arrow

नक्कली भुटानी शरणार्थी प्रकरण 

कांग्रेस बैठक चलिरहँदा को को पुगे जेलमा रहेका खाँडलाई भेट्न ?

टोपबहादुरका लागि एमाले नेता सबै बैरी, माओवादी सचिव पुगे पुराना साथी भेट्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
balkrishna-khand-arrest1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न भएको आरोपमा जेल परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई भेट्न कांग्रेसका केही नेताहरु केन्द्रीय कारागार पुगेका छन् । 

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहेका बेला केन्द्रीय सदस्यहरु उनलाई भेट्न कारागार पुगेका हुन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहेका बेला परराष्ट्र मन्त्री एनपी साउद, लम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, सहमहामन्त्री महेन्द्र यादव, किशोरसिंह राठोर, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतका दर्जन नेताहरुले खाँडलाई भेटेका थिए । 

लुम्बिनी प्रदेश नै कार्यक्षेत्र रहेका खाँडका लागि चौधरी सहयोगी नेता हुन् । उनले करिब एक घण्टा खाँडसँग बिताएका थिए । खाँडलाई भेट्न नेपाली कांग्रेसका अन्य नेताहरु लाइन लागेर केन्द्रीय कारागार पुग्ने गरेका छन् । 

कांग्रेस केन्द्रीय समिति बैठकमा खाँडको पक्ष विपक्षमा यतिबेला बहस भैरहेको छ । बैठकमा खाँड परिवारका सदस्य भएकाले यसबेला उनलाई साथ दिनुपर्नेमा नेताहरुले जोड दिएका थिए । 

तर उनी निर्दोष रहेको भनेर कसैले भनेका छैनन् । उनीहरुले एउटालाई खाने बाघले अर्कोलाई पनि खाने भन्दै खाँडलाई बचाउनु् पर्नेमा जोड दिइरहेका छन् । 

उनलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । खाँडले नेताहरुलाई के भने भनेर कुनै पनि कुरा बाहिर आएको छैन । 

यदि उनी निर्दोष छन् र राज्यले उनलाई फसाएको हो भने कांग्रेसले सरकारमा बसिरहनुको कुनै अर्थ नरहेको भनी चर्चा पनि चलेको छ । यद्यपि पार्टीले उनलाई कारबाही भने गरेको छैन । 

यता, नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व उपप्रधान तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई भेट्न एमालेका नेताहरु भने गएका छैनन् ।  

तर माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल केन्द्रीय कारागार गएका थिए । पौडेलले आफ्ना पुराना मित्रलाई भेट्न गएको बताएका थिए । पौडेल एक साता अघि केन्द्रीय कारागार पुगेका थिए । उनले करिब ४५ मिनेटजती रायमाझीसँग कुराकानी गरेका थिए । माओवादीका नेता पौडेल बाहेक एमालेका कुनै पनि नेताले रायमाझीलाई नभेटेको स्रोतले जनाएको छ । 

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरूङ र लक्ष्मी महर्जनबाहेक पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनाको हकमा असार १ गते पुर्पक्षका लागि आदेश दिएको थियो । 

सरकारी वकिलहरूले अभियुक्तहरू राज्य विरूद्धको कसूरमा दोषी रहेकाले उनीहरूले बाहिर बसेर प्रमाण नष्ट गर्न सक्ने भन्दै थुनामै राख्न माग गरेका थिए ।  काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा रायमाझी, खाँड, पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित ३० जनालाई मुद्दा लगाएको थियो ।

उनीहरूविरूद्ध २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधको कसुरको मुद्दा दर्ता गराएको थियो । हाल उनीहरु केन्द्रीय कारागारमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ