arrow

संसदको गरिमा

संसद संस्कृतिहीन भएको छ : वामदेव [भिडियो]

कुनै पनि पार्टीले सांसदहरुलाई लगाएर संसदको गतिविधि अवरोध गर्न पाइँदैन, संसद अवरोध गर्ने विषय नियमावलीमा छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार
bamdev gautam.jpg

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताएका छन् । 
शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका हुन् । उनले नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भए पनि अहिले संसारका कुनै पनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताए । 

उनले सांसदहरु संसदको नियमावलीलाई बेवास्ता गरी जथाभावी रुपमा उठेर बोल्ने गरेको बताए । उनले एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको टिप्पणी गरे । 

सांसद गौतमले पुरानो संसद परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आवद्ध गराएर नयाँ संसद बनाएको भन्दै पहिलेको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भएको बताए । उनले पछिल्लो समय प्रतिनिधि सभा मात्रै नभएर राष्ट्रिय सभा पनि त्यस्तै हुन थालेको बताए । 

उनले भने, ‘नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्न थालेको हो । अहिलेको प्रतिनिधि सभामा जे देखिएको छ । त्यो इतिहासमा कहिल्यै नभएका संसारका कुनैपनि संसदमा त्यस्तो हुँदैन । परिस्थिति अत्यन्त जटिल भएको अवस्थामा देखिने गाली गलौज र अपमान गर्ने अरुलाई होच्याउनेदेखि लिएर संसदको नियमावलीलाई बेवास्ता गरेर जतिबेला पनि उठेको छ । एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको छ । कहिले ५० जना कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएको छ । संसदभित्रको असभ्यता अपसंस्कार र संस्कृतिहीन भएको छ । हामीले पुरानो संसद परित्याग गरेर नयाँ संसद बनाएका छौं । यसलाई समानुपातिक समावेशी प्रणालीमा आवद्ध गराएको हुनाले यो संसद पहिलो होइन । भन्ने गरेका छौं । पहिलको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भइसक्यो । सुशासन भित्र यो कुरा पर्छ कि पर्दैन । अहिले राष्ट्रिय सभा पनि त्यस्तै हुन्छ । कुनै पनि पार्टीले सांसदहरुलाई लगाएर संसदको गतिविधि अवरोध गर्न पाइँदैन । संसद अवरोध गर्ने विषय नियमावलीमा छैन । सांसदहरुले आफ्नो विचार व्यक्त गर्ने हो । पार्टीहरुले कार्यव्यवस्था समितिमा मिलाउनुपर्छ । उद्देश्य मुलुक ढङ्गले संसद चल्न नदिने किसिमको भएको छ । यसलाई पनि सदाचारमा ल्याउन सक्नुपर्छ ।’

उनले कुनैपनि पार्टीले सांसदहरुलाई लगाएर संसदको गतिविधि अवरोध गर्न नपाउने भन्दै संसद अवरोध गर्ने विषय नियमावलीमासमेत नभएको बताए । 

उनले सांसदहरुले संसद आफ्नो विचार व्यक्त गर्ने मात्रै भएको भन्दै अन्य राजनीतिक मुद्दामा पार्टीहरुले कार्यव्यवस्था समितिमा मिलाउनुपर्ने बताए । उनले उद्देश्यमुलक ढंगले संसद चल्न नदिने किसिमले संसद अवरुद्ध गराउने काम भइरहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ