काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान आतंकवादको स्रोत रहेको खरो टिप्पणी गरेपछि चीनले पाकिस्तानको बचाउ गरेको छ । ब्रिक्स सम्मेलनमा आफ्नो धारणा राख्ने क्रममा प्रधानमन्त्री मोदीले टिप्पणी गरेका थिए ।
चीनका पराराष्ट्र मन्त्रालयका प्रवक्ता हु चुनयिङले भारत र पाकिस्तान दुबै आतंकवादको पीडित रहेको सबैलाई थाहा भएको जनाएकी छिन् । यद्यपि, पाकिस्तान स्वयँले पनि आतंकवादविरुद्ध लड्न ठूलो संघर्ष र त्याग गरेको बताउँदै सो कुराको अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नु पर्ने बताइन् ।
प्रवक्ता हुले पाकिस्तानमाथि मोदीले गरेको टिप्पणीको ध्यान आकर्षण गराउँदै चीनले सबै किसिमको आतंकवादको विरोध गर्ने र आतंकवादविरुद्ध अन्तर्राष्ट्रिय समुदाय पनि सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘हामी कुनै राष्ट्र जाति वा धर्मसँग जोडिएको आतंकवादी गतिविधिको विरोध गर्छौँ। यो चीनको निरन्तर अडान हो ।' चीन र पाकिस्तानबीच कुटनीतिक, आर्थिक र सुरक्षा मामिलामा समुधुर सम्बन्ध रहेको मानिन्छ ।
गत सेप्टेम्बरमा उरी हमलामा १९ जना भारतीय सैनिक जवानको मृत्यु भए पछि भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ । –एजेन्सीको सहयोगमा