- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पत्रु खानाले शरीरको भित्री अङ्ग बिगारेजस्तो अहिले शिशु अवस्थादेखि नै टिभी-मोबाइल देखाएर खाना दिने आमाबाले बच्चाहरूको मस्तिष्कमा यस्ता वस्तुले खराबी गर्छन् भन्ने थाहा पाएका छैनन् । वा, यसबाट त पत्रु खाना खाएजस्तो खराबी हुँदैन भन्ठान्छन् ।
मैले काठमाडौँका कति घरमा देखेकी छु- ६ महिनादेखि (पास्नीपछि) शिशुले खाना खान आनाकानी गरे, मोबाइलमा कार्टुन वा फिल्म लगाइदियो, त्यो हेर्दै बच्चाले खाएपछि ‘ल, यसले त सबै खायो’ भनेर आमाबा दङ्ग पर्ने गर्छन् । तर यसले शिशुलाई त ‘कुलत’ मा फसाइसकेको हुन्छ । अनि मोबाइल नहेरी खानै नखाने भएपछि शिशुको मस्तिष्कको विकास नै राम्ररी हुन पाउँदैन ।
मैले एक ठाउँ पढे अनुसार, भारतमा रेलमा यात्रा गर्दै गर्दा एउटी आमाले राति नौ बजेतिर २० महिनाको बालकलाई खाना खुवाउने सुर गरिछन्, तर बच्चाले चिच्याएर खानै मानेनछ । रेलमा इन्टरनेट नभएकाले आमाबाले उसलाई घरमा जस्तै गरी कार्टुन देखाउन सकेनन् । कार्टुन नदेखाई खानै नखाने २० महिनाको बालकको रेलमा त्यो चाला देखेर आमालाई होस आएछ, ‘छोरालाई कार्टुन देखाएर बडो गल्ती गरिएछ ।’ रक्सी र चुरोटको नशा लागेको व्यक्ति जसरी नशा नखाई बस्नै सक्दैन, त्यसरी नै बालबालिकालाई सानैदेखि टिभी-मोबाइल देखाउँदै खाना खुवाउने गरेपछि अनेक समस्या आइलाग्छन् ।
यस्तो ‘कुलत’ बारे विश्व स्वास्थ्य सङ्गठन पनि मुखर भएको छ । अनेक जनस्वास्थ्य विज्ञ, बाल रोग विज्ञ, मनोचिकित्सकहरूले समेत समाजमा बढिरहेको यो समस्याबारे बोल्दै आएका छन् । खाना खाँदा र अन्य समयमा पनि मोबाइलमा कार्टुन र फिल्म हेर्ने लत शिशु र बालबालिकाको दिमागका लागि बडो घातक हुन्छ भन्छन् बाल रोग विज्ञहरू ।
सानो उमेरमा बच्चाको मस्तिष्कले नयाँ नयाँ कुरा सिकिरहेको हुन्छ । त्यस बेला टिभी-मोबाइलमा कार्टुन हेर्ने बानी बसे मस्तिष्कको विकास नै हुन पाउँदैन । विशेषज्ञहरू भन्छन्, ‘जसरी दुई वर्षभन्दा मुनिको बच्चालाई कुनै पनि हालतमा पत्रु खाना दिनु हुँदैन, त्यसरी नै दुई वर्षभन्दा सानो उमेरकालाई टिभी-मोबाइल हेर्नै दिनु हुँदैन ।’
दुई वर्षदेखि पाँच वर्षसम्मका बच्चाका लागि दिनमा एक घण्टा ‘स्क्रिन टाइम’ (टिभी-मोबाइल हेर्ने समय) तय गर्न सकिन्छ, त्यो पनि लगातार होइन । दिनभरिमा अलिअलि गरी । टिभी-मोबाइलमा एक घण्टाभन्दा बढी समय बिताउँदा बाल मस्तिष्कमा अनेक समस्या उत्पन्न हुन सक्छन् ।
बच्चाले खाना नखाँदा पहिले पहिले आमाबा, बाजे बज्यै त फकाएर फल, चरा, बिरालाका कथाको सहारा लिने गर्थे । त्यस्ता कथा सुनाउँदै खुवाउँथेँ । अहिले अभिभावकसँग बच्चालाई कथा हालेर कुराकानी गर्ने फुर्सद छैन अनि टिभी-मोबाइल देखाएर खुवाउँछन् । यसले गर्दा बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव पर्दै जान्छ, उसको कल्पनाशीलता हराउँछ । उफ्रनु, चटपटाउनु, चकचक गर्नु, दौडनुको सट्टा उसले टिभी-मोबाइल बढी मन पराउँछ र उसको मस्तिष्कमा रङ्गीचङ्गी टिभी र मोबाइलकै संसार बस्छ ।
बच्चाहरूलाई टिभी-मोबाइलमा भुलाई रहँदाको खतराबारे भारतमा भएका अनुसन्धानहरूले ‘समस्या हामीले सोचेभन्दा धेरै गहिरो रहेको’ देखाउँछन् । नेपालमा भारतमा जस्तो यसरी स्क्रिन टाइमको कुलतबारे अध्ययन-अनुसन्धान त भएको छैन तर समस्याचाहिँ रहेको विभिन्न मानसिक रोग विज्ञहरू बताउँछन् । बेङ्लोरको मानसिक रोग अस्पतालका डाक्टरले भनेका छन्, ‘हामीकहाँ हप्तामा २०-२२ जना अभिभावक यस्तो कुलतको समस्यामा परेका आफ्ना बालबालिका लिएर आउँछन् । कति जनामा त काउन्सिलिङपछि बिस्तारै सुधार देखिँदै आउँछ, कति जनालाई चाहिँ अस्पतालमै भर्ना गर्नुपर्ने हुन्छ ।’
विचार गर्नुस् त, रक्सीको कुलत छुटाउनेजस्तै गरी यदि बालबालिकालाई टिभी-मोबाइल हेर्ने कुलत छुटाउनुपर्ने भयो भने कस्तो लाग्दो होला ? यस्तो कुलत भएका बच्चाहरूमा अहिले देखा परेको मानसिक समस्या हो- आमाबा, घरका मान्छे, साथी, घरमा आउने पाहुना कोहीसँग पनि गफ गर्न नचाहनु; एक्लै धुमधुमती बसिरहनु । ती डाक्टरका अनुसार, उक्त अस्पतालमा एक चोटि यस्तो बच्चालाई ल्याइएको थियो, जो आमा बासँग आमनेसामने बोल्दै बोल्दैनथ्यो, मोबाइलमा मात्रै कुरा गर्थ्यो । यसले गर्दा उसलाई डिप्रेसन भयो । आमालाई यति तनाव भएछ कि परिवार नै टुक्रिने अवस्थामा पुगेको थियो ।
बच्चालाई खाना खुवाउँदा टिभी वा मोबाइल नदेखाई आफैँले गीत गाउने, कविता-कथा भन्ने, कोठामा भएका विभिन्न सामान वा रङ्गीचङ्गी किताब देखाउने बानी गर्नुपर्छ । मेरी नौ महिनाकी नातिनीलाई पनि केही खुवाउन सजिलो थिएन । कहिले फूलपात देखाएर, कहिले घण्टी बजाएर, कहिले किताब देखाएर कथा भन्दै खाना खुवाइयो । कहिले दुइटा कचौरा बजाएर, कहिले कुकुर र बिरालोको स्वर निकाल्दै पानी र दूध खुवाइयो । यसो गर्दा आफूलाई सजिलो त भएन तर नातिनीलाई टिभी-मोबाइलको ‘रङ्गिन दुनियाँको काला जादु’ बाट सकेसम्म बचाइयो । उनी अहिले १३ महिनाकी भइन् ।
शिशु र बालबालिकाको मस्तिष्कलाई टिभी-मोबाइलको कुलतबाट बचाउन हरेकले आफ्नै तरिकाले समाधान निकाल्लान् तर एउटा सजिलो चाहिँ- आँगनमा घुमाएर अनेक कुरा देखाउँदै कथा बनाई सुनाउन, अनेक रङ्गिन कलमले चित्र बनाउन लगाउन सकिन्छ । बच्चाहरूले ३ देखि ६ महिनादेखि नै तपाईँले बोलेको कुरा बुझ्न सक्छन् । त्यसैले उनीहरूसँग बोलेको बोल्यै गर्नुपर्छ । शिशुलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाएर हुर्काउने कि अस्वस्थ बनाएर समस्यामा पार्ने, ? अभिभावकहरूले विचार गरौँ ।