arrow

सडकमा छाडा कुकुरको बिगबिगी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
nadipurr.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ का स्थानीयले सडकमा छाडा कुकुर बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले छाडा कुकुरका कारण घर वरिपरिको वातावरण प्रदुषण भएको, सडक दुर्घटना हुने भएको र कुकुरकै कारण छिमेकीबीचमा मनमुटाव समेत हुने गरेको दुःखेको पोखेका छन् ।

रेडियो सफलतासँगको सहकार्यमा वडा कार्यालय पोखरा-३ ले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले यस्तो दुःखेसे पोखेका हुन् । 

सहभागीले वडाबाट हुने सेवा प्रवाह, विकास निर्माण, फोहोर व्यवस्थापनका साथै समसामयिक विषयमा चासो राखेका थिए । 

शान्तिवारी महिला मिलन समूह पोखरा-३ की अध्यक्ष गीता कुमारी अधिकारी कुँवरले बिहान घर वरिपरि रहेका कुकुरहरु लखेटेर र कुकुरको दिसा उठाएर मात्रै आफ्नो दैनिकी सुरु हुने बताइन् । उनले आफूले कुकुर नछाड्न भनेर छिमेकीसँग आग्रह गर्दा उल्टै झगडा गरेर बोलचाल नै बन्द भएको दुःखेसो पोखिन् । 

स्थानीय कविता बराल लम्सालले छाडा कुकुरले निकै दुःख दिने गरेको भन्दै यसका लागि टोल विकास संस्था, वडा कार्यालयमा गुनासो गर्दा पनि सुनुवाई नभएको बताइन् । 

उनले भनिन्, ‘सडकमा कुकुर कराउँदा रातभर सुत्नै सकिन्न । घर वरपर फोहोर गरिदिन्छ, सफा गरेर साध्यै लाग्दैन । अर्कोतर्फ कुकुर मोटरसाइकलमै झुण्डिन पुग्दा दुर्घटना बढेको छ भने बालबालिकालाई टोक्ने डर उत्तिकै छ ।’

वडा सदस्य सनकमान सिकेले सडकमा कुकुर नछाड्न पटक पटक आग्रह गर्दा पनि कतिपयले अटेर गरेको बताए । उनले कुकुरको दिसाबाट हुने जोखिम र अन्य जोखिमका बारेमा जानकारीसहितको पोष्टर प्रिन्ट गरेर घरघरमा वितरण गरेको भएपनि स्थानीयले नै अटेर गरेको स्पष्ट पारे । 

उनले भने, ‘पहिलाका कुकुर फोहोरमा बस्थे, फोहोर खानेकुरा खान्थे अनि फोहोरमै दिसा गर्थे । अहिलेका कुकुर सफा खानेकुरा खान्छन् अनि सफा ठाउँमै दिसा गर्न खोज्छन् ।’ छाडा कुकुर नियन्त्रणका लागि वडा कार्यालयले प्रयास गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रममा वडावासीले उठाएका जिज्ञासा र गुनासो संवोधन गर्दै वडाध्यक्ष प्रकाशमान उदासले वडावासीको सेवामा आफै सधैं लागिरहने प्रतिवद्धता जनाए । उनले सीमित बजेटले वडावासीका सबै आवश्यकता पूरा गर्न नसकिने भन्दै क्रमिकरुपमा काम गरिँदै आएको बताए । 

विगतमा भन्दा यस पटक बजेट घटेर आएको भन्दै यस पटक पूरा नभएका योजना आगामी वर्षमा पूरा गर्ने प्रतिवद्धता जनाए । 

वडा सचिव चन्द्रवती पौडेलले गतवर्षको सम्पन्न भएका र निर्माणाधीन अवस्थाका योजनाहरुका बारेमा चर्चा गरेकी थिइन् । उनले नागरिकले पाउने सेवा सहज र सरल बनाउन वडा कार्यालयले पूरै प्रयत्न गरिरहेको बताइन् । उनले पोखराका ३३ वडामध्ये पोखरा-३ उत्कृष्ट वडाको रुपमा घोषित भएको समेत जानकारी दिइन् । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, नेकपा एमालेका वडा सचिव विष्णुशंकर खैंजु, राप्रपाका अध्यक्ष मोतीमान शाक्य, सामाजिक अभियान्ता पार्वता पौडेल, वडा सदस्य शान्तिदेवी पराजुली लगायतले विकास निर्माणका सवालमा राजनीति गर्न नहुने बताएका थिए ।

वडाध्यक्ष उदासको अध्यक्षतामा भएको कार्यक्रममा रोडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी र स्टेसन म्यानेजर मधु अधिकारीले सहजीकरण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ