arrow

‘आर्थिक रूपान्तरणका लागि पोखरा र म्याग्दीबीच सहकार्य हुनुपर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
Ega Pokhara.jpg

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल क्षेत्रीले आर्थिक रूपान्तरणका लागि पोखरा र म्याग्दीका उद्योगी, व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । दुई जिल्लाका उद्योगी र व्यवसायीबीच सहकार्य भए उद्यमशीलता विकास हुने उनको भनाइ थियो । 

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले म्याग्दीको बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष क्षेत्रीले उद्योग व्यवसायको प्रवर्द्धनमा पोखराले म्याग्दीलाई सघाउनुपर्ने खाँचो औंल्याए ।

उनले म्याग्दीमा उत्पादित सामाग्रीको ब्राण्डिङका लागि सहयोग गरिदिन पोखरेली व्यवसायीसँग आग्रह गरे । म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दीकाम ६ वटै पालिकामा इकाइ स्थापना गरेको जानकारी दिँदै सबै पालिकामा उद्यामशीलता विकासका लागि नीतिगतरुपमा पहल गरिरहेको बताए । 

म्याग्दीको उत्पादन बजार प्रवर्द्धन गर्न सहजरुपमा जिल्ला बाहिर पठाउन सहजीकरण भइरहेको भन्दै उनले यसका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

एगा पोखराका अध्यक्ष ईन्द्रप्रसाद भण्डारीले उद्यमशीलताका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले म्याग्दीका स्थानीय उत्पादनलाई बजारीकरण गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन एगाले सघाउने प्रतिवद्धता जनाए ।

भविष्यमा सहकार्य गरेर ठूला उद्योग स्थापना गर्न सकिने सम्भावना रहेपनि तत्कालका लागि स्थानीय स्तरमा उत्पादित सामाग्रीको प्रवर्द्धनसँगै बजारीकरण गर्न सकिने र यसमा एगा सहकार्य गर्न तयार रहेको अध्यक्ष भण्डारीले बताए । 

पर्यटन अभियान्ता कृष्ण केसीले पोखरासँग म्याग्दीको पर्यटकीय सम्बन्ध जोड्नुपर्ने बताए । भएका पूर्वाधारको विकाससँगै प्रवर्द्धन र पर्यटन लक्षित कार्यक्रमलाई जोड दिँदै यहाँका स्थानीयको आयआर्जन बढाउनेतर्फ लाग्नु जरुरी रहेको उनको भनाइ थियो । 

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेकाले म्याग्दी र मुस्ताङमा उत्पादन हुने अल्लो र लोकताका कपडालगायतको अन्तर्राष्ट्रिय बजारीकरण आवश्यक छ’, उनले भने ।

व्यवसायिक प्रवद्र्धनात्मक अध्ययन अवलोकन भ्रमण टोलीले स्थानीय उद्यमीलाई लक्षित गरी जोमसोम, ठिनी, उपल्लो मुस्ताङस्थित लोमान्थाङमा क्षमता अभिवृद्धि तालिम एवं अन्तरक्रिया गर्दै नेपाल र चीनबीचको सीमा कोरला नाकासम्मको प्रवद्र्धन गरिने एगाका उपाध्यक्ष गोकर्ण लम्सालले जानकारी दिए । 

स्थानीय स्तरमा उत्पादन हुने अर्गानिक सामाग्रीको प्रवर्द्धन गर्ने लक्ष्यका साथ भ्रमण आयोजना गरिएको एगाका निवर्तमान अध्यक्ष विश्वराज पोखरेलले जानकारी दिए ।

सो अवसरमा म्याग्दीका नेपाली कागज उद्योगी मोतीराज गौतम र हिमाली अल्लो कपडा उद्योग बेनीकी अध्यक्ष विष्णुकुमारी गुरुङले कच्चा पदार्थ संकलन, उत्पादन र बजारीकरणका समस्याबारे चर्चा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ