- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको छ । केन्द्रले गत आर्थिक वर्ष २०७९-८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको हो ।
गत आवमा एक सय ६० किसानलाई जनही रु १० हजारका दरले अनुदान वितरण गरिएको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, “पाडापाडी हुर्काउने कार्यक्रमअन्तर्गत किसानसँग आवेदन माग गरेको केही दिनमै अत्यधिक आवेदन आएको थियो, सबैलाई दिन सकेनौँ । केहीलाई मात्रै दिएका छौँ, बाँकी आवेदकलाई चालु आवमा दिन्छौँ ।”
गत वर्षको मागका आधारमा चालु आवमा पाँच सय पाडापाडी हुर्काउनका लागि अनुदान दिने व्यवस्था मिलाइने श्रेष्ठको भनाइ छ । डा श्रेष्ठका अनुसार जन्मिएको दर्ता गरी हुर्किएको देखाएपछि कृषकले अनुदान पाउने व्यवस्था गरिएको छ । गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण गर्ने कार्यक्रम अगाडि बढाएको थियो ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा अनुदानको व्यवस्था गरिएको केन्द्रको भनाइ छ । हामीकहाँ मुर्रा जनाका भैँसी र जर्सी गाई भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । केन्द्रका प्रमुख डा श्रेष्ठले भने, “अनुदान पाएपछि किसानले हुर्काउँछन्, यसले दीर्घकालीन रूपमा परनिर्भरता हटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।”
यसैगरी कार्यालयले दूध उत्पादनका आधारमा कृषकलाई अनुदान रकम वितरण गरेको छ । गत आवमा केन्द्रले किसानलाई रु ३६ लाख वितरण गरेको थियो । केन्द्रले आठ सहकारी संस्थामार्फत किसानलाई अनुदान वितरण गरेको हो । प्रतिलिटर रु दुई दशमलव ४५ का दरले अनुदान वितरण गरिएको डा श्रेष्ठले बताए ।
व्यास नगरपालिका-१० स्थित दुम्सी दुग्ध उत्पादक सहकारी, शेवर दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका-१३ स्थित बेलवास दुग्ध उत्पादक सहकारी, भानु नगरपालिका-४ स्थित प्रगति दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका-१ स्थित चारकुने दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका-५ स्थित चिन्तुटार दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका-१३ स्थित पोखरीभञ्ज्याङ दुग्ध उत्पादक सहकारी र बन्दीपुर गाउँपालिका-५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामार्फत अनुदान वितरण गरिएको हो ।
अनुदानले किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएको र जिल्ला दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको उनको भनाइ छ । डा श्रेष्ठले भने, “उत्पादनका आधारमा अनुदान दिँदा कृषकमा हौसला बढेको छ । पहिला कम उत्पादन गर्नेले अहिले धेरै उत्पादन गर्न थाल्नुभएको छ ।”
बन्दीपुर गाउँपालिका-१ का कृषक भोजनाथ पराजुलीले प्रदेश सरकार, स्थानीय सरकारमार्फत दुधमा अनुदान पाउँदा पशुपालन गर्न हौसला मिलेको बताए । उनले भने, “उत्पादनका आधारमा अनुदान पाउँदा व्यवसायमा लगानी थप्न सहयोग मिलेको छ ।”
कार्यालय तथा सरोकारवाला निकायले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्ष यता तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा ११८ दशमलव ५४ लिटर उपलब्धता छ ।
त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यक पर्नेमा ९४ दशमलव ४१ केजी मासु उपलब्धता छ । साथै ४८ गोटा अण्डा आवश्यक पर्नेमा ८२ दशमलव ५९ गोटा अण्डा उपलब्धता छ । यो हिसाबले प्रति व्यक्तिका लागि दूधमा २७ दशमलव ५४ लिटर, मासुमा शून्य दशलमव ४९ केजी र अण्डामा ३४ दशमलव ५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।