arrow

भेरी अस्पतालले मनायो १३३ औँ वार्षिकोत्सव

logo
सौरभ गिरी, 
प्रकाशित २०८० साउन १२ शुक्रबार
bheri-hospital-2080-04-12.jpg

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालले आज १३३औँ वार्षिकोत्सव मनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाइएको हो । 

वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री खनालले भेरी अस्पताल संघमार्फत सञ्चालनमा रहे पनि प्रदेशले समन्वयसँगै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वार्षिकोत्सव कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले अस्पतालको गुणस्तर र सेवालाई अझ प्रभावकारी  बनाउने विषयमा सुझाव दिएका थिए । कोरोनाकालमा भेरीले दिएको सेवाको सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए । 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. बद्री चापागाईंले एक वर्षमा १ लाख ८० हजार ४ सय ३२ जनाले सेवा लिएको जानकारी दिए । उनले भेरीले गुणस्तर वृद्धिसँगै सेवा विस्तार गरिरहेको बताए । 

त्यस अवसरमा २५ वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो । वीर अस्पतालसँगै स्थापना गरिएको भेरी अस्पताल पश्चिम नेपालको रेफरल सेन्टरको रुपमा रहेको छ । 

भेरी अस्पताल विसं. १९४७ साउन १२ गते पृथ्वी वीर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भइ विसं २०१६ मा रत्नराज्य लक्ष्मीदेवी प्रसुती गृह नामाकरण गरिएको थियो । 

विसं २०२१ सम्म उक्त नामबाट चलेको र त्यस पश्चात विसं २०२२ सालमा भेरी अञ्चल अस्पताल नामकरण गरिएको थियो । यस अस्पतालका लागि शुरुमा ५० बेड स्वीकृत भएको थियो भने २०४३ सालमा १०० बेड र हाल विकास समितिबाट ५० बेड स्वीकृत भइ जम्मा १५० बेडको क्षमतामा सञ्चालन भइरहेको छ । 

२०६१ भाद्र २९ गतेको पत्रानुसार १०० शैया बाट बृद्धि गरी २०० शैया क्षमतामा सञ्चालन गर्न अनुमति प्राप्त भएपनि आर्थिक अभावका कारण सञ्चालन गर्न नसकिएकाले हालसम्म १५० शैया क्षमतामै अस्पताल सञ्चालन भइरहेको छ । 

देश संघीय संरचनामा गएपछि केही समय भेरी प्रादेशिक अस्पताल नामकरण भइ प्रदेश नम्बर ५ अन्तर्गत राखिएको यस अस्पताललाई नेपाल सरकारको पछिल्लो निर्णयअनुसार संघ अन्तर्गत राख्ने र नामकरण भेरी अस्पताल कायम गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ