arrow

ज्येष्ठ नागरिकलाई सम्मान र माया नेपालमा बढी : मन्त्री सिंखडा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
jestha nagarik.jpg

पोखरा । पोखरामा ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । गण्डकी प्रदेश ज्येष्ठ नागरिक संघको आयोजना तथा पोखरा वृद्धाश्रमको सहआयोजनामा पोखरामा ‘सचेतना कार्यक्रम’ गरेर ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले ज्येष्ठ नागरिकलाई सम्मान र मायाको खाँचो रहेको भन्दै विदेशमा भन्दा नेपालमा ज्येष्ठ नागरिकलाई सम्मान र माया दिइने गरेको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘विदेशमा ज्येष्ठ नागरिकले नाति नातिनी हेर्दैनन् । अनि नाति नातिनीले पनि हजुरबा, हजुरआमालाई वास्ता गर्दैनन् । तर नेपालमा हजुरबा, हजुरआमाले नाति नातिनी स्याहार गर्छन् । अनि नाति नातिनीलेपनि हजुरबा, हजुरआमालाई आदर र सम्मान गर्छन् ।’ 

विदेशको प्रभाव नेपाली समाजमा देखिँदा ज्येष्ठ नागरिकलाई वेवास्ता गर्नेक्रम बढेको उनको तर्क थियो र उनले संयुक्त परिवार सबै हिसाबले राम्रो भएको भन्दै संयुक्त परिवारमा एकले अर्कोलाई सघाउनुपर्ने दायित्व हुने बताइन् । 

उनले भनिन्, ‘अहिलेका छोराबुहारी व्यस्त हुन्छन् । त्यसैले ज्येष्ठ नागरिकले पनि उनीहरुको व्यस्तता बुझिदिनुपर्छ । अनि छोरा बुहारीले पनि ज्येष्ठ नागरिकलाई आदर, सम्मान र माया दिनुपर्छ ।’

नेपाल मानव अधिकार आयोग प्रदेश कार्यालय पोखराका अधिकृत टंक खनालले ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार र हिंसा हटाउन सचेतना आवश्यक रहेको बताए । 

ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुर्व्यवहार सहन पनि नहुने र टुलुटुलु हेरेरपनि बस्न नहुने उनले स्पष्ट पारे । 

गण्डकी प्रदेश ज्येष्ठ नागरिक संघका अध्यक्ष कुसुमकेशव पराजुलीले ज्येष्ठ नागरिकप्रति दुर्व्यवहार र हिंसा बढ्दो क्रममा रहेको बताए । त्यसको रोकथामका लागि ऐन, कानून र नियमावली बनेपनि कार्यान्वयन चित्तबुझ्दो नभएको उनको गुनासो छ ।

गण्डकी प्रदेश ज्येष्ठ नागरिक संघका उपाध्यक्ष अमर शर्मा उपाध्यायले ज्येष्ठ नागरिकप्रति हुने हेपाईं र हिंसा निरुत्साहित गर्नुपर्ने बताए । 

सामाजिक अभियन्ता विकल तुलाचनले सचेत व्यक्तिले मात्र दयाभाव राख्ने भएकाले ज्येष्ठ नागरिकप्रति गर्ने व्यवहारबारे सर्वसाधारणलाई सचेत बनाउनुपर्नेमा जोड दिए ।

अधिवक्ता गीता लामिछाने विष्टले ज्येष्ठ नागरिक को हुन् ? र उनीहरुप्रति कस्तो व्यवहार गर्ने ? भन्नेबारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा ज्येष्ठ नागरिकको क्षेत्रमा योगदान पुर्याउने पिताम्बर शर्मा, विकल शेरचन, हेरम्बप्रसाद कोईराला, दामोदर शर्मा, लेखनाथ शर्मा, भक्तराज श्रेष्ठ र विश्वनाथ पराजुलीलाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ