arrow

सरुवा भएका ९१ जना वीरबाट जान मानेनन्, १२ ले बनाए नक्कली रिपोर्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
bir-hospital-emergency-final-2080.jpg

काठमाडौँ । वीर अस्पतालबाट बाहिर सरुवा भएका ९१ जना स्वास्थ्यकर्मी जान अटेर गरेको पाइएको छ । कर्मचारी समायोजन ऐन २०७५ अनुसार वीर अस्पतालबाट विभिन्न स्थानीय तह, प्रदेश तथा संघका विभिन्न स्वास्थ्य संस्थामा समायोजन, पदस्थापना, सरुवा तथा कामकाज गर्न खटाइएका ९१ स्वास्थ्यकर्मी हालसम्म तोकिएको स्थानमा जान अटेर गरेका हुन् । 

उनीहरु अहिले पनि वीर अस्पतालमै अधिकांश कमाउ अड्डामा कार्यरत रहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बैशाख २७ गते परिपत्र गरी समायोजन, पदस्थापन, कामकाज तथा सरुवा भएका कर्मचारीलाई रमाना दिई सो को जानकारी ७ दिनभित्र दिन परिपत्र गरेको थियो ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पनि तत्काल सरुवा पदस्थापन कामकाज गर्न खटाइएका कर्मचारीलाई ७ दिनभित्र रमाना पठाउन निर्देशन दिएका थिए । 

सो निर्देशन कार्यान्वयन नभए हाजिर गराउने कार्यालय प्रमुखबाट निजहरुले खाईपाई आएको तलबभत्ता असुल उपर गर्ने निर्देशन दिएपछि वीर अस्पतालले २०८० जेठ ११ गते दरबन्दी बेगरका ९१ जना कर्मचारीलाई ७ दिनभित्र रमाना लिई समायोजना भएको स्थानमा जानलाई दिर्नेशन दिएको थियो ।
 
दरबन्दी बेगरका ९१ जना कर्मचारीको हाजिर साउन १ गते काटिएको थियो । तर पनि उनीहरु हाल वीर अस्पतालमै कार्यरत रहेका छन् । 

सतर्कता केन्द्रले पनि समायोजन भएको ठाउँमा नगएका कर्मचारीले खाईपाई आएको तलब भत्ता असुल उपर गर्न २०७९ फागुन ८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको थियो । 

गएको असार ७ गते वीर अस्पतालका कर्मचारीहरुले प्रधानमन्त्री कार्यालय, मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयमा उजुरी हालेका थिए । 

९१ मध्ये १२ जना कर्मचारीले समायोजन छल्नका लागि मेडिकल बोर्डमा नक्कली रिपोर्ट तयार गरी स्वास्थ्य मन्त्रालयमा पेश गरेका थिए । 

सोही आधारमा ती स्वास्थ्यकर्मीहरुलाई समायोजन ऐन २०७५ को दफा ८ को उपदफा ४ बमोजिम संघमै पुल दरबन्दीमा राखी वीर अस्पतालमा कामकाजका लागि खटाइएको थियो । 

ती मेडिकल बोर्डको सिफारिस भएका कर्मचारी हाल पल्सर र एक्सल बाइक चढी घण्टाँैको दूरीबाट कार्यालय आउने गरेका छन् । 

अस्पतालमा पनि उनीहरु अस्पतालको कमाउ अड्डाको रुपमा चिनिएको स्टोर, खरिद जस्ता अत्यधिक खटिने स्थानमा काम गरिरहेका छन् । 

केही कर्मचारी भने अदालतको अन्तरिम आदेश अनुसार अस्पतालमै कार्यरत रहेका छन् । 

त्यसरी नक्कली रिपोर्ट बनाउने कर्मचारीमा अहेब डिल्लीराम खनाल, टिकाराम पनेरु, बासु आचार्य, युवराज सुवेदी, डिल्ली आचार्य, जीवनकुमार श्रेष्ठ, युवराज तिमल्सिना, सविता जोशी र शंकर झा छन् । 
 
अन्य अटेरी गरेर बस्ने कर्मचारीहरुमा भने इन्दिरा गैरे, दिनेशकुमार जैसवाल, पाण्डव बराल, विष्णु फुयाल, ईश्वरी राजभण्डारी, सीता केसी, सीता ढकाल आचार्य, सोविता घिमिरे, रस्ता कवाँ , महेश बराल, पार्वती लामिछाने, रचना क्षेत्री, कल्पना श्रेष्ठ, रस्मी थापालगायत रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ