arrow

योगदर्शनको सामाजिक प्रभावबारे बहस

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
yoga.jpg

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञान, विज्ञान, दर्शनलगायत सबै विषयको मूल स्रोत समाज नै भएको बताएका छन् । 

उनले पूर्वीय योगदर्शनलाई पश्चिमाले समेत व्यापक बनाइसकेकाले यसको व्यापक खोजअनुसन्धान गर्दै थप सामाजिकीकरण गर्नुपर्ने बताए । 

प्रज्ञा-प्रतिष्ठान, सामाजिकशास्त्र विभागले डा टिपी धमलाद्वारा लिखित कार्यपत्र ‘योगदर्शनको सामाजिक प्रभाव’ विषयक  विचार गोष्ठीको उद्घाटन गर्दै उनले सो विचार व्यक्त गरेका हुन् ।   

प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले पूर्वीयदर्शनमा योगको सामाजिक  प्रभावको  व्यापकतालाई सुव्यवस्थित गर्नु सबैको दायित्व भएको बताए ।

प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा कौशिला रिसालले योगको सैद्धान्तिक, सामाजिक र व्यावहारिक पक्षलाई आत्मसात् गर्दै स्वच्छ र स्वस्थ जीवनयापनका लागि योगदर्शनको शिक्षालाई व्यापक तुल्याउन सक्नुपर्नेमा जोड दिए । 

सदस्य धर्मेश पोखरेलले योगदर्शन र साधना आत्मिक चिन्तन भएको र यसको सामाजिक आयामका बारेमा व्यापक छलफल हुनुपर्ने बताए ।

कार्यपत्र प्रस्तुत गर्दै डा धमलाले योगले चित्तका वृत्ति, मनका गुण, योगका बिघ्न, क्लेश आदिको समाधान गरी चेतना विज्ञानको कार्य गर्ने बताए ।

“यसले अज्ञानता हटाई जीवनलाई दिव्य बनाउँछ, यी सम्पूर्ण पक्षको उपलब्धि हासिल गर्नका लागि योगको आवश्यकता पर्दछ, जसले स्वस्थ शारीरिक, स्वस्थ मानसिकता, आनन्दानुभूति मानव, महामानव र दिव्यमानव बनाउन सक्छ”, उनले भने । 

कार्यपत्रको टिप्पणी गर्दै डा माधवप्रसाद उपाध्यायले योग साधना स्वास्थ्यवद्र्धधक, भौतिक उन्नति, आध्यात्मिक चेतना, सांस्कृतिकलगायत क्षेत्रमा व्यापक रहेको र यसको सामाजिकीकरणका बारेमा थप व्याख्या हुनुपर्नेमा जोड दिए ।  

यसैगरी योगदर्शनको सामाजिक प्रभाव विषयक कार्यपत्र तथा विचार गोष्ठीका सहभागी सर्वराज आचार्यले नेपाल बहुसामाजिक, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सामाजिक विभेद र असमानताका विषयलाई चित्रण गर्नुपर्नेमा जोड दिए ।

अर्का सहभागी प्राडा श्रीराम उपाध्यायले योग र ध्यानको  बहुआयामिक र सामाजिक प्रभावलाई  सबैले ध्यान दिनुपर्ने बताए । 

यस्तै, आनन्द गैह्रेले सहभागिताका क्रममा योगको सामाजिक र आध्यात्मिक तत्वबारे व्यापक खोजी हुनुपर्ने बताए ।

यसैगरी अर्का सहभागी श्रीराम पाण्डेले योगका बारेमा  विज्ञानले पुष्टि गरेका विषयवस्तुको अध्ययन अनिवार्य रहेको बताए । 

समग्रमा योगदर्शनको सामाजिक प्रभाव र महत्वका विषयमा सो विचार गोष्ठी केन्द्रित रह्यो ।

योगदर्शनले सांस्कृतिक र जातीय विविधता, स्वास्थ्य, आर्थिक, राजनीतिक, वैज्ञानिक, वैदिक सनातन, सामाजिक समानता, असमानतालगायत विषयमा व्यापक प्रभाव पारेको चर्चा कार्यक्रममा गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ