arrow

नेपालमा घट्ला त ग्यासको मूल्य ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौँ । लामो समयपछि भारतबाट खाना पकाउने एलपीजी ग्यासको मूल्य घटेर आएको छ । मूल्य घटेर आएपछि अहिलेसम्म घट्न नसकेको ग्यासको मूल्य नेपालमा पनि घट्ने आशा गरिएको छ । 

नेपाल आयल निगमका प्रवक्ता इञ्जिनियर मनोजकुमार ठाकुरले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नयाँ मूल्य सूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको बताए । 

उनले यो मूल्यसँगै लामो समयदेखि घाटामा रहेको ग्यासको मूल्य बराबरीमा आएको बताए । उनले अहिलेसम्म प्रतिसिलिन्डर १६० रुपैयाँ घाटामा रहेकामा अहिले आएको मूल्य अनुसार १६१ रुपैयाँ घटेर आउँदा अब हरेक सिलिन्डरमा एक रुपैयाँमात्र नाफा भएको उनले बताए । 

मूल्य घटेर आएसँगै अहिले ग्यासको मूल्य घट्ने सम्भावना नरहेको उनले बताए । प्रवक्ता ठाकुरका अनुसार अहिले विश्वमा ग्यासको खपत घटेका कारणले गर्दा मूल्य घटेर आएको हो । उनी भन्छन्, ‘युरोपमा  यसको बढी खपत हुने गर्छ । अहिले कम खपत भएकाले पनि मूल्य घटेको हो । भदौ महिना लाग्नासाथ फेरि यसको भाउ बढ्छ ।’

आखिर किन त ? भन्ने प्रश्नमा उनले भने, ‘युरोपतिर कोठा तातो गराउनका लागि ग्यासको प्रयोग बढी हुने गरेको छ । अहिले जताततै गर्मी भएका कारणले पनि ग्यासको खपत कम भएको छ । तर यो भदौ लाग्नासाथ बढ्दै जानेछ ।’

आईओसीले पेट्रोलमा १४ पैसा र मट्टीतेलमा ५ पैसा घटाएर पठाएको छ। तर डिजेलमा प्रतिलिटर दुई रुपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा बढाएर पठाएको छ। 

हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५ रुपैयाँ, डिजेल र मट्टीतेल एक सय ५५ रुपैयाँ, हवाई इन्धन आन्तरिक एक सय ६० रुपैयाँ र बाह्य एक डलर ३५ सेन्ट  र खाना पकाउने एलपीजी ग्यास सिलिन्डरको १८ सय रुपैयाँ छ।

आईओसीले हरेक १५ दिनमा नयाँ मूल्य तोकेर पठाउने गर्छ । नयाँ मूल्यअनुसार पन्ध्र दिनमा एक अर्ब ६० करोड रुपैयाँ नाफा हुने प्रवक्ता ठाकुरले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ