arrow

जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौं : उपप्रधानमन्त्री खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३० शनिबार
Purna Bdr khadka.jpg

सुर्खेत । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताए । 

गृह जिल्ला सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले आज सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट-७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास-निर्माणका कामहरु अघि बढिरहेको बताए । 

उनले जनताको अपेक्षाअनुसार वर्तमान सरकारले काम गरिरहेको जिकिर गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि समग्र कर्णालीका महत्वपूर्ण विकास योजना अघि बढाइएको बताए ।  

उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोर लगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजना निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारीसमेत दिए । 

उनले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना सहर निर्माण गरेर भेरीगङ्गा उपत्यका नमूनाको आधुनिक सहर निर्माणको काम अघि बढेको उल्लेख गर्दै त्यो सहर नयाँ पुस्तालाई नासोका रुपमा हस्तान्तरण गरिने बताए । 

राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिँचाइ, विद्युतीकरण, सडक लगायतका काम गर्ने गरेर भेरी करिडोर सिँचाइ विकास योजना लगायतका ठूला विकास योजना कार्यान्वयन भइरहेको उनको भनाइ थियो । 

पूर्वी सुर्खेतका लेकवेंशी, भेरीगङ्गा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका नागरिकहरुलाई एकीकृत सेवा पुर्याउने उद्देश्यले मेहलकुनामा इलाका प्रशासनसँगै मालपोत, नापी लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय स्थापना गरिएको उपप्रधानमन्त्री खड्काले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ