arrow

कोशी जोगाउन केपीको चलाखी, गठबन्धनलाई धोका देलान् त उपेन्द्रले ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
oli-upendra-yadav.png
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशको सरकार जोगाउन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएको छ । कोशी प्रदेशमा एमाले सरकार अप्ठेरो परेको पछिल्लो परिस्थितिमा मधेश प्रदेशमा जसपाका तर्फबाट मूख्यमन्त्री बनेका सरोजकुमार यादवलाई विश्वासको मत दिएको हो । 

कोशी प्रदेशबाट जसपाका एक सांसदले आफ्नो समर्थन नभएको भन्दै समर्थन फिर्ता लिएपछि एमाले सरकार अप्ठेरोमा परेको थियो । जसपाको साथ पाएमा कोशीमा एमाले सरकार बहुमतमा हुनेछ । अहिले एमालेको ४० राप्रपाको ६ सहित ४६ सांसदको समर्थन रहेको छ । जसपाका एक सांसद सहभागी हुने वित्तिकै एमालेका लागि बहुमत पुग्ने अवस्था छ । 

मधेशमा मंगलबार प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रदेशसभाका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको हो । मुख्यमन्त्री यादवको पक्षमा प्रदेशसभामा उपस्थित सबै १०३ साँसदले मत दिएका छन् । प्रदेश सभामा १०७ सांसद छन् । 

प्रदेशको सबभन्दा ठूलो दल नेकपा एमालेकै समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । तर सत्ता समीकरण बदलिएपछि सरकार छाडेको एमालेले जेठ १ मा समर्थन फिर्ता लिएको थियो । 

एमालेले समर्थन फिर्ता लिएकै कारण मुख्यमन्त्री यादवले विश्वासको मत लिनु परेको थियो । तर एमालेले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएपछि सरकारको विपक्षमा कुनै दल नै रहेका छैनन् । ‘मधेस प्रदेशमा जसपालाई सहयोग गर्नुमा एमालेको रणनीति हो जुन कोशी प्रदेशका लागि कामयावी हुनसक्छ’, एमालेका एक पदाधिकारीले भने । 

सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार संकटमा पुगेको छ । जसले गर्दा बजेट ल्याउने अवस्था पनि बनेको छैन । 

गत पुस २४ गते नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

तर जेठ १७ र २३ गते जसपा र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की नेतृत्वको सरकार यतिबेला अल्पमतमा छ । संविधानको धारा १६८ मा प्रदेश सरकारबारे व्यवस्था गरिएको छ । उपधारा (१) अनुसार कुनै पनि दलको स्पष्ट एकल बहुमत नभएपछि एमालेका कार्की दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। 

तर केन्द्रमा भएको सत्ता समीकरण फेरबदल, नागरिकता विधेयक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा नेकपा एमालेको विवादस्पद अभिव्यक्तिपछि माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएको हो । अब मुख्यमन्त्री कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । तर तत्कालै मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउनसक्ने अवस्था छैन । 

संघीय सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी छन् । प्रदेशमा ती दलहरु आफैँ नयाँ सरकार बनाउने कसरतमा छन् । 

९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जना सांसदको मात्रै मत पाउने अवस्था देखिन्छ । सरकारलाई बहुमत पुर्याउन ४७ सिट आवश्यक पर्नेमा एक सिट अपुग देखिन्छ । 

त्यही एक सिटका लागि एमालेले मधेश प्रदेशमा निःशर्त समर्थन गरेको स्रोतको दाबी छ । 

विपक्षी गठबन्धनसँग पनि सरकार निर्माणका लागि आवश्यक मत पुग्ने अवस्था देखिँदैन । सत्ता गठबन्धन दल नेपाली कांग्रेसका २९, माओवादीका १३ (सभामुखसहित), एकीकृत समाजवादीको ४ र जसपाको एक सिट रहेको छ । 

सभामुख बाहेक कांग्रेससहितको गठबन्धनसँग ४६ सिटमात्रै हुन्छ । त्यसमा सभामुखको निर्णायक भूमिका हुने भएकाले सभामुख पद छाड्नु पर्ने हुन्छ ।

यस्तो अवस्थामा जसरी एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मधेसमा सहयोग गर्न निर्देशन दिए त्यसरी नै कतै जसपा अध्यक्ष उपेन्द्र यादवले पनि कोशीमा साथ दिने त हैनन् ? 

यदि उपेन्द्रले एमालेलाई साथ दिए भने कोशीमा गठबन्धनलाई धोका हुनेछ । त्यसले केन्द्रसम्म पनि असर पर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ