गिरिराजमणि र शरतसिंहलाई पछाडि पार्दै महोत्तरीका चारवटै क्षेत्रमा रास्वपा अगाडि
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
981
Shares
काठमाडौँ । महोत्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ बजे सार्वजनिक गरेको विवरणअनुसार पुराना र 'हेभीवेट' मानिने उम्मेदवारहरू रास्वपासँग निकै पछाडि परेका छन्।
महोत्तरी क्षेत्र नं १: यहाँ रास्वपाका प्रमोदकुमार महतोले १० हजार ९९३ मत प्राप्त गरी आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन्। उनलाई नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेलले ३ हजार ९२३ मतका साथ पछ्याइरहेका छन् भने नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीले २ हजार ८५६ मत पाएका छन्।
महोत्तरी क्षेत्र नं २: यस क्षेत्रमा रास्वपाका दीपककुमार साह २ हजार ९१९ मतका साथ अग्रस्थानमा छन्। उनलाई जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता शरतसिंह भण्डारीले ८५८ मतका साथ पछ्याइरहेका छन्। भण्डारी र साहबीचको मतान्तर झण्डै दुई हजार पुगेको छ।
महोत्तरी क्षेत्र नं ३ र ४: क्षेत्र नम्बर ३ मा रास्वपाका उज्ज्वल झाले ५७१ मत पाउँदा स्वतन्त्र उम्मेदवार रामआधार कापरले ११४ मत प्राप्त गरेका छन्। यस्तै, क्षेत्र नम्बर ४ मा रास्वपाकी गौरीकुमारी ६५१ मतसहित अगाडि छिन्। उनलाई जसपाका डा. सुरेन्द्रकुमार यादवले २६९ मतका साथ पछ्याइरहेका छन्।
जिल्लाका चारवटै क्षेत्रमा 'घण्टी' को लहर देखिएपछि मधेसको राजनीतिमा लामो समयदेखि प्रभाव जमाएका दलहरू अहिले दबाबमा देखिएका छन्। अहिले सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए।