arrow

भीम रावललाई वार्तामा बोलाउने आँट किन गरेनन् केपी ओलीले ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
kp-oli-bhim-rawal-uml.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेले आफ्नै नेता भीमबहादुर रावललाई पार्टीमा जिम्मेवारी दिने गरी बनाएको वार्ता समिति वेपत्ता भएको छ । बैशाख ३ गते एमालेका पूर्व उपाध्यक्ष भीम रावल र उनलाई पार्टी काममा सक्रिय हुने गरी फर्काउन बनाएको वार्ता टोलीबीच दुई घण्टा छलफल भएपछि अहिलेसम्म सम्वाद हुन हुन नसकी अलपत्र परेको हो । 

त्यसबेला रावलले पहिलो भेटवार्तामा सामान्य छलफल भएको प्रतिक्रिया दिएका थिए । उनीहरुबीच  पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग फाइनल चरणको वार्ता गर्ने गरी छलफल टुंगिएको थियो । 

‘सामान्य कुरा मात्रै भयो । विचार आदान प्रदान गर्ने काम गरियो । आगामी संवादबाट परिणाम सकारात्मक निकाल्ने कुरा भएको छ’, रावलले त्यसबेला भनेका थिए । 

तर अहिलेसम्म दोस्रो चरणको संवाद हुन सकेको छैन । रावलसँग वार्ता प्रकृया अघि बढेपछि केन्द्रीय कमिटीको पूर्ण बैठक सकिएको छ भने अहिले सचिवालयको बैठक चलिरहेको छ । 

यद्यपि रावलको खोजी हुन सकिरहेको छैन । रावलले पनि आफू निकटका नेताहरुसँग वार्ता टोली हरायो भन्ने गुनासो गरिरहेका छन् । प्रारम्भिक बसाइमा असहमतिका कुरामा मन माझेर पार्टी काममा सक्रिय हुन रावल राजी भएका थिए ।  

उनीसँग भएको पहिलो औपचारिक छलफल सकारात्मक रहेको वार्ता टोलीका सदस्यसमेत रहेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले खुलेर कुराकानी भएको बताएका थिए । 

तर अहिले उनीहरुबीच संवाद हुन नसकेको विषयमा भने थापाले केही बोल्न चाहिरहेका छैनन् । ‘यो विषय संयोजक कमरेडलाई सोध्नुस्’, स्थायी कमिटी सदस्य थापा पन्छिए । 

रावलले त्यस क्रममा पार्टीप्रति आफू सदैव सकारात्मक रहे पनि नेतृत्वका केही कामकारबाही चित्त नबुझेकाले फरक मत राखेको बताएका थिए । 

पार्टीभित्रका फरक भावना र मत समेट्दै जाँदा एमालेलाई अझ बलियो बनाउन सकिने उनको भनाइ थियो ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गत चैत १८ गते बसेको सचिवालय बैठकले तीन सदस्यीय समिति गठन गरेको थियो । जसका सदस्यहरूमा लेखराज भट्ट र कर्ण थापा रहेका छन् । 

रावलले पार्टीको विधि विधान विपरीत कार्य गरेको भन्दै संवाद गर्न समिति गठन गरिएको र संवादपछि मात्रै रावललाई आवश्यक जिम्मेवारी दिइने एमालेको तयारी थियो । 

एमालेका उपाध्यक्ष पौडेल र  नेता रावलबीच नोकझोँक भएपछि वार्ता समिति बनेको थियो ।  

रावल पार्टी अध्यक्ष ओलीसँग असन्तुष्ट छन् । रावलले आफूमाथि अझै अन्याय गरे नयाँ निर्णय लिने चुनौती दिँदै आएका छन् । 

रावलले आफूसँग अझै सहने क्षमता रहेको बताउँदै अति गरे सोच्नुपर्ने अवस्था आउने बताउँदै आएका छन् ।

तर पार्टी महाधिवेशनमा ओलीको विरुद्धमा पार्टी अध्यक्षमा उम्मेदवारी दिएपछि उनलाई पार्टीले निकै टाढा राखेको छ । 

उनले आफ्नो क्षेत्रबाट प्रतिनिधि सभाको निर्वाचनसमेत लड्न पाएनन् । 

ओलीसँग फाइनल वार्तामा बस्ने भएर पहिलो चरणको दुई घण्टे वार्ता टुंगिएको भए पनि ओलीले भने अझै रावललाई बोलाएका छैनन् । 

रावल निकटका एक नेताले भने, ‘केपी ओलीसँग आँट छैन रावलज्यूलाई वार्तामा बोलाउन ।’

आखिर ढिलाइ किन त ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ