arrow

खड्का १२ गतेसम्म कार्यबाहक प्रधानमन्त्री 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ६ शनिबार
prachanda-puurnabahadur-2080-04-06.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा गएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघीय खाद्य शिखर सम्मेलनमा भाग लिन आजै इटाली प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उनकी स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मी सहभागी छन् । 

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ ।

प्रधानमन्त्री दाहाल यही साउन ८ गते सो कार्यक्रमको उद्घाटनसत्रमा सहभागी हुनेछन् । यस्तै अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सोही दिन नै प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन् । यसैगरी उनी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनेछन् । 

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने भएका छन् । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेमा त्यस अवसरमा महत्त्वपूर्ण छलफल हुने कार्यक्रम छ । 

यस्तै रोममा गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ