- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप प्रयोगमा ल्याएको छ ।
बिरामीहरूको सुरक्षित र भरपर्दो शल्यक्रियाका लागि अत्याधुनिक ‘जैस किनोभो–९००’ माइक्रोस्कोप प्रयोगमा ल्याइएको केएमसीले जनाएको छ ।
ब्रेन ट्युमर र नसाको शल्यक्रियालाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो अत्याधुनिक माइक्रोस्कोप नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको केएमसीको न्यूरो विभागका प्रमुख एवं वरिष्ठ न्युरोसर्जन प्राडाअमित थापा बताउँछन् ।
‘यस्तो अत्याधुनिक माइक्रोस्कोप नेपालका कुनैपनि अस्पतालमा प्रयोगमा थिएन, नेपालमै पहिलो पटक केएमसीले प्रयोगमा ल्याएको हो,’ डा.थापा भन्छन्, ‘अप्रेशनलाई सुरक्षित र भरपर्दो बनाउन यो माइक्रोस्कोप निकै उपयोगी हुन्छ ।’
सूक्ष्म एवं जटिल शल्यक्रियामा माइक्रोस्कोप प्रयोग गरिन्छ । जर्मनबाट छ करोडको लागतमा खरिद गरेर ल्याइएको यो माइक्रोस्कोपमा रोबोटिक सिस्टम, फोरके रेजुलेशनसहितका धेरै अत्याधुनिक फिचर छन् ।
रोबोटिक माइक्रोस्कोप भएकाले यसले चिकित्सकले बनाएको अप्रेसन योजनामा काम गर्छ । यसको सहायता लिएर अप्रेसन गर्दा डाक्टरलाई अप्रेसन गर्न सजिलो हुने, अप्रेसन छिटो हुने र बिरामीलाई पनि जोखिम कम हुने डा. थापाको भनाइ छ ।
नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनील शर्माको प्रवेशसँगै स्तरीय सेवा सुविधा विस्तारलाई तीव्रता दिएको केएमसीले अहिले पनि त्यसलाई जारी राखेको छ ।
केएमसीको न्युरो विभागमा पनि धेरै परिवर्तन आइसकेको छ । गत वर्षबाट ‘रोबोटिक सर्जरी’ थालेको केएमसीले एक महिना अघि नेपालमै पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) सहितको थ्री टेस्ला एमआरआई पनि भित्र्याएको छ ।
टाउको नखोली सानो प्वाल बनाएर अप्रेसन गर्ने, दूरबिनको प्रयोगले ढाडको नसा च्यापिएको खोल्ने र चिप्लेको हाडलाई स्क्रुले आफ्नो ठाउँमा मिलाउँने, दूरबिनको प्रयोगले प्वालमार्फत टाउको भित्र जमेको रगत निकाल्ने जस्ता सेवा पनि प्रदान गरिदै आएको छ ।
दक्ष चिकित्सक र अत्याधुनिक उपकरणका कारण केएमसीमा बिरामीले स्तरीय र भरपर्दो उपचार सेवा पाउने अस्पतालका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् ।