arrow

पाँच हजारमा ६६ पृष्ठको राहदानी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २ शनिबार
department-of-passport-2080.jpg

काठमाडौँ । राहदानी विभागले सेवाग्राहीलाई असार १ गतेबाट ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ । 

यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी आगामी आइतबारबाट ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो । 

परराष्ट्रमन्त्री एनपी साउदले गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानी बराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए । 

‘जनतालाई असुविधा नहोस् र सुपथ मूल्यमा फ्रिक्वेन्ट फ्लायरले लिँदै आएको पासपोर्ट सर्वसाधारणलाई उपलब्ध गराउन निर्णय गरेका हौँ,’ उनले भने । 

यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट फ्रिक्वेन्ट फ्लायर (समय–समयमा विदेश गइरहने) लाई ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो । 

यस्तै सामान्यतया विदेश जाने सेवाग्राहीलाई विभागले ३४ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा दिँदै आएको थियो । 

विभागले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयहरु र विदेशस्थित सबै नेपाली नियोगहरुलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराएको विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिइन् । 

परिपत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन गरिएको र असार ३ गतेबाट संशोधित दस्तुर लागु गर्न निर्देशन दिइएको छ । राहदानी दस्तुरसम्बन्धी व्यवस्था पूर्ववत् रहेको निर्देशक सापकोटाले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ