arrow

बेनी-गलेश्वर सडक स्तरोन्नतिको काम तीव्रगतिमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
beni-road.jpg

म्याग्दी । कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत बेनी-गलेश्वर सडक स्तरोन्नतिको कामले तीव्रता पाएको छ । गत माघदेखि निर्माण सुरु भएको उक्त योजनाको पाँच महिनाको अवधिमा ८० प्रतिशत स्तरोन्नतिको काम पूरा भएको  कालीगण्डकी कोरिडोरका बेनी-जोमसोम कोरला सडक योजना प्रमुख जगत प्रजापतिले बताए । 

मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिका सञ्चालक एवम् निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले ठेक्का सम्झौतालगत्तै योजनास्थलमा उपकरण र मजदूर परिचालन गरी काम सुरु गरिएको बताए । उनले साँघुरो सडकलाई आठ मिटरको फराकिलो बनाउने, सडक तलमाथि पर्खाल, चारवटा कल्भट, दुईसय मिटर आरसिसी ढलानको काम सकिएको जानकारी दिए । 

निर्माण व्यवसायी कार्कीले सम्झौता मितिको एकवर्ष अघि नै काम सक्ने प्रतिबद्धता अनुरुप काम अगाडि बढाइएको बताए। राष्ट्रिय गौरबको आयोजना मानिएको बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत बेनी-गलेश्वर खण्डमा निर्माण कम्पनीले पाँच महिनामा ८० प्रतिशत काम सकेपछि जिल्लामा सञ्चालित अन्य योजनका निर्माण व्यवसायीलाई समेत दबाब उत्पन्न भएको छ । 

योजना प्रमुख प्रजापतिले कोरिडोरअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबैभन्दा छिटो र धेरै काम गरेको खण्ड बेनी-गलेश्वर रहेको बताए । उनले निर्माण कम्पनीले गत माघ ६ गतेबाट सुरु गरेको योजनाको काम हालसम्म सडक तलमाथिको पर्खाल, नाली, चारवटा कल्भट, सडक पराकिलो बनाउने काम, सबवेस र दुई सय मिटर आरसिसी ढलानलगायत काम सकिएको जानकारी दिए ।

उनका अनुसार यस सडकमा बेस र कालोपत्रे काम मात्र बाँकी छ । “यसलाई बर्खापछाडी सम्पन्न गर्ने लक्ष्यमा निर्माण कम्पनी रहेको छ”, उनले भने । 

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी आयोजना र निर्माण कम्पनीबीच रू १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा ठेक्का सम्झौता भएको थियो । उक्त सडक स्तरोन्नति समयमै सम्पन्न भएमा बेनी नगरपालिकासहित रघुगङ्गा, अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवातजावातमा सहज हुने स्थाीयको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ