arrow

अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
BP Koirala cancer hospital.jpg
तस्वीर-फाइल

चितवन । भरतपुरस्थिति विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त भएपछि आर्थिक अधिकार अध्यक्षलाई दिइएको छ ।

कार्यकारी निर्देशकको अभावमा आर्थिक क्रियाकलाप ठप्प भएपछि अध्यक्ष डा. विजयराज न्यौपानेलाई अधिकार दिइएको हो ।

अस्पताल सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक चयन नहुञ्जेलसम्मका लागि आर्थिक अधिकार अध्यक्ष डा न्यौपानेलाई दिएको हो ।

अध्यक्ष डा. न्यौपानेका अनुसार कार्यकारी निर्देशक नियुक्ति नहुन्जेलसम्मका लागि कर्मचारी, चिकित्सकको तलब लगायतका भुक्तानी दिनका लागि आर्थिक अधिकार अध्यक्षलाई दिने निर्णय भएको छ ।

अध्यक्ष डा. न्यौपानेले भने, “अल्पकालीन रुपमा दैनिक आर्थिक क्रियाकलाप सञ्चालन गर्न र कर्मचारीलाई तलब खुवाउन बैठकले मलाई आर्थिक अधिकार दिएको छ ।”

समितिमा कार्यकारी निर्देशक सिफारिस समिति गठनका विषयमा छलफल गरे पनि टुङ्गो लाग्न सकेको छैन ।

सिफारिस समितिमा कोको रहने भन्ने विषयमा नै कुरा नमिलेपछि बैठकले यस विषयमा ठोस निर्णय गर्न नसकेको हो ।

सञ्चालक समितिले सिफारिस समिति बनाएर सोही समितिले कार्यकारीको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ ।

सिफारिस समितिले सिफारिस गरेका नाम मध्येबाट कुनै एकजना व्यक्तिलाई उपयुक्तताका आधारमा कार्यकारी निर्देशकको पदमा नियुक्त गर्ने ऐनमा व्यवस्था छ ।

सिफारिस समितिमा सञ्चालक समितिले तोकेको समितिको सदस्य संयोजक रहने व्यवस्था छ । मनोनीत चिकित्सक सदस्य मध्येबाट एक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट समितिमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सदस्य रहने छ ।

अस्पतालको कार्यकारी निर्देशकका लागि प्रतिस्पर्धामा अस्पतालमा कार्यरत डा शिवजी पौडेल, डा विजय आचार्य र डा. कृष्णसागर शर्मा रहेको जनाइएको छ ।

अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीले वैशाखदेखि नै पारिश्रमिक नपाएको भन्दै संघर्षका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ