arrow

‘रोयल ट्रेक’ लाई प्रवर्द्धन गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
hattimaita.jpg

पोखरा । गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक हो ‘रोयल ट्रेक’ । तत्कालीन बेलायती राजकुमार चाल्र्सले विसं २०३९ मा पदयात्रा गरेको यो पदमार्गसँगै प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि, मर्दी, सहस्राब्दी आदि चर्चित पदमार्ग छन् ।

तल्कालीन समयमा युवराज चाल्र्सले विजयपुरस्थित चाँपको चौरबाट पदयात्रा थालेका थिए । उनी पहिलो दिन विजयपुरमाथिको चिन्तेको डाँडामा पुगी रात बिताएको जनाइएको छ । दोस्रो दिन उनले कालिका, सौरे, लिपयानी, राम्चे, हुँदै स्याक्लुङको डाँडामा पुगी दोस्रो रात बिताएकम थिए । तेस्रो दिन रुपाकोटको चिसापानीमा बास बसेका चाल्र्स बेगनास तालको जङ्गलमा चौथोे रात बिताएर काठमाडौँ फर्किएको उल्लेख छ ।

युवराज चाल्र्सले पदयात्रा गरेको ‘रोयल ट्रेक’ को गरिमा र महत्त्वलाई जोगाउनका लागि यसको प्रवर्द्धन र विकासलाई कास्कीको रुपा गाउँपालिकाले प्राथमिकतामा राखेको छ । पछिल्ला समयमा यसको प्रवर्द्धनमा पर्यटनसम्बद्ध सङ्घसंस्थाले पनि जोड दिँदै आएका छन् ।

हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्य, घरबास आदिको प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो हाइकिङको ३६औँ शृङ्खला रोयल ट्रेक क्षेत्रको पचभैयाँ-रुपाताल हुँदै हात्तीमैतासम्म सम्पन्न गरेको संयोजक कृष्ण रानाभाटले जानकारी दिए ।

संरक्षण र प्रवर्द्धनको अभावमा पदमार्गहरू हराउँदै गएको वास्तविकतामा ऐतिहासिक महत्त्वको रोयल ट्रेकको महत्त्वलाई उजागर गर्ने लक्ष्यका साथ हामीले हाइकिङ सम्पन्न गरेको हौँ । विगत तीन वर्षदेखि क्लबले प्रत्येक महिनामा हाइकिङ सञ्चालन गर्दै आएको उनले जानकारी दिए । 

पोखरामा रही विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध ५० जनाभन्दा बढी व्यक्ति हाइकिङमा सहभागी भएको बताउँदै उनँले यसबाट रोयल ट्रेक र यसको महत्व सम्बन्धमा सचेतना जगाएको उल्लेख गरे ।

पचभैयाबाट सुरु गरिएको हाइकिङ रुपाताल, झोलुङ्गेपुुल, भङ्गरा, जमनकुना, रुपाकोट रिसोर्ट हुँदै हात्तीमैता भ्यूटावरमा पुुगी सम्पन्न भएको थियो ।

रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाका अनुसार यस पदमार्ग क्षेत्रको प्रवर्द्धन र विकासमा रुपा गाउँपालिकाले जोड दिएको छ । गाउँपालिकाले रुपातालको छेउबाट हात्तीमैतासम्म छ किलोमिटर सिँढीबाटो निर्माण गरेको उनले जानकारी दिए ।

पदयात्रासँगै धवलागिरि, अन्नपूर्ण हिमशृङ्खला आदिको रमणीय दृश्य एकसाथ अवलोकन गर्न सकिने यहाँबाट बेगनास, रुपा हुँदै फेवाताल, पोखरा तथा लेखनाथका दृश्यमा पर्यटक लोभिने गरेका छन् । तत्कालीन द्वन्द्वकालीन समयमा यो पदमार्ग सुनसान बनेको यहाँका स्थानीयवासी बताउँछन् ।

द्वन्द्वपछिका अवस्थामा पनि देशको राजनीतिक अस्थिरता, कोभिडको महामारी आदिले प्रभावित बनेको यहाँको पदयात्रा पर्यटनलाई बढाउने कुरामा गाउँपालिकाले सक्रियता देखाएको छ । 

रोयल ट्रेकको महत्वलाई उजागर गर्दै पर्यटकको आगमन बढाउन सकिएमा यहाँका स्थानीय उत्पादनले बजार पाउने र होटल तथा अन्य व्यवसायले गति लिने अपेक्षा गरिएको स्थानीय समाजसेवी एवं ध्रुवतारा युुवा क्लबका अध्यक्ष त्रिविक्रम केसीले बताए ।

यहाँको पर्यटकीय सम्भावना देखेर युवाहरूको सक्रियतामा हात्तीमैता भ्यूटावर रेष्टुरेन्ट एन्ड होमस्टे सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

समुद्री सतहबाट एक हजार तीन सय ५० मिटर उचाइ रहेको हात्तीमत्ता भ्यूटावर रहेको स्थानमा टेन्टमा प्रत्येक रात १५ जनासम्म बस्न सक्ने व्यवस्था मिलाइएको र होमस्टेमा अरु १५ बस्न सक्ने व्यवस्था छ ।

“पदयात्राका लागि आउने पर्यटकलाई गाइडको व्यवस्थासँगै विभिन्न तालिम तथा सेमिनारका लागि हलको पनि व्यवस्था गरेका छौँ”, उनले भने, “वनभोजका लागि आउने पर्यटकका लागि एक सय जना क्षमताको वनभोजस्थलको व्यवस्था पनि छ ।”

‘भ्यूटावर’ नजिकै मल्लकालीन समयदेखि पूजाआजा हुँदै आएको कालभैरव मन्दिर यहाँको अर्को धार्मिक महत्त्वको स्थल हो । मनले चिताएको पुुग्ने विश्वासका कारण मन्दिरमा टाढा-टाढाबाट दर्शनार्थीहरू आउने गरेको स्थानीयवासी रमेश गुुरुङले बताए । 

मन्दिरमा प्रत्येक वर्षको बडादशैँ र चैतेदशैँमा विशेष पूजाआजा हुने उनले जानकारी दिए । रोयल ट्रेकको ऐतिहासिकता र महत्वलाई उजागर गर्न सकिएमा पर्यटनबाट यस क्षेत्रको समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ