arrow

ठूलो शिक्षा र सम्पत्ति 

सन्तानलाई स्वास्थ्यकर खाना खाने-बनाउने बानी लगाऊ

logo
अरुणा उप्रेती,
प्रकाशित २०८० साउन २५ बिहिबार
super-food.jpg

काठमाडौं । कर्णालीका बालबालिका कुपोषित हुनुको प्रमुख कारण भाते संस्कृति र सरसफाइको कमी हो भनेर मैले बारम्बार भन्दै आएकी थिएँ धेरै लेख लेखेकी थिएँ । यस कारण, कर्णालीमा कामका लागि चामल बाँड्ने सङ्घका कति साथीहरू मसँग रिसाए पनि तर जब डा. तीर्थबहादुर श्रेष्ठको ‘कर्णालीमा भुखभरि होइन, भातमरी छ’ भन्ने शब्दहरू पढेँ तब ममा साहस आयो, झन् लेख्न । आत्मविश्वास जाग्यो, स्थानीय अन्नलाई प्रवर्धन गर्न ।

त्यसरी बारम्बार लेखिएका लेखको बिस्तारै प्रत्यक्ष प्रभाव त मैले आफैँ पनि महसुस गर्न थालेकी छु । मेरा साथीले पहिले–पहिले घरमा बोलाउँदा चिप्स, चाउचाउ र कोल्ड ड्रिङ्कहरू त जाने बित्तिकै दिन्थे । ‘अरूणाले भनेर नहुने रहेछ, के गर्ने, पाहुनालाई नभई नहुने’ भन्ने मेरा साथीले केही दिनअघिको भोजमा ‘कोल्ड ड्रिङ्क’ दिएनन् । कागती, पुदिना र बिरे नुन हालेर सर्बत बनाएर खुवाए । घरमै बनाइएको फलफूलको रस खुवाए । तामाको रस, मार्सी भात, सिमीको रस, टिमुर र गोलभेँडाको अचार खुवाए । ती साथीले भने, ‘आज त अरुणाको लेख पढेर र खाना खुवाएजस्तै भयो ।’ म नि दङ्ग परेँ, मेरा साथीमा समेत यति प्रभाव परेछ । वास्तवमै मेरो लेखनीले केही न केही काम त गरेछ ।

 कोल्ड ड्रिङ्क त आजकल विवाह भोजमा पनि कम प्रयोग हुन थालेजस्तो लाग्छ । कतिपय स्वास्थ्यमा समस्या देखिनुमा हाम्रो हात हुँदैन तर कतिपय स्वास्थ्य समस्याचाहिँ हाम्रै बानी, व्यवहार, भोजन र जीवनशैलीका कारण निम्तिएका हुन्छन् । हाम्रो खानपानमा आएको परिवर्तनले साना बालबालिकादेखि वयस्कसम्म समस्यामा छन् । म भान्छामा गएर सायद स्वादिष्ट खाना त बनाउन सक्दिनँ तर खान हुने स्वास्थ्यकर खानाचाहिँ बनाउन सक्छु । प्रत्येक आमाबुबालाई मैले भन्ने गरेकी छु, ‘तपाईँले आफ्नो सन्तानलाई स्वास्थ्यकर खाना खाने बानी लगाइदिनुभयो । स्वास्थ्यकर खाना कसरी बनाउने भनेर व्यावहारिक रूपमा सिकाइदिनुभयो भने यो उनीहरूका लागि एक ठूलो शिक्षा र सम्पत्ति हुनेछ ।’

तपाईँका बालबालिका देश विदेश जहाँ गए पनि आफैँ स्वास्थ्यकर खाना खवाउन सक्नेछन् । यस कारण, उनीहरूको पैसा बचत हुन्छ र शरीर स्वस्थ हुन्छ । उनीहरू काम गर्न सक्छन् । कति आमाबुबाले ‘हामी त छोराछोरीलाई भान्छाको काम लगाउँदैनौँ, उनीहरूलाई त चिया पनि राम्रोसँग पकाउन आउँदैन’ भनेर बडो गर्वपूर्वक सुनाउँछन् । यो त गर्व गर्ने विषय होइन, लज्जाको कुरा हो । बाल्यकालदेखि नै भान्छामा सहभागी हुन सन्तानलाई प्रेरणा दिइरहनुपर्छ । खाना बनाउनु एउटा कला हो, पाँचतारे होटेलको जस्तो बनाउन सबैले सक्दैनन् र जरुरत पनि छैन । तर, साधारण खाना बनाउन जान्नु निकै राम्रो हो । अहिले वैदेशिक रोजगारमा जानेहरू आफूसँगै चाउचाउ लिएर जान्छन् । दिनभर काम गरेर कोठा फर्किएपछि चाउचाउ उमालेर खान्छन् । अनि, अस्वस्थ हुन्छन् ।

यस्ता विभिन्न कारणले मानिस अस्वस्थ भएकाले पोषणबारे लेख्न जरुरी भएको हो । अहिले कति अभिभावक स्वास्थ्यप्रति सचेत छन् । ‘तपाईँले पोषणहीन खाना दिँदा उनीहरूलाई विषालु माया दिएजस्तै लाग्छ । बालबालिकाले रोएर माग्यो भने तपाईँले चुरोट र रक्सी त दिनुहुन्न नि । जङ्क फुड पनि त्यस्तै हो, लागूपदार्थ जस्तो । मेरा एक मित्रकी छोरी १६ वर्षकी भइन् । उनको तौल झन्डै ८० केजी छ ।

पहिले माया गरेर छोरीले मागेजस्तो बजारिया र महँगो खाना दिँदा दिँदा छोरीले घरको खाना नै खान छोडेकी हुन् । चाउचाउ, कोकाकोला र फ्यान्टा उनको खाना हुन्थ्यो । खाजा पनि बिस्कुट र कुरमुरे आदि हुन्थे । उनमा यस्तो कुराको लत बस्दै गयो । र, उनको तौल अस्वाभाविक रूपमा बढ्दै गयो । अहिले उनी अनेक समस्याबाट पीडित छिन् । त्यस्तै आमाबुबा पनि जङ्क फुडको लत छुटाउन लागिपरेका छन् तर असफल छन् ।

यस्ता त धेरै घटना छन् । लेखले पाठकलाई पोषणबारे जानकारी दिई स्वस्थ हुन प्रेरित गर्छ त्यसैले म स्वस्थ खाना खानुको महत्त्वबारे लेखिरहन्छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ