arrow

काव्यका रूपमा महाभारत : के–के आश्वाधन गर्न सकिन्छ यसबाट ?

logo
डा. प्रकाश ढकाल,
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
mahabharat-book-Image.jpeg
काठमाडौ । विचारशील विद्वान्हरूका दृष्टिमा कैयौं शताब्दी व्यतित हुन्छन् तापनि रामायण र महाभारतको पवित्र श्रोत कहिल्यै शुष्क हुँदैनन् । महाभारत केबल काव्यमात्र नभएर नाटक, इतिहास, दर्शन आदि सबै हो ।  यो पुरातत्व, विज्ञान, नेतृत्व, समाजतत्व, खगोल, भूगोल आदि सयौं विषय र बुद्धि विचार, कर्म, ज्ञान, भाव–भावना उपासना आदि असङ्ख्य तत्वरत्नको महोदधि हो । 
 
हजारौं मानवीय क्रियाकलापको मनोरञ्जन, काव्यमय वर्णन, व्याख्यान, भाष्य र महाभाष्य हो । सम्पूर्ण दर्शनको सार, स्मृति इतिहास चरित्र–चित्रणको खानी एवम् पञ्चम वेद हो । यसका सय पर्वाध्यायहरू हाम्रो जीवनका सयौं समस्याका समाधानका बाटाहरू हुन् । 
 
प्रत्यक्ष र परोक्ष रूपमा अभिज्ञान शाकुन्तल, किराँतार्जुनीय, शिशुपालबध आदि हज्जारौं साहित्यिक कृतिका जनक र गीता जस्तो विश्वमान्य महातत्वको र  महादर्शनको उद्गम स्थान हो । विशेषतः राजनीति, युद्धनीति र कार्यसम्पादन कलाको त यो अपूर्व भण्डार नै हो ।  
 
महाभारत इतिहासका अतिरिक्ति काव्य पनि हो । ब्रह्माजीले पनि यसलाई काव्यत्व स्वीकार गर्नु भएको छ । जन्मदेखि नै तपाईंको  वाणीले ब्रह्मको प्रतिपादन गर्दछन् ,तपाईंले कहिल्यै असत्य भाषण गर्नु भएन तर आफैले यसलाई काव्य हो भन्नुभयो । त्यसैले अवश्य नै यो काव्य नै हो । कविहरू पनि यस काव्यको प्रशंशामा आपूmलाई असमर्थ नै ठान्दछन् । 
 
महाभारतमा वन, पर्वत, उद्यान, नदी तलाउ, सहरका अतिरिक्त अरु रमणीय प्रदेशको यति सरस र रमणीय वर्णन छ । जुन कुरालाई  पढ्दा पढ्दै कुनै पनि सहृदयको हृदय पुलकित, रोमाञ्चित र मुग्ध नभै रहन सक्तैन ।  
 
विभिन्न उपाख्यान र प्रसङ्गमा श्रृङ्गार, वीर, करुण, रौद्र, हास्य, अद्भूत भयानक, विभत्स र शान्त सबै रसको अभिव्यञ्जना देख्न सकिन्छ । सहृदयी पाठकको निमित्त निरन्तर नवरसमा  अवगाहन गर्नको लागि महाकाव्य महाभारत समान सायद अरु बिरलै  होलान् । संस्कृत साहित्यका तीन महाकाव्य किरातार्जुनीय, शिशुपालबध, नैषधीयचरित्र, महाभारतको नै कथावस्तुलाई लिएर निर्माण गरिएका छन्  । 
 
महाकवि कालिदासको शाकुन्तल कविवर नारायणको वेणीसंहार तथा  अरु अरु कविहरूको प्रभाती–परिणय र धनञ्जय विजय आदि अनेकौं नाटक तथा काव्यहरूको आधारशीला महाभारतका मनोरम कथाहरू नै हुन् । यस धर्तीमा कुनै त्यस्तो सुन्दर कथावस्तु नै छैन । जुन महाभारतको उपाख्यानभित्र न परेको होस् ।
    
सबै सहृदयी कविहरू महाभारतका कथाको सहारा लिन्छन् र यसैका आधारमा काव्यको रचना गर्दछन् । यस महाभारत काव्यको प्रधान रस शान्त,भक्ति या शान्तरस हो ।  यही नै अङ्गी रस हो र अरु अङ्भूत रस हुन् भन्नेकुरा सम्पूर्ण ग्रन्थद्वारा पुष्टि भएको छ भने अङ्गभूत रसमध्ये वीर रसको प्रधानता देखिन्छ । 
 
काव्यदृष्टिले तृष्णाको अभावमा जुन सुख हुन्छ, त्यसलाई पुष्ट गर्ने शान्तरस नै महाभारतको प्रधान रस हो । इतिहास, अध्यात्मशास्त्र, धर्मशास्त्र तथा महाकाव्य आदि सबैको रूपमा महाभारतको स्वाध्ययन गर्ने गरिन्छ । यस्तो सर्वगुण सम्पन्न साहित्य विरलै अर्को कुनै होला । 
 
महाभारतलाई लिएर विद्वान् कविहरूले आ– आÏना काव्यको सृष्टि गरेका छन् । यो आर्यसाहित्यको प्राण हो । रामायणमा मुख्यतः एक व्यक्तिको जीवनकथा छ भने महाभारतमा आर्यजगत्को इतिहास र व्यक्तित्वको उल्लेखनीय वृत्तान्त छ ।
 
राम्रा र नराम्रा दुवै प्रकारका मानवको भलो,कुभलोको उत्कृष्ट उदाहरण र परिणामको वर्णन भएकोले महाभारत आर्य संस्कृतिको इतिहास पनि  हो । यसको अत्यन्त महत्वपूर्ण शान्तिपर्व,अनुशासनपर्व आकारमा सानो भएतापनिधर्म, कर्म र नीतिसम्बन्धी ज्ञानका निमित्त त देदीप्यपान बत्ति नै हुन् । 
 
यसका अरू बाँकी भाग पनि यिनकै दृष्टान्तरूप मानिन्छन् । महाभारतको शिक्षा अपार छ । तापनि सर्वसाधारणको दृष्टि मुख्य तीन कुरामा आकर्षित भएको छ । क. पारिवारिक कलह, ख.स्त्रीको अपमान र ग. त्यसको दुष्परिणाम ।
 
महाभारतमा युद्धको कथा र  चर्चामा भएको नभै महाभारतमा शब्द नै युद्धको पयार्यवाची शब्द बनेको छ ।  तर वास्तविक महाभारतमा  युद्धको प्रशंशा नभएर त्यसको बीभत्सताको निरूपण गरिएको छ । महाभारतमा जुवाको प्रसङ्गलाई खराबी वा कुकर्मको मूर्तिमान रूप दिईएको छ । 
 
वर्तमान समयमा पनि आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक आदिमा जुन छलकपट हुन्छ । ती सबै जुवाका परिणाम हुन् । महाभारतमा आर्यसभ्यताको उत्कर्षताको सजीव चित्र नभई पतन र हीनताको मार्ग अवलम्बन गरिएको छ । जसले गर्दा कर्णलगायतका अनेकौं असाधारण व्यक्ति विशेषका असल गुण पनि विलीन हुन पुगेका छन् ।
 
महाभारतको महत्त्व
 
महाभारतमा भएको विविधतामा एक काव्य प्रस्तुति पनि हो । महाभारतलाई परिभाषित गर्ने क्रममा महाभारतका अनेकाँै नामहरू छन् । महाभारतलाई पौराणिक काव्य,ऐतिहासिक काव्य, राजनैतिक काव्य लगायतका अनेकौँ नामहरूले सम्बोधन गरिन्छ । 
 
यसको आशय महाभारतको महत्व व्यापक भएकोले नै हो । “यदिहास्तियदन्यत्रम् यन्नेहास्ति न तत् क्वचित्” भन्ने पूर्वाेक्त श्लोकाशंलाई प्रमाणित गर्ने एक आधार  यो पनि हो । महाभारतमा प्रयुक्त छन्द,अलंकारले महाभारत पूर्णतः दिव्य लौकिक बनेको छ ।
 
विश्व पद्य साहित्यको इतिहासमा रामायणलाई आदिम पद्यात्मक काव्य मानिए तापनि राजनीतिधर्म,संस्कार,इतिहास सम्पूर्ण कुराहरूले गर्दा महाभारत महान् बनेको छ । विश्वप्रशिद्घ अनेकौं कृतिहरूको उपजिव्य ग्रन्थ महाभारत हो । 
 
कविहरूका सिर्जनाको आधार महाभारत हो भन्दा अत्युक्ति हुँदैन ।सम्पूर्ण तालतलाउहरूमा सिन्धु ताल, पशुहरूमा गाई सर्वश्रेष्ठ रूपमा पूजित भएझँै सम्पूर्ण इतिहासहरूमध्ये महाभारत सर्वश्रेष्ठ छ ।
 
 यसरी महाभारतलाई ऐतिहासिकताको दृष्टिबाट  पनि सर्वश्रेष्ठ रहेको कुरा व्यक्त गरिएको छ । महाभारतको महत्वलाई अझ उचाईमा ल्याउने वाणीहरू प्रशस्त छन् । नदिहरूमा जसरी अनन्तकालसम्म जल प्राप्त हुन्छ । 
 
हिमालमा हिउँ प्राप्त हुन्छ । मेरुलगायतका अनेकौँ पर्वतहरूमा पनि जसरी असंख्य परिणाममा रत्न प्राप्त हुन्छ । त्यसै गरी महाभारतमा पनि अनन्त जीवनोपयोगी शिक्षा प्राप्त गर्न सकिन्छ ।
 
अनन्त ज्ञानको विज्ञान, प्रेरणाको र आदर्शको भार बहन गरेकोले महाभारत भनिएको हो । पाँच हजार एकसय सोह्र वर्ष अघि महाभारतको युद्ध आरम्भ, गीतोपदेश र कलियुगको आरम्भ भएको हो । महाभारत पनि एउटा शाश्वत प्रेरणादायी व्यावहारिक घटना समेटिएको ऐतिहासिक कथा हो । 
सत्य र न्यायको पैरवी गर्ने पवित्र धार्मिक ऐतिहासिक ग्रन्थ समेत हो । जीवन र जगत्को व्यापक परिवेशलाई महाभारतले सहर्ष आत्मसात गरेको छ । 
 
आध्यात्मिक,दार्शनिक,धार्मिक,सामाजिक, राजनीतिक क्षेत्रका विविध पक्षमा यस महाग्रन्थले समग्र मानव सभ्यतालाई नै मार्गदर्शन गरेको छ । काव्यदृष्टिले तृष्णाको अभावमा जुन सुख हुन्छ, त्यसलाई पुष्ट गर्ने शान्तरस नै महाभारतको प्रधान रस हो ।
 
 महाभारत ग्रन्थ विभिन्न भाषामा लेखिएका हजारौं ग्रन्थहरूको कथानक, राजनीति, धर्मनीति, सदाचार, संस्कृति, धर्म र दर्शनजस्ता महनीय विषयहरूको सम्प्रेषण गर्ने मूलग्रन्थका रुपमा रहेर सनातन संस्कृतिलाई उर्वर बनाउने स्वर्णिम सोपानका रूपमा देदिप्यमान रहेको छ । 
 
साँच्चै नै महाभारत विशाल छ  र त्यत्तिकै महत्वपूर्ण पनि छ । महाभारतको व्याख्या गर्ने हजारौँ विद्वत्जनहरूले पनि महाभारतको रचना शिल्प, महत्त्व ज्ञान सम्झेर बुझेर व्यास एवम् महाभारतप्रति सश्रद्धा नतमस्तक  रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ