arrow

यो महिना राज्य व्यवस्थामा समुचित प्रबन्धको आभास, सबै राशिको यो अवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
monthly-horoscope.jpg

मासिक फल : यस महिनामा ग्रहस्थिति साधारणतया राम्रा छन् । सोमबारको संक्रान्ति तथा आंैशीको योगका साथै ५ सोमबारले योगले राज्य व्यवस्थामा समुचित प्रबन्धका आभास हुनेछ । सन्तुलित राजनीतिले जनतामा केही सुधारात्मक व्यवस्थको अनुभूति हुनेछ । जलजनित प्रकोपले आवागमनमा विषमता र नयाँ रोगव्यापको प्रकोप हुन सक्नेछ । तिल तेल, सस्र्यौं, गुड, बाजरा, सुठो, नरीवल, सुन, चाँदी आदिमा केही समर्घता हुनेछ । यस महिनामा गुड, रुई, सूतीकपडा, नून, तेल आदिमा तेजी रहने छ । शेयर बजार अप्रत्याशित रूपमा माथि लाग्न सक्ने देखिन्छ । वर्षे वाली सामान्यतः राम्रो रहनेछ । वृष्टिविषमताको आभास भएपनि पुत्री योगबाट पहिलो सप्ताह मन्द झरी हुनेछ । महिनाको १४, १५, २२, २५, २७ गते उचित जलवर्षण योग छ । यस महिनामा खीरदानको विशेष महत्व छ । वस्त्र, घृत, दूध, वनौषधि, रत्न, यज्ञोपवित आदिको दान, विश्रामस्थलको बनिर्माण, ब्राम्हणलाई पायसको भोजनले वंशवृद्धि हुन्छ ।

मासिक राशिफल :

मेष : मेष राशि हुनेहरूका लागि श्रावण १ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा तृतीय भावमा बुध, शुक्र र राहु, चतुर्थ भावमा राशिस्वामी मङ्गलका साथमा सूर्य, अष्टम भावमा बृहस्पति, नवम भावमा शनिश्चर र केतु तथा दशम भावमा चन्द्र ग्रहको उपस्थिति देखिन्छ । यस महिनाको ६ गते बिहान शुक्र ग्रहले चतुर्थ र ३० गते पञ्चम भावमा प्रवेश गर्नेछ, त्यस्तै १८ गते बुध ग्रहले पनि चतुर्थ भावमा र २५ गते राशिस्वामी मंगल ग्रहले पञ्चम भावमा प्रवेश गरी स्थान परिवर्तन गर्नेछन् । तृतीय भावको बुध, अष्टम भावको बृहस्पति र नवम भावको शनि महिनाको सुरुमा यी तीनवटै ग्रह बक्र अवस्थामा रहने देखिन्छ । चतुर्थ भावमा नीच गृहमा बसेको राशिस्वामी मङ्गल, अष्टम भावको भाग्येश बृहस्पति र पञ्चमेश सूर्यको सुख भावमा प्रवेश हुने भएकाले साउन महिनामा त्यति सकारात्मक फल नपाइन सक्छ । यद्यपि चतुर्थ भाव सुखकारक भएकाले आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । यो समय विद्या, बुद्धि र विवेकको प्रयोग गरी सुखसुविधा बढाउन ध्यान दिनु हुनेछ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय हो, प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ । तृतीय भावको बुधको प्रभावले नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ, त्यस्तै तेस्रो भावमा नै रहेको शुक्रको प्रभावले भाग्यबृद्धि हुनेछ, मनले इच्छाएको काम पूर्ण गर्न सकिने छ । छोराछोरीको उन्नतिप्रगति र व्यक्तित्व विकासका निमित्त खर्च बढाउने समय आएको छ । राशिस्वामीको नीच गृहमा प्रवेश भएकाले तथा भाग्य भावमा शनिश्चर रहेकाले आत्मबल र जीवनीशक्तिमा कमी भएको अनुभूति हुनाले आँफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यर्थको काममा आफ्नो ऊर्जा नाश हुनेछ । परिजनको अस्वस्थताले अशान्त रहनुहुनेछ । राशिफलमा सामान्य कमजोरी देखिए पनि पेसागत रूपमा विद्यार्थी, व्यापारी र उद्यमी, गृहिणी तथा कर्मचारी आदि यस राशिका सबैले आआफ्नो कर्मक्षेत्रमा खटेअनुसारको परिणाम पाउने नै महिना देखिन्छ । नवौं भावमा राज्येश आएर बसेको हुँदा उमेर पुगेका विद्यार्थीहरूले आआफ्नो क्षमताको प्रदर्शन गर्दै सरकारी वा गैरसरकारी सेवामा नोकरी प्रवेश गर्न तत्परता देखाउने छन् र सफलतासमेत हासिल हुनेछ । व्यापारीहरूको दैनिक आम्दानीमा बृद्धि हुनेछ, घरायसी सुख र पारम्परिक काममा केही धनराशि खर्च हुने महिना छ । गृहिणीहरूले भ्रमण, पर्यटनमा जाने तथा नयाँनयाँ वस्त्र र आभूषण जोड्ने समय छ त्यस्तै कर्मचारीले बढुवा वा प्रशंसा हासिल गर्ने समय चल्दैछ । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्नेछ । २० गतेबाट वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । यो महिनाको लागि शुभ अङ्क १, २ र शुभ रङ्ग हल्का पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । राशिस्वामी नीचगृहमा रहेकाले तपाईंले आठमुखे रुद्राक्ष मन्त्रसिद्ध गरी धारण गर्नु वा मुगा रत्न धारण गर्नु राम्रो हुन्छ । हरेक काम गर्दा भगवान् सिद्धि गणेश वा हनुमानजीको उपासना गर्ने बानी बसालेमा समेत शुभफल पाउन सक्नुहुन्छ । सामान्यतया यस महिनाको ६, ७, ८, १५, १६, १७, २४ र २५ गतेको चन्द्रमा तपाईंका लागि प्रतिकूल रहने सङ्केत छ ।

वृष : बृष राशि हुनेहरूका लागि श्रावण १ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा द्वितीय भावमा राशिस्वामी शुक्र, बुध र राहु, तृतीय भावमा मङ्गलका साथमा सूर्य, सप्तम भावमा बृहस्पति, अष्टम भावमा शनिश्चर र केतु तथा नवम भावमा चन्द्र ग्रहको उपस्थिति देखिन्छ । यस महिनाको ६ गते बिहान राशिस्वामी शुक्र ग्रहले तृतीय र ३० गते चतुर्थ भावमा प्रवेश गर्नेछ, त्यस्तै १८ गते बुध ग्रहले पनि तृतीय भावमा र २५ गते मंगल ग्रहले चतुर्थ भावमा प्रवेश गरी स्थान परिवर्तन गर्नेछन् । द्वितीय भावको बुध, सप्तम भावको बृहस्पति र अष्टम भावको शनि महिनाको सुरुमा यी तीनवटै ग्रह बक्र अवस्थामा रहने देखिन्छ, राशिस्वामी शुक्र ४ गते अस्ताउने सङ्केत छ । चतुर्थ भावको मालिक सूर्यको तृतीय भावमा प्रवेश भएकाले यो महिना तपाईंका लागि अत्यन्त सकारात्मक भएर आएको छ । यस क्रममा राशिस्वामी शुक्रले पनि द्वितीय, तृतीय र चतुर्थ भावको यात्रा गर्दैछ । यस अवधिमा लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकांक्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । सामान्यतया स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रै छ, तर व्यवसाय वा काममा बढी मिहिनेत गर्नेहुँदा स्वास्थ्यस्थितिमा नकारात्मक असर पर्नसक्छ । महिनाको उत्तरार्द्धमा राशिस्वामीको चतुर्थ भावमा प्रवेश हुने भएकाले यो महिना घरायसी सुखसुविधा, अचल सम्पति, वाहनसुख, स्त्रीसुख जुटाउने समय हो । तर भाग्येश शनिश्चरले अष्टम भावको यात्रा गरिरहेको हुँदा खर्चको मात्रा बढ्ने छ, अनि कुनै गुप्त कारोबार वा गतिविधिका क्रममा हानि ब्यहोर्नु पर्ने हुन्छ । आकस्मिकरूपमा स्वास्थ्यमा बाधा र धनहानीको सङ्केत पनि हुने गर्दछ । अन्धविश्वास र भ्रमले डेरा जमाउने बेला हो, यो । महत्वाकांक्षा र असम्भव आशा जाग्नाले निराश हुन सक्नुहुन्छ । यस राशिमा जन्मिएका गृहिणी, उद्यमी र व्यापारी तथा कर्मचारीले राम्रो परिणामको आशा गर्दा हुन्छ, तर छात्रछात्राले आफ्नो कार्यक्षेत्रमा अलिबढी मिहिनेत गर्नुपर्ने समय छ । यसैगरी द्वितीय भाव राहु र अष्टम भावमा केतु ग्रहको उपस्थिति भएकाले छात्रछात्रामा भ्रम र महत्त्वाकांक्षा हाबी हुने खतरा छ, उमेर पुगेका विद्यार्थीहरूको प्रेमप्रसंग र प्रणय सम्बन्धतर्फ आकर्षण देखिनाले पढाइ प्रभावित बन्न सक्छ, सचेत हुनुपर्छ । व्यापारीहरूले उचित ठाउँमा धननिवेश गर्ने र भविष्य सपार्ने समय छ । गृहिणीहरूले आम्दानीको मार्गमा बृद्धि भएको अनुभूति गर्नेछन्, नयाँ जग्गा जमिन जोड्ने वा पतिको कार्यप्रगति हुने सम्भावना देखिन्छ । त्यस्तै कर्मचारीले मनले चाहेको जिम्मेवारी प्राप्त गर्नुका साथै अचल सम्पत्ति खरिद गर्ने वा जोडजम्मा गर्ने अनुकूलता प्राप्त गर्नेछन् । इच्छा र आकांक्षा पूर्ण हुने भएको छ । महिनाको उत्तरार्धबाट र तनाव बढेको महसुस हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । यो महिनाका लागि शुभ अङ्क २, ७ र शुभ रङ्ग सेतो हो । पारिवारसँंग रमाइलो भेटघाट हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गर्नु उत्तम हुनेछ । अशुभ परिणाम प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले हरेक दिन शनि ग्रहको बीजमन्त्रको जाप गर्ने वा आफ्नो जन्मलग्नको अनुकूलता हुने गरी नीलम, नीली वा जामुनिया रत्न धारण गरेको जाति हुन्छ । सामान्यतया यस महिनाको ८, ९, १०, १७, १८, १९, २६, २७ र २८ गते तपाईंको राशिबाट अशुभ गृहमा चन्द्रमाको उपस्थिति रहने देखिन्छ ।

मिथुन : मिथुन राशि हुनेहरूका लागि श्रावण १ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा आफ्नै राशिमा राशिस्वामी बुध, शुक्र र राहु, द्वितीय भावमा मङ्गलका साथमा सूर्य, षष्ठम भावमा बृहस्पति, सप्तम भावमा शनिश्चर र केतु तथा अष्टम भावमा चन्द्र ग्रहको उपस्थिति देखिन्छ । यस महिनाको ६ गते बिहान शुक्र ग्रहले द्वितीय र ३० गते तृतीय भावमा प्रवेश गर्नेछ । १८ गते राशिस्वामी बुध ग्रहले पनि द्वितीय भावमा र २५ गते मंगल ग्रहले तृतीय भावमा प्रवेश गरी स्थान परिवर्तन गर्नेछन् । लग्न भावको बुध, षष्ठम भावको बृहस्पति र सप्तम भावको शनि महिनाको सुरुमा यी तीनवटै ग्रह बक्र अवस्थामा रहने देखिन्छ, सुरुमा बक्र र अस्त अवस्थामा रहेको राशिस्वामी बुध ७ गते पछि उदाउने र ९ गतेपछि मार्गगतिमा रहने सङ्केत छ । आफ्नै राशि र द्वितीय भावमा विचरण गर्ने राशिस्वामी बुध र दोस्रो भावको तृतीयेश सूर्यको प्रभावले यो महिना धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ मिल्नेछैन, महत्त्वाकाङ्क्षा राख्नाले निराशा हात लाग्नेछ । पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ, प्रेम जीवन र दाम्पत्य जीवनमा कलहको सम्भावना भएकाले घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । नोकरी र कार्यक्षेत्रमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । चाहिंँदो नचाहिंँदो कुरामा उत्साही र साहसी प्रवृत्ति देखा पर्नेछ । तर यस अवधिमा मनले इच्छाएको परिणाम प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । त्यस्तै यतिबेला पेसा वा व्यवसायसँग सम्बद्ध परिवर्तन गर्न खोज्नु हानिकारक हुन्छ । त्यस्तै जग्गाजमिनको किनबेच गर्ने प्रक्रियालाई स्थगित राख्नु बेस हुनेछ । कामका दृष्टिले हेर्दा मिथुन राशिका विद्यार्थी, गृहिणी र व्यापारीले राम्रो फलको आशा गर्ने महिना छ, तर कर्मचारी र सामाजिक कार्यकर्ताले झमेला, किचलो र लफडामा फँस्ने समय चल्दैछ । राशिस्वामीमा बक्रता र अस्तावस्था रहेकाले राजनीति, समाजसेवा र सार्वजनिक प्रशासनमा काम गर्ने व्यक्तिले हरेक काममा गहिरो सोचविचार गर्नु बुद्धिमानी हुनेछ, नत्र आफैंले खनेको खाल्डोमा आफैं जाकिने डर हुन्छ । विद्यार्थीले कुनै परीक्षा वा नतिजाको प्रतीक्षा गर्दै हुनुहुन्छ भने कर्मअनुसारको राम्रो परिणाम पाउनु हुनेछ । गृहिणीले सामान्य दैनिकीमा दौडधूप गर्दागर्दै कुनै खिन्नता र विषाद नब्यहोरी यो महिना बिताउनु हुनेछ भने व्यापारीहरूको आम्दानीको मार्गमा उतारचढाव आउने परिस्थिति बन्ने छैन । महिनाको प्रारम्भमा आफ्नै राशिमा उपस्थित राशिस्वामी बुधको बक्रताबाट प्राप्त हुने दुष्परिणाम प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले आचरणको शुद्धतामा विशेष ध्यान पुर्याउनु पर्दछ । यो महिनाका लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरेमा कार्यसिद्धि मिल्नेछ । कला र गलाको प्रभाव बढ्दै जानेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कुनै देवीस्थानमा गएर एक आवृत्ति दुर्गा सप्तशती चण्डी पाठ गरिदिनु वा कुनै कन्यालाई रातो वस्त्र उपहारका रूपमा प्रदान गर्नु राम्रो देखिन्छ । सामान्यतया यस महिनाको १, २, ३, ११, १२, १९, २०, २१, २८, २९ र ३० गतेको चन्द्रमा तपाईंका लागि अनुकुल रहने देखिंदैन ।

कर्कट : कर्कट राशि हुनेहरूका लागि श्रावण १ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा आफ्नै राशिमा मङ्गलका साथमा सूर्य, पञ्चम भावमा बृहस्पति, षष्ठ भावमा शनिश्चर र केतु, सप्तम भावमा राशिस्वामी चन्द्र तथा बाह्रौं भावमा बुध, शुक्र र राहु ग्रहको उपस्थिति देखिन्छ । यस महिनाको ६ गते बिहान शुक्र ग्रहले लग्न भावमा र ३० गते द्वितीय भावमा प्रवेश गर्नेछ, त्यस्तै १८ गते बुध ग्रहले पनि लग्न भावमा र २५ गते मंगल ग्रहले द्वितीय भावमा प्रवेश गरी स्थान परिवर्तन गर्नेछन् । पञ्चम भावको बृहस्पति, षष्ठ भावको शनि र द्वादश भावको बुध महिनाको सुरुमा यी तीनवटै ग्रह बक्र अवस्थामा रहने देखिन्छ । आफ्नै राशिमा पुगेको धनभावको मालिक सूर्य र लग्न स्थान तथा धन भावमा विचरण गर्ने पञ्चमेश मंगल ग्रहको संयुक्त प्रभावले यो महिना शुभ बनाएको छ । अचानक कुनै नचिताएको धनलाभ हुनसक्ने समय छ, त्यस्तै तपाईं कुनै पद, प्रतिष्ठा वा परीक्षाका लागि तैयारी गर्दै हुनुहुन्छ आशावादी बन्दै परिश्रम गर्नुहोस्, विजयश्री तपाईंको पोल्टामा पर्नेछ, खासगरी छात्रछात्राले वा गृहस्थीले सन्ततिका माध्यमबाट लाभ पाउने समय छ । यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आत्मविश्वासको सिर्जना हुनेछ, तर तपाईमा अहंकार र आडम्बरको भावना पनि विकसित हुनसक्छ, सुरुमा शिरमा र महिनाको अन्त्यतिर मंगल ग्रहको वास हुनेछ, प्याच्च बोल्ने बानीले दुःख पाउन सकिन्छ । कुटुम्ब वा चेलीबेटीको चित्त नबुझ्नसक्छ, स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ । त्यस्तै महिनाको सुरुमैं पञ्चम भावमा भाग्येश बृहस्पति र सप्तमेश शनिश्चर ग्रह बक्री हुने भएकाले पति वा पत्नी अस्वस्थ हुने सम्भावना समेत छ, धनमाल हराउने, चोरी हुने सङ्केत पनि छ, होस राख्नुपर्छ । यो महिना कर्कट राशिका विद्यार्थी, गृहिणी र व्यापारीहरूले शुभफल पाउने छन् । तर कर्मचारीहरूका लागि त्यति अनुकूलता प्राप्त हुँदैन । छात्रछात्राले परीक्षा, प्रतियोगितामा राम्रो परिणाम प्राप्त गर्नेछन् । व्यक्तित्वविकास र प्रतिष्ठा प्राप्तिका लागि गरिएको प्रयास सफल हुनेछ । कुनै विशेष समारोहमा सम्मानित हुने अवसर मिल्नेछ । यसैगरी सुरुमा राशिस्वामी चन्द्रमा सप्तम भावमा रहेकाले गृहिणीहरूले आफैंले वा पतिले कार्यक्षेत्रमा प्रगति गरेको मानसम्मान पाएको वा बढुवा भएको समाचार सुन्न पाउनु हुनेछ, चलअचल सम्पत्ति जोड्ने, पुरानो लेनदेन मिलाउने समय छ, त्यस्तै छोराछोरीले आफ्नो कार्यक्षेत्रमा राम्रो उन्नति गर्नेछन् । व्यापारीहरूले कारोबार विस्तारका लागि गरेको प्रयास सफल हुनेछ, तर कर्मेश मङ्गल नीच रहेकाले कर्मचारीले जोखिमपूर्ण काम गरेमा पदलाई नै आघात पुग्ने परिणाम आउन सक्छ, होस राख्नुपर्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वैदेशिक यात्राको योग छ । यो महिनाका लागि शुभ अङ्क ५, ९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य पूजा आरधना गर्दा अधिक लाभ मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । ग्रहपरिवेशमा देखिएको कमजोरीलाई व्यवस्थित तुल्याउन तपाईंले भाग्येश वृहस्पतिको अनुकूलताका लागि हरेक बिहीवारका दिन गाईलाई मौसमअनुसार कुनै पाकेको फल प्रदान गर्नु राम्रो हुन्छ, साथै इष्टदेवताको नित्यपूजापछि पहेंलो केशरी वा अष्टगन्धको टीका लगाएमा शुभफल प्राप्तिमा कठिनाइ हुनेछैन । सामान्यतया यस महिनाको ३, ४, ५, १३, १४, १५, २१, २२, २३ र ३१ गते तपाईंको राशिस्वामी चन्द्रमाले अशुभ घरको यात्रा गर्ने समय रहने छ ।

सिंह : सिंह राशि हुनेहरूका लागि श्रावण १ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा चतुर्थ भावमा बृहस्पति, पञ्चम भावमा शनिश्चर र केतु, षष्ठ भावमा चन्द्र, एकादश भावमा बुध, शुक्र र राहु तथा बाह्रौं भावमा मङ्गलका साथमा राशिस्वामी सूर्य ग्रहको उपस्थिति देखिन्छ । यस महिनाको ६ गते बिहान शुक्र ग्रहले द्वादश भावमा र ३० गते लग्न भावमा प्रवेश गर्नेछ । १८ गते बुध ग्रहले पनि द्वादश भावमा र २५ गते मंगल ग्रहले लग्न भावमा प्रवेश गरी स्थान परिवर्तन गर्नेछन् । चतुर्थ भावको बृहस्पति, पञ्चम भावको शनि र एकादश भावको बुध महिनाको सुरुमा यी तीनवटै ग्रह बक्र अवस्थामा रहने देखिन्छ । महिनाभरि राशिस्वामी सूर्य एवं चतुर्थेश र भाग्येश मानिने मङ्गल ग्रहको बाह्रौं भावमा प्रभाव रहने भएकाले अनिच्छित खर्च हुने समय छ, यो महिना अपव्यय, तनाव, झमेला र कष्टको परिस्थिति देखिन्छ । पानी वा कुनै प्राकृतिक वस्तुको प्रकोप रहने छ, शिरमा अहङ्कार र क्रोधले निवास गर्नेछन्, आफन्तका बीचमा मनमुटाव भइरहन्छ । घरको पानी ट्याङ्की, बाथरुम, सेफ्टी ट्याङ्की आदि पानीको चलखेल हुने क्षेत्रमा अचानक खर्च गर्नुपर्ने परिस्थिति आउन सक्छ । लामो समयदेखि मनमा उठेका चाहना, कर्तव्य र इच्छा पूर्ण हुने परिस्थिति बन्दैन । जुनसुकै काममा आवेग, हडबड र शीघ्रतालाई बन्देज लगाउनु पर्छ । तर यस अवधिमा दाजुभाइ र दिदीबहिनीले आआफ्नो कार्यक्षेत्रमा उन्नति गरेको समाचार सुन्न पाइने छ । यस्तै, घरबाहिर वा वैदेशिक क्षेत्रमा बस्नेलाई शुभफल पाउने छन्, यस अवधिमा घर आउने वा कुनै अचल सम्पत्तिको व्यवस्थापन गर्न धनखर्च गर्नुपर्ने हुनसक्छ । परिवारमा परपाहुनाको आगमन हुने वा बाध्यात्मक काममा सञ्चित धन खर्च गर्नुपर्ने सम्भावना पनि देखिन्छ, तर अत्तालिई हाल्नु पर्दैन, लाभस्थानमा बसेको शुक्र र बुधको प्रभावले कतै न कतै आम्दानीका मार्गहरू पनि देखिन सक्छन् । यो महिना सिंह राशिका छात्रछात्राको अभिव्यक्ति र सिर्जनासँग सम्बद्ध विषयमा रुचि जाग्नेछ । विपरीतलिंगी साथीको सरसहयोग र सामीप्यता प्राप्त हुनाले मन फुरुंग बन्नेछ । पति, पत्नी टाढा बस्न बाध्यता भएका गृहिणीले यो महिना पतिसँगै बस्ने अनुकूलता पाउने छन् तर सँगै बस्नेको ससाना कुरामा ठाक्कठुक्क परिरहने समय छ । पतिको कार्यक्षेत्रमा सफलता मिल्ने र घरजग्गा खरिद गरिने समय छ । व्यापारीहरूमध्ये माटो वा कृषिक्षेत्रका कारोबारीले राम्रो लाभ पाउन सक्छन्, तर मिलमेसिनरी र पार्टपूर्जाका व्यापारीहरूले घाटा व्यहोर्ने समय छ । कर्मचारीहरूले व्यक्तिगत स्वास्थ्यमा आउने उतारचढावका कारण कार्यालयमा महत्वपूर्ण अवसर र लाभ गुमाउनु पर्ने समय चल्दैछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । सरकारी निकाएको भय रहला । महिनाको अन्त्यमा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क १, ५ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गर्नु उत्तम होला । सिंह राशि हुने जातकहरूले द्वादश भावमा रहेको राशिस्वामी सूर्य र मङ्गल ग्रहको बल प्राप्त गरेमा हरेक चुनौती र विघ्नमा सफलता प्राप्त गर्नुहुनेछ, त्यसैले तपाईंले यस महिनामा किशोर अवस्थाका बालक (केटा) लाई पठनपाठनमा प्रयोग हुने कुनै चिजबिज दान गर्ने र दैनिक सूर्यार्घ्य दिने काम गर्नु बुद्धिमानी हुनेछ । सामान्यतया यस महिनाको ६, ७, ८, १५, १६, १७, २४ र २५ गतेको चन्द्रमा तपाईंका लागि प्रतिकूल रहने सङ्केत छ ।

कन्या : कन्या राशि हुनेहरूका लागि श्रावण १ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा तृतीय भावमा बृहस्पति, चतुर्थ भावमा शनिश्चर र केतु, पञ्चम भावमा चन्द्र, दशम भावमा राशिस्वामी बुध, शुक्र र राहु तथा एकादश भावमा मङ्गलका साथमा सूर्य ग्रहको उपस्थिति देखिन्छ । यस महिनाको ६ गते बिहान शुक्र ग्रहले एकादश भावमा र ३० गते द्वादश भावमा प्रवेश गर्नेछ, त्यस्तै १८ गते राशिस्वामी बुध ग्रहले पनि एकादश भावमा र २५ गते मंगल ग्रहले द्वादश भावमा प्रवेश गरी स्थान परिवर्तन गर्नेछन् । तृतीय भावको बृहस्पति, चतुर्थ भावको शनि र दशम भावको बुध महिनाको सुरुमा यी तीनवटै ग्रह बक्र अवस्थामा रहने देखिन्छ, सुरुमा बक्र र अस्त अवस्थामा रहेको राशिस्वामी बुध ७ गते पछि उदाउने र ९ गतेपछि मार्गगतिमा रहने सङ्केत छ । राज्यस्थानको सूर्य र कर्म एवं राज्यस्थानको राशिस्वामी बुधको प्रभाव रहने महिना भएकाले यो महिना तपाईंका लागि अत्यन्त लाभकारी महिना नै हुनेछ । श्रावण महिना तपाईंका इच्छा र आकाङ्क्षा पूर्ण गराउने महिनाका रूपमा उदाएको छ । तर व्ययेश लाभ स्थानमा आएकाले पेसामा अचानक परिवर्तन हुने, ठाउँ छाड्नु पर्ने परिस्थिति पनि बन्नसक्छ । घरायसी परिबन्द वा बाध्यात्मक काममा खर्चको मात्रामा नियन्त्रण गर्न सकिंदैन, अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । उता ०७ गतेसम्म कर्मक्षेत्रमा अस्तावस्थामा बुध ग्रह रहेको हुँदा गृहस्थी जीवन र प्रेमसम्बन्धमा झंझट वा विवादबाट जोगिनु बेस हुनेछ । समग्रतामा नराम्रो समय छैन, तर पनि विशेष काममा वा धनलगानी गर्ने दीर्घकालिक कारोबारका क्रममा निर्णय लिनुअघि जान्नेबुझ्नेसँग परामर्श गरेको जाति हुन्छ । यस्तै, बृहस्पति ग्रह पराक्रम स्थानमा रहेकाले यो महिना कन्या राशिका छात्रछात्राहरूले गरेको मिहिनेतभन्दा राम्रो परिणाम प्राप्त गर्नेछन्, अनायासै उपहार, पुरस्कार वा चिट्ठाको अवसर मिल्ने हुँदा छात्रवृत्ति वा शोधका लागि प्रयास गर्ने समय हो । तर सप्तमेश बक्र गतिमा भएकाले गृहिणी र व्यापारीहरूले अनावश्यक तनाव र बोझ बढेको महसुस गर्नुपर्ने हुन्छ । गृहिणीहरूले घरका बृद्ध सदस्यहरूको सेवाचाकरी गर्नुपर्ने र आफ्नै पाचनप्रणालीमा आएको विकार झेल्नुपर्ने समय छ । पतिसँग नोकझोक परिरहने र आर्थिक संकटको सामना गर्नुपर्ने हुन्छ । व्यापारीहरूको घरभित्र विविध समस्या सिर्जना हुनाले व्यवसायमा ध्यानकेन्द्रित हुनसक्दैन । पुर्ख्यौली सम्पत्ति वा जग्गाजमिनमा किचलो आउँदा अड्डाअदालत धाउने परिस्थितिसमेत बन्नेछ । कर्मचारीका लागि कर्मेश र लग्नेश बुधको अस्तताका कारण कार्यक्षेत्रमा बोझ बढ्ने छ, पेसा वा रोजगारीका कारण घरव्यवहारमा समय दिन नसक्नाले अनावश्यक व्ययभार थपिन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । जोश, जाँगर र हिम्मत बढ्ला । बोलीको भरमा कार्य सम्पादन हुनेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । यो महिनाका लागि शुभ अङ्क १, २ र शुभ रङ्ग कालो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गर्दा अधिक लाभ हुनेछ । अशुभ पक्षको निवारण होस् भन्ने उद्देश्यले पतिपत्नीका बीचमा सरसल्लाह र भलाकुसारी भएको राम्रो हुन्छ । त्यसका लागि तपाईंले कुलपितृको आशीर्वाद ग्रहण गर्ने र लग्नेश बुधको बलप्राप्तिका लागि हरेक बुधवार वा अष्टमी तिथिका दिन माता दुर्गाको उपासना गर्नु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ८, ९, १०, १७, १८, १९, २६, २७ र २८ गते तपाईंको राशिबाट अशुभ गृहमा चन्द्रमाको उपस्थिति रहने देखिन्छ ।

तुला : तुला राशि हुनेहरूका लागि श्रावण १ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा द्वितीय भावमा बृहस्पति, तृतीय भावमा शनिश्चर र केतु, चतुर्थ भावमा चन्द्रमा, नवम भावमा राशिस्वामी शुक्रका साथमा बुध र राहु तथा दशम भावमा मङ्गलका साथमा सूर्य ग्रहको उपस्थिति देखिन्छ । यस महिनाको ६ गते बिहान राशिस्वामी शुक्र ग्रहले दशम भावमा र ३० गते एकादश भावमा प्रवेश गर्नेछ, त्यस्तै १८ गते बुध ग्रहले पनि दशम भावमा र २५ गते मंगल ग्रहले एकादश भावमा प्रवेश गरी स्थान परिवर्तन गर्नेछन् । द्वितीय भावको बृहस्पति, तृतीय भावको शनि र नवम भावको बुध महिनाको सुरुमा यी तीनवटै ग्रह बक्र अवस्थामा रहने देखिन्छ । लाभेश सूर्यले कर्मक्षेत्रमा प्रवेश गरेकाले श्रावण महिना तपाईंका लागि अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । नयाँ व्यवसाय वा रोजगारीको प्रबल सम्भावना छ । यस्तै, राज्यस्थानमा रहेको मंगल ग्रहको प्रभावले सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुनेछ, त्यस्तै नयाँ दम्पतिले बेबीप्लान गर्न यो महिना उत्तम समय देखिन्छ । यो महिना भाग्य र कर्म क्षेत्रमा रहने भाग्येश बुधको सुरुमा अस्तावस्था रहेकाले सरकारी काम वा मुद्दामामिलामा झंझट ब्यहोर्ने समय छ, होस गर्नुपर्छ, तर अंश वा जग्गाजमिनको समस्या हल गर्न प्रयास गरेमा सफलता मिल्नेछ । त्यस्तै यसको प्रभावले पिता, पद र प्रतिष्ठामा आँच आउने डर हुन्छ, जुनसुकै काम जान्नेबुझ्ने र जानकार व्यक्तिको सल्लाहमा गरेको राम्रो हुन्छ । पिता वा घरका ज्येष्ठ पुरुषको स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । त्यस्तै भाग्यस्थानमा राहु ग्रहको उपस्थिति रहेका कारण आर्थिक पक्ष असन्तुलित बन्ने देखिन्छ, तर आम्दानीका तुलनामा खर्चको मात्रा कम नै हुनेछ । तुला राशिका विद्यार्थी र कर्मचारीले यो महिनाले हरेक क्रियाकलापमा उपलब्धी हासिल गर्नेछन् । नवम, दशम र एकादश भावमा राशिस्वामीको यात्रा हुने भएकाले नयाँ रोजगारीका लागि प्रयास गर्नेहरूले सानो प्रयासले प्रतिस्पर्धा र प्रतियोगितामा सफलता हासिल गर्ने सम्भावना देखिन्छ । पञ्चमेश तृतीय स्थानमा रहेकाले शैक्षिक प्रक्रियाद्वारा विदेश जान खोज्ने छात्रछात्राले सफल बन्ने समय छ । यता, कर्मभावमा सूर्य रहेकाले कर्मचारीले बढुवा, प्रशंसा र आर्थिक लाभ लिने समय चल्दैछ । सप्तमेश नीच गृहमा रहेकाले गृहिणी र बन्दव्यापारमा संलग्नहरूले प्रत्येक काममा बाधा र किचलोको सामना गर्नुपर्ने हुन्छ । आफ्नै लापरबाहीले गर्दा सरकारी दण्ड वा जरिवानामा पर्ने खतरा छ, होस राख्नुपर्छ । दोस्रो भावमा बक्र बृहस्पति भएकाले हरेक काममा विवाद र झैझगडाको परिस्थिति बन्ने भएकाले बोल्दा तौलेर बोल्नु वा मुख बाँध्नु नै राम्रो हुन्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । यो महिनाका लागि शुभ अङ्क १, ४ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवालयको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । मौसमी रोग र पाचनप्रणाली गडबडाउने सम्भावना नहोस् भन्ने उद्देश्यले तपाईंले बृद्धाश्रम वा अनाथालयमा गएर गुलियो भोजन गराउनु र कुलपितृ तथा शिवोपासनामा जोड दिनु जायज हुनेछ । सामान्यतया यस महिनाको १, २, ३, ११, १२, १९, २०, २१, २८, २९ र ३० गतेको चन्द्रमा तपाईंका लागि अनुकुल रहने देखिंदैन ।

वृश्चिक : बृश्चिक राशि हुनेहरूका लागि श्रावण १ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा लग्न भावमा बृहस्पति, द्वितीय भावमा शनिश्चर र केतु, तृतीय भावमा चन्द्रमा, अष्टम भावमा बुध, शुक्र र राहु तथा नवम भावमा राशिस्वामी मङ्गलका साथमा सूर्य ग्रहको उपस्थिति देखिन्छ । यस महिनाको ६ गते बिहान शुक्र ग्रहले नवम भावमा र ३० गते दशम भावमा प्रवेश गर्नेछ, त्यस्तै १८ गते बुध ग्रहले पनि नवम भावमा र २५ गते राशिस्वामी मंगल ग्रहले दशम भावमा प्रवेश गरी स्थान परिवर्तन गर्नेछन् । लग्न भावको बृहस्पति, द्वितीय भावको शनि र अष्टम भावको बुध महिनाको सुरुमा यी तीनवटै ग्रह बक्र अवस्थामा रहने देखिन्छ । कर्मेश सूर्यको भाग्यस्थानमा प्रवेश भएकाले अत्यन्त सकारात्मक महिनाका रूपमा श्रावण महिनाको आगमन भएको छ । यसको प्रभावले पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने संकेत देखिन्छ । त्यस्तै भाग्यभावमा रहेको राशिस्वामी मङ्गलको प्रभावले लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । विपरीत परिस्थितिलार्ई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । तर यो महिना बृहस्पति र शनिश्चरले प्रतिकूल फल प्रदान गर्ने भएकाले केही संयमता र जुनसुकै काममा सजगताका साथमा कडा मिहिनेत गर्नु बुद्धिमानी हुनेछ । होस राख्नुहोला, छिटो धन कमाउने प्रवृत्तिमा अङ्कुश लगाउनु राम्रो हुन्छ । यदाकदा परिवारका सदस्यहरूको अस्वस्थताले पनि चिन्तित तुल्याउन सक्छ, आफूस्वयंलाई पाचनप्रणाली वा पेटको रोगले समेत सताउन सक्छ । आफ्नै राशिमा बृहस्पति र धनभावमा शनि बक्री रहेकाले बृश्चिक राशिका छात्रछात्राले निकै मिहिनेत गर्नु पर्ने समय चल्दैछ, आफ्नै लापरवाही र लहडी स्वभावका कारण हातमा आएको नतिजा पनि उल्टिने समय छ । उता किशोर उमेरका छात्रछात्रामा रिस, घमण्ड र अहङ्कार हाबी हुने समय छ, शीघ्रता र आवेगमा गरेको परिणामले दुःखी तुल्याउने समय छ । महिनाको सुरुमा सप्तमेश अष्टम भावमा रहने भएकाले गृहिणीहरूको पनि पतिसँग विवाद र नोकझोक चल्ने समय छ, पतिको वा घरका बृद्ध पुरुषको स्वास्थ्यमा आउने उतारचढावले मानसिक संकट बढ्न सक्छ । यस राशिका व्यापारी र उद्यमीहरूले जुनसुकै काम गर्दा सतर्कता अपनाउनु आवश्यक छ, कामदार वा विश्वासपात्रले धोका दिने समय चल्दैछ । कुनै कागजी प्रक्रिया पूरा गर्नुपर्ने छ वा समझौता गर्नु छ भने हतार गर्नुहुँदैन । बृश्चिक राशिका कर्मचारीका लागि शुभ समय छ । हाकिम वा विशिष्ट व्यक्तिबाट महत्त्वपूर्ण कुरा फुत्काउन सक्नुहुन्छ । घरबाहिर हुनुहुन्छ भने छुट्टीमा घर आउने वा कार्यक्षेत्रमा जीवनसाथीलाई लिएर जाने, घुमघाम, मनोरञ्जन र लाभदायक भ्रमणको अनुकूलता मिल्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाका लागि शुभ अङ्क ३, ९ र शुभ रङ्ग गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जयाय भगवानको ध्यान गरी कार्य आरम्भ गर्नुहोला । राशिमा रहेको बक्र बृहस्पति तथा भाग्यमा रहेको नीच मङ्गलको दुष्प्रभावले दैनिकी सञ्चालनमा बाधा नपुगोस् भन्ने उद्देश्यले तपाईंले सूर्योपासनामा जोड गर्नुका साथै कुल र पितृको प्रसन्नताका निमित्त कुनै काम गरिदिनु जाति हुन्छ । सामान्यतया यस महिनाको ३, ४, ५, १३, १४, १५, २१, २२, २३ र ३१ गते तपाईंको भाग्येश चन्द्रमाले अशुभ घरको यात्रा गर्ने समय रहने छ ।

धनु : धनु राशि हुनेहरूका लागि श्रावण १ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा लग्न भावमा शनिश्चर र केतु, द्वितीय भावमा चन्द्रमा, सप्तम भावमा बुध, शुक्र र राहु, अष्टम भावमा मङ्गलका साथमा सूर्य तथा द्वादश भावमा राशिस्वामी बृहस्पति ग्रहको उपस्थिति देखिन्छ । यस महिनाको ६ गते बिहान शुक्र ग्रहले अष्टम भावमा र ३० गते नवम भावमा प्रवेश गर्नेछ, त्यस्तै १८ गते बुध ग्रहले पनि अष्टम भावमा र २५ गते मंगल ग्रहले नवम भावमा प्रवेश गरी स्थान परिवर्तन गर्नेछन् । लग्न भावको शनि, सप्तम भावको बुध र द्वादश भावको राशिस्वामी बृहस्पति महिनाको सुरुमा यी तीनवटै ग्रह बक्र अवस्थामा रहने देखिन्छ । यस महिनाको अन्त्यतिर २९ गतेका दिन राशिस्वामी बृहस्पतिले मार्गगति अवलम्बन गर्ने सङ्केत छ । प्रारम्भमा अष्टम भावमा रहेको सूर्य र द्वादश भावमा बसेको राशिस्वामी बृहस्पतिको बक्रता र आफ्नै राशिमा रहेको बक्र शनिको मध्य साढेसातीको प्रभाव रहने हुँदा श्रावण महिना त्यति सन्तोषजनक रहँदैन । यस्तै बाह्रौं भावमा रहेको बक्री बृहस्पति र लग्नमा बसेको शनिको प्रभावका कारण पारिवारिक विवादमा संयमता अपनाउनु राम्रो हुन्छ, किनभने मानसिक अशान्ति र बेचैनीको योग छ, नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । भाग्येश सूर्यको सङ्कट क्षेत्रमा प्रवेश भएकाले शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । धनु राशिका छात्रछात्राले घरपरिवारका काममा बढी समय खर्चनु पर्ने भएकाले पढाइलेखाइमा समय दिन पाउँदैनन् । उमेर पुगेका छात्रछात्रामा विपरीतलिंगी साथीको क्रियाकलापले मानसिक खिन्नता बढ्ने समय छ । त्यसैले पढाइलेखाइमा उन्नतिका लागि अलि बढी मिहिनेत र लगनशीलताको खाँचो देखिन्छ । यो महिना गृहिणीहरूका लागि शुभ समय छ, पतिपत्नीका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । टाढा बसेका जीवनसाथीले घर आउने मौका पाउने छन् वा राम्रो आर्थिक लाभ प्राप्त गरेको समाचार सुन्न पाइने छ । तर महिनाको उत्तरार्द्धमा जीवनसाथीको स्वास्थ्यमा सामान्य समस्या देखिनसक्छन् । व्यापारीहरूले व्यवसाय प्रवर्द्धनका लागि देशपरदेशको भ्रमण गर्नुहुनेछ । नयाँ कारोबारमा धननिवेश गर्ने सोच आउने छ । कर्मचारीहरूका लागि यो महिना जोखिमपूर्ण देखिन्छ । लग्नेश द्वादश भावमा बक्रगतिमा रहेको र लग्नभावमा नै केतु र शनिको युति भएकाले चोरबुद्धिको प्रयोग नगर्नु होला, नत्र ठूलो झमेलामा फँस्न सक्नुहुन्छ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने पनि देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नाक तथा घाँटीमा समस्या आउला । मध्य महिनामा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । घर, जग्गा खरिद तथा बिक्रीको योग छ । यो महिनाका लागि शुभ अङ्क ३, ९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व बंगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । हरेक गतिविधिमा शुभता प्राप्त होस् भन्ने उद्देश्यले हरेक बिहीवारका दिन गाईलाई हरियो घाँस खानदिनु राम्रो हुन्छ, अझ आठौं भाव दुर्घटनाकारक भाव भएकाले र त्यहाँ महिनाको सुरुमा नै मासाधिपति सूर्यको उपस्थिति हुने एवं २५ गतेसम्म पञ्चमेश मङ्गलको समेत उपस्थिति हुने हुँदा यो महिना सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा अत्यन्त सावधान हुनु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ६, ७, ८, १५, १६, १७, २४ र २५ गतेको चन्द्रमा तपाईंका लागि प्रतिकूल रहने सङ्केत छ ।

मकर : मकर राशि हुनेहरूका लागि श्रावण १ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा लग्न भावमा चन्द्रमा, षष्ठ भावमा बुध, शुक्र र राहु, सप्तम भावमा मङ्गल र सूर्य, एकादश भावमा बृहस्पति तथा द्वादश भावमा राशिस्वामी शनिश्चरका साथमा केतु ग्रहको उपस्थिति देखिन्छ । यस महिनाको ६ गते बिहान शुक्र ग्रहले सप्तम भावमा र ३० गते अष्टम भावमा प्रवेश गर्नेछ । १८ गते बुध ग्रहले पनि सप्तम भावमा र २५ गते मंगल ग्रहले अष्टम भावमा प्रवेश गरी स्थान परिवर्तन गर्नेछन् । षष्ठ भावको बुध, एकादश भावको बृहस्पति र द्वादश भावको राशिस्वामी शनिश्चर महिनाको सुरुमा यी तीनवटै ग्रह बक्र अवस्थामा रहने देखिन्छ । महिनाभरि द्वादश भावमा बक्र अवस्थामा रहेको राशिस्वामी शनिश्चर, सप्तम र अष्टम भावमा मङ्गल ग्रह र अष्टमेश मानिएको सूर्यको सप्तम भावमा उपस्थिति हुने भएकाले अहिलेको समय जीवनसाथी वा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय हो । मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति छ । बाध्यताका खर्चमा धनव्यय हुनेछ । व्यक्तिगत स्वास्थ्यमा पनि उतारचढाव आइरहन्छ । तर तपाईंको जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् । तर बुध ग्रहले आगामी ९ गतेपछि सप्तम भावको यात्रा सुरु गर्ने हुँदा भाग्येश बुधको प्रवेश हुनासाथ व्यवसायिक र घरायसी खर्चमा रोकथाम र नियन्त्रण गर्न सकिने छ । महिनाको उत्तरार्द्धमा पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । आत्मविश्वास बढ्ने छ, पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूर्ण कार्य गर्न प्रयास गरिने छ । अतः यो महिना विपरीत परिस्थिति आएमा प्रतिरोधात्मक शक्तिलाई विकसित तुल्याउने प्रयास गर्नु राम्रो हुनेछ । मकर राशिका विद्यार्थी, व्यापारी, उद्यमी र कर्मचारीले यो महिना राम्रै परिणाम प्राप्त गर्नेछन् । तर गृहस्थी र गृहिणीहरूले बढी तनाव ब्यहोर्ने समय चल्दैछ । पञ्चमेश शुक्रले षष्ठ, सप्तम र अष्टम भावको यात्रा गर्ने भएकाले छात्रछात्राले सीप र प्रविधिको प्रयोग गरी राम्रो उपलब्धी हासिल गर्नेछन् । प्रायोगिक क्षेत्रका विद्यार्थीले उच्चशिक्षाका लागि छात्रवृत्ति पाउने वा विदेश जाने अनुकूलता पाउने छन् । चिसो चिजबीज, रसादि, तुलफूल र खाद्यान्नका विक्रेताहरूले सम्झनलायक आम्दानी गर्नेछन्, तर मिलमेसिनरी र जग्गाजमिनका कारोबारीका लागि सामान्य रहने छ । कर्मचारीले पनि व्यक्तित्व विकासको अवसर पाउने, तालिम वा सेमिनारमा सहभागी बन्ने तथा आयस्रोत बढाउने अवसर पाउने छन् । गृहिणीहरूले पतिको क्रियाकलाप, आचरण र स्वास्थ्यस्थितिप्रति चिन्तित बन्नुपर्ने समय चल्दैछ । सप्तम र अष्टम भावमा मंगल ग्रहको यात्रा हुने भएकाले मकर राशिका सबै जातकले रौसिने काम र तुजुक देखाउने काममा प्रतिबन्ध लगाएको जाति हुन्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिनाको अन्तिम सातामा राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । ठूला व्यक्तिले तपाईको मेहनतको प्रशंसा गर्नेछन् । यो महिनाका लागि शुभ अङ्क ६, ८ र शुभ रङ्ग लिलो वा पहेलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । यसको दुष्प्रभाव दैनिकीमा नपरोस् भन्ने उद्देश्यले तपाईंले हनुमान् जी, कालभैरव वा माता दुर्गाको उपासना गर्नु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ८, ९, १०, १७, १८, १९, २६, २७ र २८ गते तपाईंको राशिबाट अशुभ गृहमा चन्द्रमाको उपस्थिति रहने देखिन्छ ।

कुम्भ : कुम्भ राशि हुनेहरूका लागि श्रावण १ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा पञ्चम भावमा बुध, शुक्र र राहु, षष्ठ भावमा मङ्गल र सूर्य, दशम भावमा बृहस्पति, एकादश भावमा राशिस्वामी शनिश्चरका साथमा केतु तथा द्वादश भावमा चन्द्र ग्रहको उपस्थिति देखिन्छ । यस महिनाको ६ गते बिहान शुक्र ग्रहले षष्ठ भावमा र ३० गते सप्तम भावमा प्रवेश गर्नेछ । १८ गते बुध ग्रहले पनि षष्ठ भावमा र २५ गते मंगल ग्रहले सप्तम भावमा प्रवेश गरी स्थान परिवर्तन गर्नेछन् । पञ्चम भावको बुध, दशम भावको बृहस्पति र एकादश भावको राशिस्वामी शनिश्चर महिनाको सुरुमा यी तीनवटै ग्रह बक्र अवस्थामा रहने देखिन्छ । सप्तमेश सूर्यले छैटौं भावमा प्रवेश गरेको तथा लाभ स्थानमा राशिस्वामी शनिश्चरको शुभ प्रभाव भएकाले यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । तर छैटौं भाव झगडा र रोगको घर भएकाले दाम्पत्य कलह र अनबन देखिने समय छ । त्यस्तै उधारोमा लिएको वा दिएको धनका कारण प्रशासनिक झमेला वा मुद्दामामिलामा संलग्ने हुने परिस्थिति बन्ने देखिन्छ । यस महिनाको २५ गते सप्तम भावमा मंगलको प्रवेश हुनेहुँदा जीवनसाथी, सहयोगी र साझेदारहरूसँग विवाद हुने सम्भावना हुन्छ, पारिवारिक किचलो र बिना उद्दश्यको यात्रामा समयको बर्बादी हुनसक्छ, घमण्ड र अहंकारको मात्रामा बृद्धि हुनेछ । दैनिक कामकाज र व्यवहारमा अनेकानेक कठिनाइ सिर्जना हुनसक्छन्, जीवनसाथी वा आत्मीय मित्रको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित बन्नुपर्ने छ, होस राख्नुपर्छ । त्यस्तै राशिस्वामी शनिश्चरमा बक्रतासमेत भएकाले आकस्मिक र बाध्यताकारी खर्च अनायासै बृद्धि हुने सम्भावनासमेत देखिन्छ । कुम्भ राशिका विद्यार्थीहरूले यो महिना झैझगडा, विवाद र कलहबाट जोगिनु राम्रो हुन्छ । हुन त मौखिक अभिव्यक्ति कौशल, तर्क र बहस आदिमा जीत हुनेछ । पढाइलेखाइका तुलनामा अतिरिक्त क्रियाकलापमा बढी समय व्यतीत हुने समय भएकाले राम्रो स्कोर कायम राख्न अलि बढी मिहिनेत गर्नुपर्ने हुन्छ । यस राशिका व्यापारी र उद्यमीहरू दूरगामी प्रयोजनको लगानी बढाउने सोच राख्नेछन्, जुन भविष्यका लागि राम्रो कदम हुनेछ । गृहिणीहरूमा घमण्ड र दम्भ हाबी हुने महिना छ, त्यसो त जस्तोसुकै परिस्थितिमा पनि साहस र हिम्मत बढ्ने समय भएकाले बल र जाँगर देखाउने काममा दिलचस्पी बढ्न सक्छ । यो महिना माइत वा मावलमा सम्पन्न हुने कुनै धार्मिक वा पारम्परिक काममा सहभागी बन्नु पर्नेछ । त्यस्तै यस राशिका कर्मचारीले कार्यक्षेत्रमा परिश्रमपूर्वक खट्नु पर्ने समय चल्दैछ, अनि मिहिनेतअनुसारको पारिश्रमिक नपाउँदा मन खिन्न हुने समय चल्दैछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न बनाउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाका लागि शुभ अङ्क ४, ५ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुभगवानको दर्शनगरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । ग्रहजन्य दुष्प्रभावबाट जोगिन यस राशिका सबै जातकले यो महिना अस्पतालमा रहेका रोगीहरूको सेवासुश्रुषा गर्नुका साथै मुगा रत्न धारण गर्नुका साथै शनिदेवको उपासनामा जोड दिनु राम्रो हुन्छ । सामान्यतया यस महिनाको १, २, ३, ११, १२, १९, २०, २१, २८, २९ र ३० गतेको चन्द्रमा तपाईंका लागि अनुकुल रहने देखिंदैन ।

मीन : मीन राशि हुनेहरूका लागि श्रावण १ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा चतुर्थ भावमा बुध, शुक्र र राहु, पञ्चम भावमा मङ्गल र सूर्य, नवम भावमा राशिस्वामी बृहस्पति, दशम भावमा शनिश्चर र केतु तथा एकादश भावमा चन्द्र ग्रहको उपस्थिति देखिन्छ । ६ गते बिहान शुक्र ग्रहले पञ्चम भावमा र ३० गते षष्ठ भावमा प्रवेश गर्नेछ, त्यस्तै १८ गते बुध ग्रहले पनि पञ्चम भावमा र २५ गते मंगल ग्रहले षष्ठ भावमा प्रवेश गरी स्थान परिवर्तन गर्नेछन् । चतुर्थ भावको बुध, नवम भावको राशिस्वामी बृहस्पति र दशम भावको शनिश्चर महिनाको सुरुमा यी तीनवटै ग्रह बक्र अवस्थामा रहने देखिन्छ । यस महिनाको अन्त्यतिर २९ गतेका दिन राशिस्वामी बृहस्पतिले मार्गगति अवलम्बन गर्ने सङ्केत छ । भाग्यस्थानमा राशिस्वामी बृहस्पति, पञ्चम भावमा षष्ठेश सूर्य र भाग्येश मंगलको उपस्थिति भएकाले पूर्णरूपेण सफल महिना देखिन्छ साउन महिना । यस अवधिमा मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । मातापितासित सुमधुर सम्बन्ध रहने छ । सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । घरपरिवारमा कुनै शुभ संस्कार सम्पन्न हुने सङ्केत पनि छ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । प्रेम जीवनमा उतारचढाव आउनेछ, प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा समय बित्न सक्छ । विलासिताका सामग्रीमा खर्च बढ्ने छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ । मीन राशिका विद्यार्थी र पेसाकर्मीले यो महिना राम्रो परिणाम प्राप्त गर्ने समय छ भने उद्यमी र व्यापारी तथा गृहिणीहरूमा बोझ बढ्ने समय रहने छ । यस्तै, छैटौं भावको मालिक पाँचौं घरमा प्रवेश गरेको तथा पञ्चमेश लाभ स्थानमा रहेकाले छात्रछात्राले पढाइमा प्रगति गर्नुका साथै परीक्षा, प्रतिस्पपर्धा र प्रतियोगितामा सफलता पाउने समय छ । त्यस्तै कर्मचारीले कार्यक्षेत्रमा प्रशंसा र मानसम्मान पाउनुका साथै घरजग्गा वा घरायसी सुखसुविधाका सामाग्री वा मोटरवाहन खरिद गर्ने अनुकूलता पाउने छन् । तर व्यापारीहरूको व्यापारमा मन्दी छाउने छ, महत्वाकांक्षा हानिप्रद बन्नेछ, त्यसैले दूरगामी प्रयोजनको धनलगानीका लागि केही समय पर्खिएको जाति हुन्छ । गृहिणीहरूले घरभित्रैका झिनामसिना काममा समय यापन गर्नुपर्ने हुन्छ, घरमा रहेका बृद्धबृद्धाको स्वास्थ्यस्थिति नाजुक बन्नाले गजबले बुहार्तन खेप्ने समय चल्दैछ । तर छोराछोरी र पतिको साथसहयोग मिल्ने समय नै देखिन्छ । रमाइलो यात्राको सम्भावना छ । लगनशीलताले कामहरु अगाडि बढ्नेछन । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ । यो महिनाका लागि शुभ अङ्क ३, ७ र शुभ रङ्गे रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि महालक्ष्मीजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । राशिस्वामी बक्र भएकाले मीन राशिका सबै जातकले सधैं वा सकेसम्म यस महिनाभरि पुष्पराज रत्न मन्त्रसिद्ध गरी धारण गरेको राम्रो हुन्छ । त्यसबाहेक ग्रहजन्य अशुभताको निवारणका लागि तपाईंले कुलपितृको उपासनामा जोड दिनु वाञ्छनीय देखिन्छ । सामान्यतया यस महिनाको ३, ४, ५, १३, १४, १५, २१, २२, २३ र ३१ गते तपाईंको पञ्चमेश चन्द्रमाले अशुभ घरको यात्रा गर्ने समय रहने छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ