरीले चासो नदेखाएको पशु पालक किसानले गरेका छन् ।
लम्पी स्किन सङ्क्रमित पशुको शरीरका भागमा गिर्खा आउने, घाउ हुने पाक्ने, पिप बग्ने, उच्च ज्वरो आउने लक्षण देखिएको छ भने लम्पी स्किन रोगले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको जनाइएको छ । लम्पी स्किन लागेका पशुबाट दूध उत्पादनमा ५० प्रतिशत बढी ह्रास आउने छ । पशुसेवा विज्ञ केन्द्रका सूचना अधिकारी सूर्यदेव यादवले रोग नियन्त्रणका लागि आवश्यक प्रयास भइरहेको बताए ।