arrow

गण्डकीको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र कृषिमा जोड [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
Prithiviman gurung gandaki.jpg

पोखरा । गण्डकी प्रदेश सरकारले स्वास्थ्य, शिक्षा र कृषिमा जोड दिएको छ । प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्य, शिक्षा र कृषिमा जोड दिएको उल्लेख गरे ।

सरकारले क्यान्सर पीडित बिरामीलाई थप एक लाख सहयोग गर्ने, भरतपुर क्यान्सर अस्पतालसँगको साँझेदारीमा प्रदेश मातहतका अस्पतालमा उपचार गर्दा थप एक लाख सहयोग गर्ने नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ । 

यसैगरी ६० वर्ष माथिका र १० वर्षमुनिका नागरिकको ओपीडी र ल्याव परीक्षण निःशुल्क गर्ने, मुटुरोगका विरामीलाई डायलायसिसमा पालो कुर्न पर्ने अवस्थाको अन्त्य गर्ने सरकारको लक्ष्य छ । अस्पताल बाहिर हुने सुत्केरीलाई शून्यमा झार्ने, प्रदेशभित्रका सबै अस्पतालमा निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने पनि सरकारको घोषणा छ ।

कृषिमा चक्ला बन्दी कार्यक्रमलाई निरन्तरता दिने, उत्पादनका आधारमा सहुलियत दिने लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएका छन् । 

नीति तथा कार्यक्रममा गण्डकीमा विद्यार्थीहरुको बहुप्रतिभाको पहिचान गर्न फ्राइडे फर फ्यूचर कार्यक्रम लागू गर्ने, विद्यार्थीहरुका शैक्षणिक बाहेक अतिरिक्त क्रियाकलापमार्फत प्रतिभा पहिचान कार्यक्रम आयोजना गर्न लागिएको उल्लेख छ । 

प्रदेशभित्रका सामुदायिक क्याम्पसलाई कार्यसम्पादनका आधारमा अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । नीति तथा कार्यक्रममा एक निर्वाचन क्षेत्र एक सडक, पोखरामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण, मुस्ताङमा हाइ अल्टिच्युड खेल मैदान निर्माण र एक स्थानीय तह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिएको छ । 

प्रदेशको प्रथम पञ्चवर्षीय योजना, १५ औं पञ्चवर्षीय योजना, दिगो विकासका लक्ष्य, राजनीतिक दलहरूले व्यक्त गरेका प्रतिबद्धता र प्रदेशवासीका अपेक्षालाई समेट्ने गरी नीति तथा कार्यक्रम ल्याएको जनाएको छ ।

नीति तथा कार्यक्रमप्रति नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले केन्द्र सरकारको जस्तै हुबहु नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिए ।

प्रदेश सरकारले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । साथै सडक मानव बन्नुपर्ने अवस्थाबाट रोक्न नागरिकलाई मनो सामाजिक परामर्श प्रदान गरिने उल्लेख छ । सरकारले अपाङ्गता भएका व्यक्तिलाई समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

प्रदेश सरकारले संचार माध्यमलाई व्यवस्थित तथा मर्यादित बनाउन ‘संचार विधेयक’ तयार गरि लागू गर्ने जनाएको छ । विगतमा सदनमा प्रस्तुत भएरपनि पारित हुन नसकेको सो विधेयक पुर्नलेखन गरी लागू गर्ने उल्लेख छ ।

गण्डकी सरकारले प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रुपमा विकास गर्न सुविधा सम्पन्न क्रिकेट रंगशाला र अन्र्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने घोषणा गरेको छ ।

यस्तो छ नीति तथा कार्यक्रम



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ