arrow

बजेटमाथि मन्त्रालयगत छलफल जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
Gandaki pradesh sabha bhawan.jpg

पोखरा । गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफल जारी छ ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश लोकसेवा आयोगलगायत प्रतिष्ठान र निकायसँग सम्बन्धित शीर्षकहरुमा छलफल भयो ।

यही असार ८ गते प्रदेशसभा समक्ष प्रस्तुत भएको विनियोजन विधेयक-२०८० माथि मङ्गलबारदेखि छलफल सुरु भएको थियो । मङ्गलबारको प्रदेशसभा बैठकमा उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल गरिएको थियो ।

मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले बजेटबारे पक्ष र विपक्षमा आआफ्ना धारणा राखेका छन् ।

बुधबारको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य हरिबहादुर चुमानले बजेट वितरणमुखी नभई परिणाममुखी रहेको बताए । उनले भौतिक, ऊर्जालगायत मन्त्रालयले टुक्रे योजना कटौती गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरे ।

प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले प्रदेश सरकारले जनमुखी बजेट ल्याएको धारणा राखे । उनले पोखराका तालमा हुने दुर्घटना न्यूनीकरणका लागि अस्थायी सुरक्षा पोष्ट स्थापना, कारागार सुधार र व्यवस्थापन लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएकामा सन्तोष व्यक्त गरे । आन्तरिक आय वृद्धिका लागि आर्थिक मामिला मन्त्रालयले ल्याएको योजना कार्यान्वयन हुनुपर्नेमा उनको जोड थियो । 

प्रदेशसभा सदस्य रोशनबहादुर गाहा थापाले शक्ति र पहुँचका आधारमा बजेट बाँडफाँट गरिएको आरोप लगाए । प्रदेशसभा सदस्य बिन्दु पौडेल, भक्तबहादुर कुँवरलगायतले छलफलमा भाग लिएका थिए । 

यही असार १ गते सार्वजनिक गरिएको आगामी आव २०८०/८१ को बजेटमाथिको छलफल सकिएपछि मन्त्रालयगत शीर्षकमा छलफल सुरु भएको हो ।

छलफलका क्रममा उठेका विषयमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । विनियोजन विधेयकसँगै आर्थिक विधेयकमा छलफल भएपछि बजेट पासको प्रक्रिया अगाडि बढ्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ