arrow

डडेल्धुराका चार पालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
typhoid-vaccine-2078-12-24.jpg

डडेल्धुरा ।  डडेल्धुरा जिल्लाका चार पालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका, भागेश्वर गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो ।

गन्यापधुरा गाउँपालिकाबाट शुरुआत गरिएको घोषणा कार्यक्रम अहिलेसम्म चार वटा पालिकामा सम्पन्न भइसकेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदले जानकारी दिए । उनका अनुसार गन्यापधुरा गाउँपालिकापछि भागेश्वर गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ ।

अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका र नवदुर्गा गाउँपालिकामा घोषणा गर्न बाँकी रहेको साउदले बताए । उक्त पालिकामा पनि घोषणा गर्ने तयारी भइरहेको बताइएको छ । जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख तथा पूर्ण खोप जिल्ला समन्वय समितिका संयोजक गगनसिंह भण्डारीले अहिलेसम्म घोषणा गरिएका पालिकामा उत्कृष्ट काम भएको छ । यसमा विषेशगरी स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलगायतको भूमिका महत्त्वपूर्ण रहेको जानकारी दिए ।

पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाएर पालिकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु पर्दछ । सबै पालिका घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घाषणा गरिने छ । बालबालिकालाई प्रत्येक महिना नै १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ । नियमित खोपबाट छुटेका बालबालिकालाई माघदेखि वैशाखसम्म खोज र खोप अभियान चलाउने गरिएको छ । 

छुटेका बालबालिकालाई अभियानले समेटेपछि पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्ने गरिएको हो । खोपका विभिन्न सूचाङ्क पार गरेका स्थानीय तह र खोप लगाउनबाट कोही पनि वञ्चित नरहेका पालिकालाई घोषणा गरिएका छन् । अब अन्य पालिकालाई पनि खोज र खोप लगाऊ भन्ने अभियानलाई तीव्र पारी जिल्ला नै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला भनेर घोषणा गर्ने तयारीमा रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ