arrow

कोशीको राजनीति  

अल्पमतको सरकारले ल्यायो नीति तथा कार्यक्रम, विपक्षी भन्छन् – यो समय कटनी मात्रै हो 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० जेठ ३१ बुधबार
parshuram-khapung-koshi-niti-tatha-2080-02-31.jpg
तस्बिर–कोशीका प्रदेश प्रमुख परशुराम खापुङ्ग बुधवार प्रदेशसभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ।

मोरङ । कोशी प्रदेश सरकारले प्रदेश सभामा बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन नै नहुने भएकोले यसको विषयमा कुनै प्रतिक्रिया वा टिप्पणी गर्नुको अर्थ नभएको विपक्षी गठबन्धनले टिप्पणी गरेका छन् ।

विपक्षी गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले अल्पमतमा परेको सरकारले कार्यान्वयन नै नहुने अवस्था रहेको कारण यसको टिप्पणी आवश्यक नभएको बताएका हुन् ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको धारा १८४ लाई छल्नका लागि मात्रै नीति तथा कार्यक्रम ल्याइएको बताए । 

यस खालको नीति तथा कार्यक्रमले प्रदेशबासीको अपेक्षा पनि पूरा गर्न नसक्ने र कार्यान्वयनमा नजाने नीति तथा कार्यक्रमले नयाँ या पुरानो के ल्यायो भनेर हेर्नुपर्ने कुनै अवस्था नरहेको उनले बताए ।

यस्तै काँग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम निबन्ध जस्तो रहेको बताए । ‘सबै टाकनटुकन १५ दिनमै प्रदेश आमूल परिवर्तन होलाजस्तो ल्याएको छ । यो कार्यान्वयन नै हुँदैन,’ राईले भने, ‘बजेटको अवस्था एकातिर छ अर्कोतिर यो सरकार अल्पमतमा छ । सायद भरे १२ बजेसम्ममा प्रदेश सभाको अधिवेशन अन्त्य गर्नुहोला । जम्मा १५ दिनका लागि यो नीति तथा कार्यक्रम नल्याएको भए हुनेथियो, यसमा खास नौलो कुरा केही छैन । उहाँहरुको घोषणापत्र जस्तो पनि छ ।’

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले अल्पमतमा परेको सरकार रहेकोले यो कार्यक्रम पास नहुने र कार्यान्वयन नै नहुने बताए ।

 ‘चन्द्रमामा मान्छे पुर्यायो भने मान्छे बाँच्छ बाँच्दैन होला भन्ने जस्तो बहसको अर्थ छैन,’ उनले भने, ‘पुरानै विषयहरू कार्यक्रममा रहेको भए पनि अल्पमतमा रहेको नीति तथा कार्यक्रम पास नै नहुने भएकोले यसको कुनै अर्थ छैन । अर्को नीति तथा कार्यक्रम बन्छ । यो समय कटनी मात्रै हो ।’

उता, सत्तारुढ दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नीति कार्यक्रम ल्याउनै पर्ने सरकारलाई बाध्यात्मक व्यवस्था नरहेको बताए । 

तर सरकारले संसदको अधिवेशन अन्त्य गर्नेतिर भन्दा पनि स्वभाविक ढंगले नीति तथा कार्यक्रम ल्याएको र छलफल गरेर पारित हुने भण्डारीले विश्वास व्यक्त गरे । ‘सामान्य परिस्थितिमा बाहेक बजेट संसदबाटै ल्याइन्छ,’ अब बजेट पनि संसदमै आउँछ भन्ने प्रश्नमा उनले भने, ‘मधेश प्रदेशमा एमालेले सरकारलाई समर्थन दिएको कारण कोशी प्रदेशमा पनि जे हुनसक्छ ।’ 

उनले नीति तथा कार्यक्रममा केही नयाँ कुरा आएको पनि बताए । नयाँ कार्यक्रमको रुपमा कोशी–खुवालुङ जलयात्रा आएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ