arrow

बाढीपिडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री समक्ष माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
prachanda-always-2080-02-20.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवं प्रतिनिधीसभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन् ।

सांसद खड्काले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर यही असार २ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट पीडित जनतालाई सङ्घीय सरकारका तर्फबाट राहतको व्यवस्था मिलाउन आग्रह गरेका हुन् । 

उनले सङ्खुवासभामा बाढीबाट १८ घरमा क्षति पुगेको, चार जलविद्युत् आयोजनामा पूर्ण क्षति र छ जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको बताए । 

बाढीले नहर तथा कुलो बगाउँदा कतिपय स्थानमा अहिलेसम्म पनि रोपाइँ हुन नसकेकाले आगामी दिनमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना हुने भन्दै उनले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए । 

बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत १९ मजदुर बेपत्ता भएका थिए । तीमध्ये दुई जनाको शव फेला परेको छ ।  तीनजना घाइतेको उद्धार गरिएको थियो । 

सङ्खुवासभाको हेवाखोलामा आएको बाढीले चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने पक्की पुल बगाएको थियो भने चैनपुर नगरपालिकाको निर्माणाधीन पुल बगाएको थियो । सांसद खड्काले पुल बगाउँदा आवतजावतमा समेत समस्या भएको बताए ।

भेटमा प्रधानमन्त्री दाहालले सरकार बाढीपीडित जनताको साथमा सधैँ रहेको उल्लेख गर्दै जनताको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पूर्वी पहाडी जिल्लाको बाढीपहिरोको बारेमा आफू पूर्ण जानकार रहेकाले त्यसको समस्या समाधानका लागि सरकारले कदम चालेको बताए । बाढीबाट क्षति पुगेको पुलमा तत्काल बेलिब्रिज हाल्नका लागि निर्देशन दिइसकिएको प्रधानमन्त्री दाहालले सो अवसरमा जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ