arrow

बुटवलमा सहकारी ठगी चरममा, शाइनका अध्यक्ष फरार, दुबई भाग्ने तयारी

logo
नारायण वली,
प्रकाशित २०८० जेठ २४ बुधबार
shine-sahakari-butwal.jpg

रुपन्देही । बुटवलमा रहेका बचत तथा बहुउद्देश्यीय सहकारी संस्थाहरु एकपछि अर्को गरी रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेपछि बचतकर्ताहरुको रकम जोखिममा पर्ने खतरा बढेर गएको छ ।

केही दिन अगाडि सुनौलो बहुउद्देश्यीय सहकारीको घटना सेलाउन नपाउँदै  शाइन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रकाश खनाल बचतकर्ता, शेयरधनी र कर्मचारी समेतको रकम हिनामिना गरी फरार भएका छन् ।

लगानीकर्ता र बचतकर्ताहरुको लाखौं रकम कुम्ल्याएर सहकारीका अध्यक्ष खनाल सम्पर्कविहीन भएपछि यतिबेला पीडितहरु प्रहरी कार्यालयमा न्यायका लागि धाउन थालेका छन् । 

सहकारीको साधारण सभामा ३ महिनाको म्याद मागेर सम्पूर्ण रकम तिर्ने भाका लिई झुक्काएर तोकिएको समयावधि पुगेसँगै अध्यक्ष खनाल सम्पर्कविहीन बनेपछि बचतकर्ताहरुको रकम जोखिममा पर्ने भएको छ । 

सोमबार पीडितहरु अध्यक्ष खनाल बस्दै आएको बुटवल उपमहानगरपालिका वडा न–११ देवीनगरस्थित घरसमेत घेराउ गरेका थिए । यता सहकारीको कार्यालय बन्द अवस्थामा छ ।

केही पीडितहरुले सहकारी दर्ता अधिकारीको लुम्बिनी प्रदेश कार्यालय दाङ पुगेर उजुरी दर्ता गराएको बताइएको छ । पीडितहरुले भन्छन्, 'हामीले खर्च कटौती र काम गरेको केही रकमलाई छुट्याएर सहकारीमा बचत गरेको रकम डुब्ने भयो । राज्यले नागरिकको पैसा हिनामिना पार्नेलाई कानूनी दायरामा ल्याउनुपर्छ ।'

आफूहरुले पाउनुपर्ने पैसा पाउनको लागि दोषीलाई प्रहरीले प्रक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन चासो नदेखाएको गुनासो गरेका छन्  । यता सहकारीमा काम गर्ने कर्मचारीहरुले बचत गरेको ३० लाखभन्दा बढी रकम निकाल्न नपाएको बताएका छन् ।

सहकारीमा कार्यरत कर्मचारी एक कर्मचारीले नाम नबताउने सर्तमा आफूहरुले काम गरेबापत पाउनुपर्ने २ महिनाको मासिक पारिश्रमिकसमेत नपाएको बताउँदै बचत गरेको ५० हजार पनि डुबेको दुखेसो पोखिन् । अर्की कर्मचारीले पनि २ महिनाको तलबसुविधा नपाएको र बचतमा रहेको ४ लाख रकम निकाल्न नपाएको पीडा सुनाइन् ।

सहकारीको बैंक प्रबन्धक रहेकी अनिता पछाईको समेत १५ लाख बचत रकम डुबेको छ भने काम गरेको पारिश्रमिक समेत पाएकी छैनन् । करिब ५ हजार साधारण सदस्य रहेको उक्त सहकारीमा नियमित बचत गर्ने १ हजार ५ सय बढी सदस्य रहेको जनाइएको छ।

देश छाड्ने तयारीमा अध्यक्ष खनाल: 
सम्पर्कविहीन भएका बुटवलको शाइन बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रकाश खनाल बुधबार दुबई जान लागेको जानकारी पाएपछि उनको विदेश यात्रा रोक्न भन्दै सहकारीका कर्मचारीसहित २० जना पीडितहरुले जिल्ला प्रहरी कार्यालय रुपन्देही मार्फत् अध्यागमन कार्यालयमा निवेदन दिएको बचतकर्ता टेकराज पन्थीले जनाएका छन् ।

पीडितहरुले विदेश जान रोक्न प्रहरीलाई अनुरोध गरेका छन् । केही दिनयता कार्यालय बन्द गरेर सम्पर्कबिहीन भएका खनालको खोजीका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका उनीहरु इलाकाबाट कुनै चासो नदेखाएपछि बुधबार खनाल विदेश जाने तयारी गरेको सूचना पाएसंँगै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

गत पुसमा नौ सहकारी मर्ज:
अर्घाखाँचीका प्रकाश खनाल शाइन सहकारीका अध्यक्ष हुन् । निकै चतुर र चलखेल स्वभावका उनकै डिजाइन र योजनामा गत पुस १९ गते साना ९ वटा सहकारीहरुलाई मर्ज गरे । मर्ज गर्दा आफू नै अध्यक्ष बने । मर्जपछि थप उनी आर्थिक चलखेलमा छिटोछरितो रुपमा ठगी धन्दामा लागेको खुल्न आएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ