arrow

नेकपा एसमा चरम विवाद, सबै बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
ncp-united-socialist-party-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पार्टी गठनको दुई वर्ष नपुग्दै नेकपा एकीकृत समाजवादीमा विवाद उत्पन्न भएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालले विशेष महाधिवेशनको माग गरेपछि सो पार्टीमा विवाद उत्पन्न भएको हो । 

एक हप्तासम्म बसेको पार्टीको सचिवालय बैठकले आउँदो मागमा महाधिवेशन गर्ने भने पनि खनालले त्यसअघि नै पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने र दोहोरो जिम्मेवारीबाट मुक्त हुनुपर्ने धारणा राखेका थिए । 

खनालको यो धारणालाई पार्टीले औपचारिक रुपमा बाहिर ल्याउन चाहेको छैन । तर खनाललाई टाढा राखेर पार्टीका अन्य बैठकहरु तय गर्ने निर्णय गरेको थियो । ती बैठकमा खनालले फरक मत राख्ने तयारी गरेका छन् । 

पार्टीको राजनीतिक धारणा र वर्गशत्रुबारे स्पष्ट नभएको भन्दै खनाल असन्तुष्ट रहेका थिए । राजनीतिक एजेण्डा नबोकेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी जसपा सहितको मोर्चा गठनमा पनि उनको असहमति रहेको छ । 

सो अवस्थामा आउने बैठकहरुमा उनको फरक मत आउने स्पष्ट रहेको छ । मोर्चाको मित्रशक्ति र वर्गशत्रुको खोजी गर्दै उनले घोषणा कार्यक्रममा जानसमेत आनाकानी गरेका थिए ।

मोर्चामा आबद्ध पार्टीहरू नेपाली कांग्रेस छाताको सत्तारुढ गठबन्धनमा छन् । यस्तोमा कांग्रेसलाई नै वर्गदुश्मन घोषणा गर्नु व्यवहारिक हुँदैनथ्यो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एस अध्यक्ष माधव नेपालले यसबारे नेता खनाललाई सम्झाए पनि उनी खास सन्तुष्ट छैनन् । 

चम्पादेवी बैठकमा पनि उनले समाजवादी कार्यदिशामा पार्टी स्पष्ट नभएको धारणा राखेका थिए । तर त्यसबेला माधव नेपालले सम्झाएका थिए । ‘समाजवादी कार्यदिशा भएका राजनीतिक दलहरूका बीच कैयन सैद्धान्तिक तथा राजनीतिक मतभिन्नताहरू भए पनि साझा मुद्दामा सहकार्य गर्न र ती राजनीतिक दलहरूका बीचमा विभिन्न तहमा उत्पन्न हुन सक्ने विवाद वा अन्तर विरोधलाई समाधान गर्न उक्त मोर्चा बनाइएको हो भन्ने कुरा पार्टी पङ्क्तिलाई स्पष्ट पार्ने’, सो बैठकबाट निर्णय गरिएको थियो । 

सोही बैठकले तय गरेको एसको अन्य कार्यतालिका पनि प्रभावित भएको छ । खनालले आउने स्थायी कमिटी, केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठकमा आफ्नो फरक धारणा राख्ने भएपछि केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीलगायत सबै तहका बैठकहरू अनिश्चितकालका लागि स्थगित भएका छन् । 

अध्यक्ष नेपाल स्वदेश फर्किए लगत्तै पूर्व निर्धारित बैठकहरू स्थगन भएका हुन् । खनालले यस्तो अवस्थामा माधव नेपाल मुलुक बाहिर गएको भन्दै असन्तुष्टि जनाउदै सबै बैठकमा आफ्नो फरक धारणा रहेको र बैठकमा छलफल गर्न पाउनुपर्ने माग गरेका छन् । 

तर बैठकनै स्थगित गरेर त्यसलाई न्यूनीकरण गर्ने प्रयासमा माधव नेपाल लागेको स्रोतको दाबी छ । 

पार्टीको लागि दूरगामी महत्वका राजनीतिक र सांगठनिक विषयहरूमा छलफल गर्न तथा निर्णय लिन आयोजना गरिएको सचिवालयसहित सबै बैठक पर्याप्त तयारी हुन नसकेको कारण अर्को सूचना नभएसम्म स्थगित भन्दै शनिबार सबै बैठकहरु स्थगित भएको सूचना प्रवाह गरिएको थियो । 

एसले साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ मा पोलिटब्युरो र साउन २० र २१ गते केन्द्रीय कमिटी बैठकको मिति तय गरेको थियो । 

चम्पादेवी बैठकमा सबै कम्युनिष्ट पार्टीसँग मिलेर जानुपर्ने प्रस्ताव खनालले गरेका थिए । तर माधव नेपालले माओवादीसँगको सहकार्य तत्कालै छाड्न नसकिने र आउँदो निर्वाचनमा समाजवादी मोर्चाबाटै चुनावमा जान सकिने धारणा राखेका थिए । 

माधव नेपालको सो धारणामा पनि खनालको असहमति रहेको नेकपा एसका एक सचिवालय सदस्यले भने । 

अहिले नेकपा एसका धेरैजसो नेताहरुमा निराशा आएको बेला खनालले फरक मत ल्याउन खोजेपछि त्यसको असर तलसम्म पर्ने भएकाले तत्कालै बैठक रोक्नु परेको नेकपा एसका एक सचिवालय सदस्यको धारणा रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ