arrow

सहकारी पीडितको रकम फिर्ता गर्ने कुरा आजैबाट प्रारम्भ गरियोस् – गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
gagan-thapa-2080-03-31.jpg

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितहरुको रकम फिर्ता गर्ने कुरा आजैबाट प्रारम्भ गर्न माग गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सहकारी पीडितहरु कुनै समय आफूहरुको घरमा रुवावासी गर्दै आएकामा अहिले माइतीघर मण्डलाबाट झक्झक्याइरहेको भन्दै गत बैशाखमा गठित अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनलाई टेकेर रकम फिर्ता गराउनका लागि आजैबाट प्रारम्भ गर्न आग्रह माग गरेका हुन् । 

उनले अहिलेसम्म आफूहरुले सहकारी पीडितको समस्या सुन्दै आइरहेको भन्दै अबदेखि न्याय पाएको समाचार सुन्न चाहेकोसमेत बताएका छन् । 

यसो भने गगनले, ‘केही दिनअघिसम्म हामी सांसदहरुको घरमा सहकारी पीडितहरुको रुवावासी चल्थ्यो । घरघरमा गएर रुवावासी गरेर भएन भनेर उनीहरु मण्डलामा भेला भएर हामी सबैलाई सुनाउन लागिपरेका छन् । यिनको आवाज राज्यले सुन्नैपर्छ । किनकि आज यिनको जे अवस्था भएको छ एक हदसम्म यसको जिम्मेवार राज्य पनि हो । जुन निकायले अनुगमन गर्नुपर्ने हो त्यो निकायले राम्रोसँग गरेन । अनुगमन नहुँदै गर्दाको अवस्था यस्तो हुन्छ भन्ने उसलाई थाहा थियो । तर ऊ यो अवस्था कुरेर बस्यो । जसले उसलाई काम लगाउनु पर्ने थियो ऊ पनि केबल रिबट काट्न मात्र ब्यस्त भयो । धेरै कुरा भत्किएपछि सरकारले गएको बैशाख २६ गते एउटा अध्ययन कार्यदल गठन गरेको छ । यो अध्ययन कार्यदलले २७ बुँदामा प्रतिवेदन बुझाइसकेको छ गएको सोमबार । यो प्रतिवेदनमा धेरै कुराहरु समेटिएका छन् । दीर्घकालीन यसको समस्याको समाधान गर्न सुझाइएको उपायहरु त अवलम्बन गर्न पर्छ नै तर त्यो भन्दा बढी महत्वपूर्ण कुरा जसको अहिले रकम जुन वचतकर्ताको रोकिएको छ जसले लगेका छैनन् तिनको रकम फिर्ता गराउनका लागि यो बुँदामा समेटेका कुराहरु आजैबाट प्रारम्भ गरियोस् । हामी अब सहकारी पीडितहरुको समस्या हैन उसले न्याय पाएको समाचार सुन्न चाहन्छौँ ।’  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ