- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापा दमकको सरकारी अस्पताल दमक अस्पतालमा एक बिरामीको पेटबाट नौ किलोको ट्युमर निकालिएको छ । पाँचथर जिल्ला रानीगाउँ स्थायी घर भएकी ४८ वर्षीया कमला तामाङको पाठेघरमा रहेको ट्युमर शल्यक्रियामार्फत निकालिएको छ।
दमक अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. दिप्ती कुँवर, फिजिसियन डा. योगेश चेम्जुङ, एनेस्थेसियोलोजिस्ट डा. उद्धव अधिकारी, एनेस्थेसिया असिस्टेन्ट देवी दंगाल, निशा देवकोटा , नर्स पूजा आचार्य, चन्द्रकला राना, सरिता खड्का लगायतको टिमले तामाङको पेटको शल्यक्रिया गरी बुधबार ट्युमर निकालिएको अस्पतालले जनाएको छ ।
दमक अस्पतालमा यति ठूलो आकारको ट्युमर शल्यक्रियामार्फत निकालिएको पहिलो पटक हो । हाल बिरामीको अवस्था सामान्य छ । करिब ३–४ दिन बिरामीलाई अस्पतालमै निगरानीमा राख्नुपर्ने दमक अस्पतालकी सूचना अधिकारी एनेस्थेसिया असिस्टेन्ट देवी दंगालले बताइन् ।
६ महिना अघिदेखि पेट असामान्य रुपमा बढेको र अस्पतालमा परीक्षणका क्रममा ट्युमर रहेको पत्ता लागे पनि बिरामीको आर्थिक अवस्था कमजोर भएका कारण ढिला गरी शल्यक्रिया भएको हो ।