arrow

पैयुँ आधारभूत अस्पतालमा एक्स-रे सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २० शनिबार
Paiyun hospital.jpg

पर्वत । पर्वतको दक्षिण भेगको पैयुँ गाउँपालिकामा सञ्चालित आधारभूत अस्पतालमा डिजिटल एक्स-रे सेवा सुरु गरिएको छ ।  
पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको पहलमा यहाँ रहेको आधारभूत अस्पतालमा स्वास्थ्य सेवा विभागमार्फत मोबाइल डिजिटल एक्स-रे मेशिन प्राप्त भएसँगै सेवा सुरु गरिएको हो ।

शुक्रबार यहाँ आयोजित एक कार्यक्रमबीच पूर्वस्वास्थ्यमन्त्री गिरीले गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीलाई उक्त मेशिन हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत पथलैया स्टोर, बाराले रू एक करोड ४४ लाख ८२ हजार एक सय ६६ मा खरिद गरेको मोबाइल डिजिटल एक्स-रे मेशिन अस्पताललाई हस्तान्तरण भएलगत्तै बिरामीलाई सेवा दिन थालिएको अध्यक्ष  ठकुरीले जानकारी दिए । 

गाउँपालिकामा डिजिटल भिडियो एक्स-रे सुविधा नहुँदा स्थानीय स्याङ्जा, पोखरा र पाल्पा जानुपर्ने बाध्यता थियो ।

स्थानीयस्तरमै डिजिटल सेवा पाउने भएपछि स्थानीय खुसी भएका छन् । एक्स-रे सेवाबाट पैयुँ, महाशिला र विहादी गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने छन् ।

अध्यक्ष ठकुरीका अनुसार यसै सातादेखि सञ्चालनमा आएको आधारभूत अस्पतालबाट चौबिसै घन्टा आकस्मिक सेवासहित गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, फार्मेसी सेवालगायत सेवा प्रदान भइरहेका छन् ।

“अबदेखि एक्स-रे सेवा पनि अस्पतालमा हुनेछ”, उनले भने । अध्यक्ष ठकुरीले पालिकास्तरीय आधारभूत अस्पतालका लागि आवश्यक पूर्वाधार तथा जनशक्तिको अभाव हुन नदिने बताए । उनले नागरिकको स्वास्थ्यप्रति पालिका गम्भीर रहेको उल्लेख गरे ।

अस्पताल नहुँदा अहिलेसम्म यस क्षेत्रका नागरिक सामान्य उपचारका लागि पनि स्याङ्जाको वालिङ, बुटवल, पाल्पा, पोखरालगायत सहरमा जान बाध्य भएका थिए । पालिकामै आधारभूत अस्पतालको सेवा शुभारम्भ भएपछि यहाँका नागरिकले राहतको महसुस गरेका छन् । 

“यस क्षेत्रमा अस्पताल नहुँदा यहाँका नागरिकहरु सानो चोटपटक लाग्दा पनि अन्यत्र जान बाध्य थिए”, पैयुँ गाउँपालिका-१ टकलाकका वडाअध्यक्ष मीनप्रसाद न्यौपानेले भने, “अब पालिकावासीको हितमा विकास निर्माण र स्वास्थ्य सेवाका कार्यक्रमलाई प्रभावकारी रुपले अघि बढाइनेछ ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर आधारभूत अस्पताल स्थापना गर्ने सरकारको निर्णयअनुसार अस्पताल निर्माण गरिएको बताए । 

उनले भौतिक पूर्वाधार बनिनसकेको अवस्थामा मौजुदा पूर्वाधार र मौजुदा जनशक्ति र अन्य जनशक्ति पालिकाका तर्फबाट ब्यहोर्ने गरी यहाँका जनताको आवश्यकता, चाहना र स्वास्थ्य सेवालाई दृष्टिगत गरेर सेवा शुभारम्भ गरेको उनको भनाइ छ ।

अत्याधुनिक सुविधासहित स्वास्थ्य सेवा दिने गरी जनशक्ति व्यवस्थापन गर्ने पालिकाले जनाएको छ । पर्वतको सदरमुकाम कुश्माबाहेक अन्य छ पालिकामा आधारभूत अस्पताल निर्माण भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ