arrow

यतिकुरा गर्न सक्नु हुन्न भने भारत भ्रमणमा किन जाने ? : ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
oli.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्शा (मुरल) राख्नु उचित नभएको बताएका छन् । 

भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्शामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने कुरा सुनिएको उल्लेख गर्दै यदि त्यो सत्य हो भने उचित नहुने ओलीको प्रतिक्रिया थियो ।

अखिल नेपाल महिला संघले मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भारतजस्तो एउटा पुरानो, सुदृढ र नमूना लोकतन्त्र भनिएको देशले त्यस्तो व्यवहार गर्न नमिल्ने स्पष्ट पारेका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको क्रममा सो नक्शा संसद भवनबाट हटाउने कुरा भारत सरकारसँग गर्नुपर्ने बताए । भारतसँग सो गल्ती सच्याउने बारेमा कुरा नगर्ने हो भने प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानुको कुनै अर्थ नहुने ओलीले बताए ।

‘अहिले आईराख्या छ नि । लुम्बिनी, कपिलवस्तु भारतको नक्शामा पारेर संसद भवनमा काठमा कुँदेर संसदले राख्यो भने पछि यो भन्दा सानो छिमेकीलाई मैले देखेको छैन । सुनेको छु । भारत सरकारले होइन, हटायो भने, होइन भनेर खण्डन गर्‍यो भने अथवा त्यो हटायो भने वा गल्ती महशुस गर्‍यो भने त्यो आफ्नो ठाउँमा छ । तर नेपालको भूमि आफ्नो नक्शा भित्र हालेर संसद जस्तो ठाउँमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमूना लोकतन्त्र भनिएको देशले त्यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिदैन । प्रधानमन्त्रीजी भोली भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्शा हटाउनुस् । त्यो गल्ती सच्याउनुस भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ । यतिकुरा गर्न सक्नु हुन्न भने अनि भारत भ्रमणमा किन जाने ?’, ओलीले भने। 

अध्यक्ष ओलीले शक्ति राष्ट्रहरुले बलमिच्याई गरिरहेकाले कमजोर मुलुकहरुले न्यायको खोजी गरिरहनु परेको पनि पटकपटक दोहोर्‍याएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ