arrow

बेथानचोकका साठी वर्षमाथिका बिरामीलाई निःशुल्क उपचार 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० असार ११ सोमबार
bethanchowk-gaupalika-2080-03-10.jpg

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आर्थिक वर्ष २०८०–८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । उक्त कार्यक्रम १३ औं गाउँसभाबाट सर्वसम्मत पारित पनि भएको छ । 

गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा गाउँपालिकाभित्र पूर्वाधार विकासअन्तर्गत गाउँपालिकाभित्र कम्तिमा ५ किलोमिटर सडक कालोपत्रे तथा ढलान गरिने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । 

दुर्लङखोला च्याम्राङवेसी सुरुङ मार्ग, बाघद्धार खोला बहुउद्देश्यीय ताल निर्माण, बेथानचोक एकिकृत शहरी विकास कार्यक्रमलगायत पूर्वाधार विकासका कार्यक्रम यस नीतिमा समावेश छन् । कृषिलाई आधुनिकिकरण गर्नका लागि पशुमा कृतिम गर्भाधानलाई निःशुल्क गरिने भएको छ । 

युवा उद्यमीका लागि सहुलियतको कर्जा पनि कार्यक्रमले समेटेको छ ।

यस्तै बेथानचोक गाउँपालिकाबारे स्नातकोत्तर र विद्यावारिधि तहमा शोधपत्र तयार गर्ने विद्यार्थीले प्रति शोधपत्रबापत १ लाख रुपैयाँ सहयोग पाउने भएका छन् । 

देश विदेशसम्म गाउँपालिकाको प्रचारप्रसार गर्ने अपेक्षासहित यस्तो नीति ल्याइएको गाउँपालिकाले जनाएको छ । त्यस्तै, ६० वर्ष पुगेका नागरिकहरुलाई निःशुल्क होल बडी चेकअप गर्ने, बेथानचोकका महिलाहरुले गाउँपालिकाबाहिरका अस्पतालमा गएर सुत्केरी गराउनुपर्ने अवस्था भएमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने,  मधुमेह तथा उच्च रक्तचाप नियन्त्रणका लागि ४० वर्षमाथिका सबै नागरिकहरुको स्वास्थ्य संस्थाबाट स्क्रिनिङ गरी निःशुल्क उपचारको व्यवस्था मिलाइनेलगायत विषय नीति तथा कार्यक्रममा समेटिएका छन् । 

गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि एग्रो टुरिजम तथा इको टुरिजमको प्रवद्र्धन गर्ने नीति ल्याएको छ । बेथानचोकका धार्मिक, सांस्कृति तथा ऐतिहासिक वस्तुको संरक्षण तथा प्रवद्र्धनका लागि बेथानचोक म्युजियम स्थापना गर्ने, राष्ट्रिय तथा विदेशी शहरसँग भगिनी सम्बन्ध स्थापनका लागि प्रयास गर्ने, बेथानचोक नारायणस्थान जानका लागि नीजि क्षेत्रको सहकार्यमा केबलकारको विकास गरिनेलगायत कार्यक्रम पर्यटन नीतितर्फ समावेश छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ