arrow

भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
minbahadur-gurung-bhatbhateni.jpg

काठमाडौँ । प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई  पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गुरुङलाई पक्राउ गरेको हो । 

सीआईबी स्रोतका अनुसार ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपी रहेका थिए । यसअघि उनी फरारको सूचीमा रहेका थिए ।

ललिता निवास जग्गा प्रकरण सरकारले छानबिन गरेको प्रतिवेदन अनुसार सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्ति र मुआब्जा दिएर खरिद गरेको २८४ रोपनी मध्ये ११२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतोमा खरिद गरेको देखिन्छ ।  

गुरुङले नै एनआरएनलाई पनि बालुवाटार जग्गामा जोडेका थिए । सरकारी अनुसन्धान अनुसार उनले व्यक्तिगत, संयुक्त, भाटभटेनी सुपरमार्केट र आफन्तका नाममा जग्गा खरिद गरेका थिए ।

कित्ता नम्बर ७४, १३७, ४१३ का जग्गाहरु गुरुङले आफ्नै नाममा लिएका थिए । गुरुङले भाटभटेनी डेभलपर्स प्रालीका नाममा १० कित्ता जग्गा राखेको देखिन्छ । 

कित्ता नम्बर १०, १२, १४, १७, ५७, ५८, ७९, ८१, ८२ र २८६ को जग्गा अहिले पनि भाटभटेनीको नाममा छ । बाँकी जग्गा छोरो कल्याण लगायतका आफन्तका नाममा राखिएको छ । 

जग्गा हिनामिना गर्न १९८७ साल राणा प्रधानमन्त्री भीमशमशेरको पाला को लालमोहर, २०२३ सालमा तत्कालीन बागमती अञ्चलाधीश कार्यालयले स्वामित्व नरहने गरी खेतीपाती गर्न दिइएको पत्र, २०४७ सालमा मन्त्रिपरिषदबाट भएका निर्णयको अपव्याख्या गरी २०४९ मा भएको जग्गा फिर्ता एवं त्यसलाई टेकेर २०५८, २०६२, २०६६र६७ र २०६९ सालको बीचमा किर्ते कागजात बनाएका तथ्य सीआईबीले संकलन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ