arrow

गण्डकीमा १८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
dhan ropai asar 15.jpg

गण्डकी । असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा १८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार १७ हजार एक सय ७४ हेक्टरमा रोपाइँ भएको हो । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ ।

असार १५ सम्ममा सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार लमजुङमा २७, तनहुँमा २०, बागलुङमा २०, पर्वतमा १४, गोरखामा १२, स्याङजामा १२ र म्याग्दीमा १२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ खेतीयोग्य जमिनमध्ये यस वर्ष ९७ हजार आठ सय ९१ हेक्टरमा वर्षे धान लगाइने अनुमान निर्देशनालयको छ । गत वर्ष एक लाख चार हजार छ सय २३ हेक्टरमा वर्षे धान खेती गरिएको थियो ।

निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले धान खेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएका बताए । उनका अनुसार गोरखाको छेवेटार, पालुङटार, आरुघोटा सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाडीखोला, पामे, लेखनाथ, पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत क्षेत्र धानका प्रमुख पकेट क्षेत्र हुन् ।

गण्डकी प्रदेशका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनसुली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन् । केही दिनयता मनसुन सक्रिय भएसँगै किसान रोपाइँको चटारोमा रहेका भन्दै अधिकांश क्षेत्रको रोपाइँ असारभित्रै सकिने प्रमुख रेग्मीले बताए । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ