arrow

विश्व खाद्य कार्यक्रमको नाममा ठगी, प्रचण्डले भेटे निर्देशकलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
food-prachanda.JPG

काठमाडौं ।  विश्व खाद्य कार्यक्रमको नाममा कार्यालय खोली ठगी गरेको पाइएको छ । बुढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय सञ्चालन गरी नक्कली कर्मचारीहरू खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याडसमेत बनाई ठगी गरेको पाइएको हो । 

ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर वाग्मती गाउँपालिका-९ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-५ बस्ने ४० वर्षीय दिनेश भन्ने लिलाबहादुर भोलोन रहेका छन् । 

उनीहरूले विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा टेण्डर आह्वानको विज्ञापन छापेर ठगी गरेको भन्ने सूचना गत जेठ २९ गते प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएका संयुक्त प्रहरी टोलीले अनुसन्धानका क्रममा उनीहरूलाई भक्तपुरबाट पक्राउ गरेको हो । 

उनीहरूको साथबाट रु दुई लाख, नेपालको राष्ट्रिय झण्डाहरू, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप एक थान तथा लेटर प्याड तीन थान, फाइल एक थान, हाजिरी खाता एक थान, ह्वाइट बोर्ड एक थान, बोर्ड नेमप्लेट, टेबुल नेमप्लेट, घर भाडा सम्झौतापत्र, विभिन्न स्टेशनरीका सामानहरू, विभिन्न फर्निचरका सामानहरू, प्रिन्टर चार थान, कम्प्युटर चार थान र खरिद आदेश प्राप्त भएको कागजसमेत प्रहरीले बरामद गरेको छ । 

उनीहरू उपर ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न फरार अन्य तीन जनाको प्रहरीले खोजी गरिरहेको छ । 

यता इटालीमा रहेका  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डे म्याकनसँग भेटवार्ता गरेका छन् । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा सोमबार भएको भेटमा खाद्य सुरक्षा, गरिबी निवारण, महिला तथा मानवीय जीवनको स्तरोन्नतिलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विश्व खाद्य कार्यक्रमले नेपालमा पनि विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ